राजनीति


ओलीले टिकट नदिने भनेपछि भीम रावलको स्पष्टीकरण : मैले प्रचण्ड र माधव नेपालसँग भेटेको छैन

ओलीले टिकट नदिने भनेपछि भीम रावलको स्पष्टीकरण : मैले प्रचण्ड र माधव नेपालसँग भेटेको छैन

नेपालखबर
असोज १७, २०७९ सोमबार ६:२४, काठमाडौँ

मंसिर ४ मा हुने चुनावका लागि नेकपा एमालेमा टिकट बाँड्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीले पाएका छन्। उनी पार्टीभित्र आफ्ना विरोधी भीम रावल र घनश्याम भुसाललाई प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि टिकट नदिने सोचमा छन्। 

यसैबीच नेता भीम रावलले आफूलाई चुनाव लड्ने टिकटबाट वञ्चित गर्न विभिन्न आरोप लगाइएको बताएका छन्।

सुरुमा आफूले चुनाव नलड्ने भनेर प्रचार गरिएको र त्यसको आफूले कार्यकता भेलामा खण्डन गरेपछि अन्य आरोप लगाइएको रावलले उल्लेख गरेका छन्। 

आफूलाई उम्मेदवार नबनाउने कुराको विरोध गरेपछि पार्टी नेतृत्वले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटेको भनेर आरोप लगाएको रावलको भनाइ छ। यसरी भ्रमको खेती नगर्न उनले पार्टी नेतृत्वलाई सुझाव दिएका छन्। 

‘मैले चुनाउ नलड्ने प्रचारको कार्यकर्ता भेलामा खण्डन गरेपछि उम्मेदवार नबनाइने कुरा आउनु, त्यसको विरोध भएपछि प्रचण्ड र माधव नेपालसँग भेटेको भन्नु सुनियोजित हो’, रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘भेटेको र चुनाउको कुरा गरेको  छैन। कुरा गर्न चाहे  खुला र स्पष्ट गर्ने सामर्थ्य राख्दछु। भ्रमको खेती नगर्नु  उचित हुनेछ।’ 

प्रचण्ड र माधव नेपाल तिनै नेता हुन्, जसले नेकपा हुँदा ओलीलाई कारबाही गर्दै पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरेको घोषणा गरेका थिए। त्यतिबेला प्रचण्ड–माधव समूहमा रहेका रावल सर्वाेच्च अदालतको फैसलाले पार्टी फुटाएपछि नेकपा एमालेमा माधव नेपालको पक्षमा रहेर ओलीको कडा विरोध गरेका थिए।

त्यति मात्र होइन, उनले ओलीले दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेपछि संसद् पुनःस्थापना गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वाेच्च अदालतमा हालिएको रिट निवेदनका पक्षमा हस्ताक्षर गरेका थिए। तर पछि माधव नेपालले नयाँ पार्टी खोलेपछि घनश्याम भुसालहरूसँगै उनी एमालेमै रहे। 

पार्टीमै रहे पनि रावलले बेलाबेला अध्यक्ष ओलीको आलोचना गर्ने गरेका छन्। उनले गत मंसिरमा भएको एमालेको दसौँ महाधिवेशनमा अध्यक्ष पदमा ओलीसँग प्रतिस्पर्धा पनि गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .