ad ad

राजनीति


सत्ता गठबन्धनमा सिट बाँडफाँट : एकीकृत समाजवादी र जसपाको चित्त बुझ्ला?

कांग्रेस र माओवादीले सहमतिभन्दा बाहिरको सूची ल्याएको अरोप
सत्ता गठबन्धनमा सिट बाँडफाँट : एकीकृत समाजवादी र जसपाको चित्त बुझ्ला?

फाइल तस्बिर


नेपालखबर
असोज १४, २०७९ शुक्रबार ७:२५, काठमाडौँ

सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरुको सहमतिको अन्तिम बिन्दुमा पुगेको भनिए पनि सिट बाँडफाँटको विषय अझै टुंगोमा पुग्न सकेका छैनन्। 

केही दोहोरो दाबी परेका ठाउँमा बाँकी भएपनि अन्य ठाउँमा सहमति भइसकेको माओवादी अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले बताएको छ। यद्यपि बिहीबार (१३ असोज) मा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको चित्त बुझेन्। 

कांग्रेसले यसअघि भएकोभन्दा अर्कै सूची ल्याएको कारणले आफूहरुको चित्त नबुझेको नेपालले सत्ता गठबन्धन बैठकमा बताएका थिए। बैठकपछि एकीकृत समाजवादीका एक नेताले नेपालखबरसँग कांग्रेसको दोस्रो प्रस्तावले आफूहरु सहमतिमा आउन नसकेको बताएका थिए। 

‘हिजोसम्म एउटा थियो, आज अर्कै ल्याएपछि सहमती भएन। कांग्रेसको दोस्रो प्रस्तावले जसपा र एकीकृत समाजवादीको चित्त बुझेन अनि बैठक बसेन।’ एकीकृत समाजवादीका ती नेताले नेपालखबरसँग भने। 

बिहीबारको बैठकमा एकीकृत समाजवादीको भागमा १७ सिट रहने बताएपनि शुक्रबार त्यसमा पनि हेरफेर भएको भन्दै नेपालले गठबन्धनका दलहरुसँग चित्त दुखाएका हुन्।

बुधबार मध्यरातीसम्म गठबन्धनमा कांग्रेसले ८४, माओवादीले ४४, एकीकृत समाजवादीले १७, जसपाले १५ र राष्ट्रिय जनमोर्चाले २ सिट लिने सहमति जुटेको भनिएको थियो। 

तर १६५ मध्ये ९ निर्वाचन क्षेत्रमा दलहरुले दोहोरो दाबी गरेका कारण तालमेल टुंगिन बाँकी रहेको थियो। 

गठबन्धनबीच नेपाली कांग्रेसले ८५ वा ८६, नेकपा माओवादी केन्द्रले ४५ वा ४६, नेकपा एकीकृत समाजवादीले १७, जनता समाजवादी पार्टी (जसपा) नेपालले १५ र राष्ट्रिय जनमोर्चाले २ प्रतिनिधिसभा निर्वाचन क्षेत्र पाउने सहमति जुटेको छ।

जसमध्ये अछाम–१, बारा–४, धादिङ–१, सल्यान, नवलपरासी पश्चिम, रुपन्देही–१, धनुषा–३, महोत्तरी–३ र दैलेख–१ मा दलहरुले दोहोरो दाबी गरिरहेका छन्।

आज पनि बैठक, बुझ्ला जसपा र समाजवादीको चित्त? 
सत्ता गठबन्धनको पाँच दलीय गठबन्धनको बैठक आज पनि बस्दैछ। प्रचण्ड सचिवालयका अनुसार सिट बाँडफाँटको अन्तिम टुंगो लागेको भएपनि केही दोहोरो दाबी भएको ठाउँमा सहमति जुटाउन नेताहरु छलफलमा जुट्न लागेका हुन्। 

तर, कांग्रेस र माओवादी केन्द्र दुवैले आफूले पहिल्यै दाबी गरेको स्थान राखेर सूची बनाएका छन्। 

बिहीबारको बैठकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सहमति भएभन्दा फरक सूची बोकेर आएका थिए। 

‘कांग्रेस र माओवादी दुवै पार्टीले पहिले दाबी गरेका स्थान आफैँले राखेर प्रस्ताव ल्याए,’ एकीकृत समाजवादीका एक नेताले नेपालखबरसँग भने, ‘जसअनुसार कांग्रेस ८७ र माओवादी ५३ पुर्‍याए, विवाद रहेका क्षेत्र पनि उनीहरूकै बनाएर ल्याएपछि मिल्ने कुरै भएन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .