ad ad

राजनीति


निर्माणाधीन आयोजना सम्पन्न गर्ने कुरामा ढिलासुस्ती हुनुहुँदैनः पौडेल

निर्माणाधीन आयोजना सम्पन्न गर्ने कुरामा ढिलासुस्ती हुनुहुँदैनः पौडेल

प्रकाश न्यौपाने
मंसिर २८, २०७६ शनिबार ८:१२,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देहीका विभिन्न आयोजनाहरुको स्थलगत निरीक्षण गरेका छन्।

रुपन्देही क्षेत्र नम्बर २ का सांसद समेत रहेका पौडेलले शनिबार जिल्लाको तामनगरमा रहेको कोरियन नेपाल टेक्निकल इन्स्टिच्यूट, बेलबास–बेथरी सडक लगायत बुटवलका विभिन्न निर्माणाधीन आयोजनाहरुको निरीक्षण गरेका हुन्।

बेलबास–बेथरी सडक पर्यटकीय मार्गसमेत भएकाले निर्माणलाई गति प्रदान गर्न कुनै कसर बाँकी राख्न नहुने भन्दै उनले जनप्रतिनिधिलाई विशेष भूमिका खेल्न आग्रह गरे। ‘निर्माणमा आइपर्ने बाधा अवरोध हटाउन जनप्रतिनिधिले समन्वयकारी भूमिका खेल्नुपर्छ’, उनले भने, ‘स्थानीय जनप्रतिनिधिले आयोजनाको चुस्त अनुगमन गर्नुस्, मैले सडक आयोजना सम्पन्न गर्न बजेटको कमी हुन दिन्न।’

यस्तै पौडेलले सेमलार–मोतीपुर सडक पनि अवलोकन गरेका छन्। बुटवलका विभिन्न वडाका जनप्रतिनिधिसहित अवलोकनमा पुगेका पौडेलले सम्बन्धित निर्माण कम्पनीसँग आयोजना समयमै सक्नेगरी समन्वयात्मक भूमिका खेल्न आग्रह गरे। ‘जनप्रतिनिधि विकासका संवाहक हुन्, आयोजनामा भैरहेको ढिलासुस्तीबारे आवाज उठाउने र अवरोध हटाउनेतर्फ जनप्रतिनिधिको ठूलो भूमिका हुन्छ’, उनले भने, ‘यो क्षेत्रमा निर्माणाधीन आयोजना सम्पन्न गर्ने कुरामा ढिलासुस्ती हुनु हुँदैन।’

कोरियन नेपाल टेक्निकल इन्स्टिच्यूटको व्यवस्थापकीय क्षमता बढाएर अझै दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने गरी अघि बढ्न उनले आग्रह गरेका छन्। इन्स्टिच्यूट अवलोकनका क्रममा पूर्वअर्थमन्त्री पौडेलले प्राज्ञिक जनशक्ति उत्पादन गर्ने यो संस्थाको व्यवस्थापकीय क्षमता बढाउनु जरुरी रहेको भन्दै यसका लागि सीटीइभीटीको नेतृत्व र शिक्षामन्त्रीसँग बसेर गृहकार्य गर्न सुझाव दिए।

त्यस्तै उनले तिनाउ नदीमा निर्माणाधीन विभिन्न पुलहरुको समेत अवलोकन गरेका छन्। उनले पर्यटकीय पार्कका रुपमा रहेको पिसपार्कको पनि अवलोकन गरे। त्यसक्रममा उनले बुटवलको पिसपार्क पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको भन्दै यसलाई अझ व्यवस्थित रुपले विकास गर्नुपर्नेमा जोड दिए। त्यसैगरी पौडेलले बुटवल मण्डपमा निर्माणको क्रममा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पनि अवलोकन गरी आयोजनाको प्रगतिबारे जानकारी लिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .