खेल


मछिन्द्रमा स्टार खेलाडी अनुबन्ध पछाडिका मास्टर माइन्ड

मछिन्द्रमा स्टार खेलाडी अनुबन्ध पछाडिका मास्टर माइन्ड

यज्ञराज जोशी
मंसिर २८, २०७६ शनिबार ८:०,

मध्य काठमाडौंको रैथाने क्लब हो, मछिन्द्र। ३२ वर्षसम्म मछिन्द्रले बी डिभिजनमा संघर्ष गर्‍यो। क्लबको एक पुस्ताले तीन दशक बढी लगातार बी बाट ए डिभिजनमा उकाल्ने संघर्ष गरेपनि सफल हुन सकेन। त्यहीबेला कार्यसमितिले अनिल श्रेष्ठलाई ए डिभिजनमा उकाल्ने जिम्मेवारीसहित क्लब सुम्पियो। त्यसबेला अनिल क्लबका साधारण सदस्यमात्रै थिए।

‘३२ वर्षसम्म बी डिभिजनबाट उक्लनै नसकेको क्लब २०६१ सालमा ए डिभिजनमा उकाल्ने जिम्मेवारीसहित मलाई सुम्पिएको थियो। मैले पहिलो पटक जिम्मेवारी लिदैँ नै क्लबलाई ए डिभिजनमा उकाले,’ त्यसबेला क्लबका व्यवस्थापक रहेका अनिल सम्झन्छन्।

लामो समय बी डिभिजनमा खेल्दा आजित भएका क्लबका सदस्यहरुले सम्पूर्ण जिम्मेवारीसहित अनिलको काँधमा ठूलो जिम्मेवारी थुपोरेका थिए। अनिलले जसरी पनि क्लबलाई ए डिभिजनमा उकाल्ने अठोट गरे। अनि लागे खेलाडी खोज्न। साथमा थिए, प्रज्वल तुलाधर।

पूर्वमा फुटबल लोकप्रिय थियो। उनी धरान, चन्द्रगढी, झापा पुगे। जहाँबाट बुद्ध चेम्जोङ, दीपक राई, विजय धिमाल, अर्जुन रिजाल, किरण चेञ्जोङ जस्ता खेलाडीहरु खोजेर आए। जो पछि राष्ट्रिय फुटबल टोलीका समेत महत्वपूर्ण खेलाडीका रुपमा स्थापित भए।

‘हामी भर्खर २७–२८ वर्ष उमेरका थियौं। देशमा संकटकाल लागेको थियो। नाइट बसमा यात्रा गर्नुपथ्र्यो,’ खेलाडी खोज्न जादाको सम्झना स्मरण गर्दै अनिलले भने, ‘भोक प्यास नभनी हामीले विभिन्न ठाउँठाउबाट १५–२० दिनमा खेलाडीहरु खोजेर काठमाडौं ल्यायौं।’

अनिल र प्रज्वलको मेहनतले रंग ल्यायो। तीनै खोजेर ल्याएका खेलाडीहरुको प्रदर्शनसँगै मछिन्द्र सोहीवर्ष ३२ वर्षको प्रतिक्षा पछि ए डिभिजनमा उक्लियो। ‘त्यो क्लब अनि म मेरो जिन्दगीकै सबैभन्दा स्मरणीय अनि खुशीको क्षण थियो,’ अनिल सम्झन्छन्।

त्यसपछि मछिन्द्र ए डिभिजनमा त रह्यो। तर, नजिता सधैँ एकनासको रहेन। उक्लने र झर्नेक्रम जारी रह्यो। त्यसमा आर्थिक पक्ष महत्वपूर्ण रहेको अनिल बताउँछन। ‘एक चोटी लिग खेल्दा एक देखि डेढ करोडसम्म खर्च हुन्छ। कहिले जुटाउन सकिन्छ, कहिले सकिदैँन। क्लब व्यवसायिक नहुँदा पनि नतिजामा असर परेको हो,’ उनी भन्छन्।

२०७० सालमा मछिन्द्रको आर्थिक अवस्था कमजोर थियो। क्लबले त्यसबेला अनिललाई २० लाख थमाउँदै भन्यो ‘हामीसँग यति पैसा छ। तिमी जसरी चलाउन्छौं, चलाउ।’

ए डिभिजन लिग खेल्न २० लाख रुपैयाँ एक चौथाई पैसा पनि हैन। तर, काँधमा जिम्मेवारी आइसकेपछि अनिल पछि हटेनन्।

‘स्वच्छ भावनाले गर्यो भने जसले पनि साथ दिन्छ। मैले मेहनत गरेको देखेर पनि तिमी अघि बढ हामी साथ दिन्छौं भन्ने थुप्रै भेटिए,’ व्यवसायी समेत रहेका अनिलले भने, ‘त्यसबेला क्लबले दिएको २० लाखसँगै मैले ८० लाख रुपैयाँ जुटाउँदै एक करोड जम्मा पारे। क्लब उपविजेता बन्यो। त्यसबेला ४५ लाख रुपैयाँ बचत भयो। त्यो देखेर पत्रपत्रिकामा त्यसबेला ‘वान म्यान आर्मी’ भनेर छापिएको थियो।’

स्टारहरुको जमघट
२०७१ सालपछि एन्फाको किचलो र भुकम्पका कारण ए डिभिजन लिग सञ्चालन हुन सकेन। त्यसपछि कर्माछिरिङ शेर्पाको नयाँ नेतृत्व आएपछि गतवर्षबाट रोकिएको लिग पुनः शुरु भयो। तर, ट्रायल भन्दै एन्फाले लिगको मुलमर्म घटुवा हुने प्रावधान नै राखेन। अन्य क्लब झै मछिन्द्रले पनि ट्रायलमात्रै भएकाले त्यति चासो देखाएन। विदेशमा रहेका अनिल स्वयमः पनि फर्किएनन। मछिन्द्र अघिल्लो सिजनमा सहभागी १४ क्लबमध्ये १३ औं भएको थियो।

तर यसपटकबाट भने रेलिगेसनसहितको लिग शनिबारबाट शुरु हुँदैछ। शनिबार नै मछिन्द्रले उद्घाटन खेलमा ब्रिगेड ब्वाइज यूनियनको सामना गर्दैछ। यसपटकको लिगमा भने हेवीवेट खेलाडीहरुलाई भित्र्याउँदै मछिन्द्रले आफूलाई उपाधि दाबेदार टोलीको रुपमा उभ्याएको छ। स्टार खेलाडीहरुलाई टोलीमा जमघट गराउने मास्टर माइन्ड यीनै अनिल हुन।

‘यसपटक पौने दुई करोडको बजेटमा लिग जित्ने उदेश्यसहित आएका छौं। त्यसमा पनि करिब १ करोड खर्च गरेर स्टार खेलाडीहरु भित्र्याएका छौं। हाम्रो मुख्य उदेश्य नै उपाधि जित्नु हो,’ टोलीका व्यवस्थापक अनिलले भने।

  मछिन्द्रले शुक्रबारमात्रै सानमिगेलसँग मुख्य प्रायोजक सम्झौता गरेको छ।

अनिलले यसपटक क्लबमा ल्याएका एक महत्वपूर्ण खेलाडी हुन्, राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जन। विराज पनि मछिन्द्रको अहिलेको टिम बन्नुमा अनिलको भुमिका महत्वपूर्ण ठान्छन्।

‘अनिल दाई फुटबलप्रति एकदमै लगाव भएको मान्छे हो। मैले लिग डेब्यू गर्दादेखि २०६३ सालदेखि नै उहाँलाई चिन्छु। सबै खेलाडीले उहाँलाई चिन्नुहुन्छ,’ विराजले भने, ‘उहाँमा क्लबप्रति एकोहोरो माया छ। सधैँ क्लबलाई व्यवसायिक बनाउँन लाग्नुहुन्छ। उहाँजस्तो मान्छेहरु अन्य क्लबमा पनि धेरै चाहिन्छ। अहिलेको टिम बन्नुमा उहाँको महत्वपूर्ण भुमिका छ।’

अनिलले मछिन्द्रलाई बलियो बनाउन साविकको विजेता टोली मनाङ मस्र्याङ्दी क्लब र थ्रीस्टार क्लबका मुख्य खेलाडीहरुमाथि आखाँमात्रै लगाएनन, टोलीमा भित्र्याउन समेत सफल भएका छन्।

कप्तान विराज महर्जनसहित १३ औं दक्षिण एसियाली खेलकुद (साग)को स्वर्ण विजेता नेपाली टिमका कप्तान सुजल श्रेष्ठ, मिडफिल्डर विशाल राई, गोलकिपर विशाल श्रेष्ठ, गत सिजनका उत्कृष्ट मिडफिल्डर हेमन गुरुङ, दीपक राई, अफ्रिकी मूलका एडेलेजा सोमिडेलाई अनिलले मनाङबाट निकाल्दै मछिन्द्रमा आवद्ध गराएका छन्।

मनाङबाट एएफसी कप २०१९ खेलेका देवेन्द्र तामाङ र अभिषेक रिजाल तथा च्यासलका योगेश गुरुङलाई पनि अनिलले छाडेनन। यस्तै अर्को दाबेदार क्लब थ्रीस्टारका विदेशी खेलाडी पिटर सेगुन, विजय धिमाल, रन्जित धिमाल र बुद्ध चेम्जोङलाई समेत क्लबमा आवद्ध गर्न ठूलो पैसा खर्चिए।

मछिन्द्रमा अहिलेको राष्ट्रिय टिमका मात्रै ९ खेलाडी छन्

यत्तिका हेवीवेट स्टार खेलाडीहरुलाई एकैचोटी विभिन्न क्लबबाट भित्र्याउन कसरी सम्भव भयो त?

अनिल भन्छन्, ‘तपाईले जुनसुुकैँ खेलाडीलाई सोधे हुन्छ। सबै खेलाडीसँग मेरो एकदमै राम्रो सम्बन्ध छ। सबै खेलाडीले मेरो एक कल र एकचोटीकै मिटिङमा मानेका हुन्। हामीले चलेको भन्दा पनि राम्रो परिश्रमिक पनि दिएका छौं। प्रतिबद्धता अनुसार र भनेकै समयमा म पैसा दिन्छु भन्ने खेलाडीलाई पनि थाहा छ। त्यसैले उहाँहरु मैले भनेपछि आएका हुन्।’

‘खेलाडीहरुलाई थ्री स्टार होटलमा राखेका छौं। उनीहरुलाई ज्याकुजी, साउना, स्टिम वाथ, जिमको सुविधा दिएका छौं। राष्ट्रिय टिमबाट पनि नपाएको सुविधा क्लबबाट पाएको उनीहरुले प्रतिक्रिया दिन्छन्,’ अनिलले थपे।

खेलाडीलाई उपाधिको जिम्मेवारी
मछिन्द्रले स्टार खेलाडीहरु अनुबन्ध गर्दै उनीहरुलाई दिएको मुख्य जिम्मेवारी उपाधि नै हो।

‘मछिन्द्रले ठूलो पैसा खर्च गरेर व्यवसायिक प्रयास गर्दैछ भने खेलाडीहरुले पनि केही न केही गरेर देखाउँनुपर्छ,’ अनिल भन्छन्, ‘हामीले जित्छु भनेर नै स्टार खेलाडीहरु भित्र्याएका हौं। उनीहरुको अनुभव र क्षमताले लिग जित्नेमा हामी ढुक्क छौं।’

अघिल्लो संस्करण मनाङबाट उपाधि जितेका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जनले यसपटक मछिन्द्रको कप्तानी सम्हाल्दैछन। विराज क्लबको उपाधि सपनालाई साकार पार्नेमा आफूहरु पूर्ण रुपमा लाग्ने बताउँछन।

‘उहाँहरुले हामीमा केही देखेर, खेलाडीलाई विश्वास मानेर दिलाएर बोलाउनुभएको हो,’ विराजले भने, ‘हामीले पनि उहाँहरुका लागि केही गर्नुैपर्छ। सक्दो मेहनत गर्दै जान्छौं। टिम भएर अघि बढ्यौं भने हामी सफल पनि हुन्छौं।’

महत्वाकांक्षी नतिजाका साथ यत्रो लगानी गरेर नतिजा निस्किएन भने नी?

‘त्यसले अलि अलि निरुत्साहित त पार्छ। यसपटक लगानी धेरै छ। त्यो डुब्छ। त्यसले हामीलाई अर्को साल उक्लन गाह्रो हुन्छ,’ अनिल भन्छन्, ‘यसपटक कम्तीमा तेस्रोसम्म हुने हाम्रो लक्ष्य हो। तेस्रो भयौं भने पनि हाम्रो लगानी उठ्छ। उपाधि नै जित्यौं भने चाँही हामी नाफामा जानेछौं।’

यो पनि: ए डिभिजन लिगः मछिन्द्र, संकटा र आर्मीको लक्ष्य उपाधि, संकटमा मनाङ

यो पनि: जसले साग सम्भव बनाए

यो पनि- साग समिक्षा: उत्कृष्ट नतिजा, औसत व्यवस्थापन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .