ad ad

राजनीति


चिनियाँ राष्ट्रपति सीले भने : नेपालसँग राजनीतिक विश्वास बढिरहेको छ

प्रधानमन्त्री देउवालाई शुभकामना सन्देश, मन्त्री खड्कालाई वाङ यीको टेलिफोन
चिनियाँ राष्ट्रपति सीले भने : नेपालसँग राजनीतिक विश्वास बढिरहेको छ

फाइल तस्बिर


नेपालखबर
असोज ४, २०७९ मंगलबार ११:१४, काठमाडौँ

चीनका राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली खछ्याङ र विदेशमन्त्री वाङ यीले संविधान दिवसका अवसरमा नेपाली समकक्षी, नेपाल र नेपाली जनतालाई शुभकामना दिएका छन्।  

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीलाई पठाएको शुभकामना सन्देशमा चिनियाँ राष्ट्रपति सिले भनेका छन्, ‘चीन र नेपाल पहाड र नदीद्वारा जोडिएका असल छिमेकी हुन्। अन्तर्राष्ट्रिय परिस्थितिमा परिवर्तन देखिए तापनि हामी दुई देश सधैँ एकले अर्काको सम्मान, समर्थन तथा मित्रवत् व्यवहार गर्ने गर्छौं।’ 

चिनियाँ राष्ट्रपति सीले नेपालसँग आपसी राजनीतिक विश्वास तथा परम्परागत मित्रता दिनप्रतिदिन बढ्दै गइरहेको बताएका छन्। 

‘चीन–नेपाल सम्बन्धको विकासमा उच्च महत्त्व दिँदै सम्माननीय राष्ट्रपतिज्यूसँगै मिलेर विकास तथा समृद्धि उन्मुख युगौँयुगसम्म चल्ने मैत्रीपूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई नयाँ चरणमा पुर्याउने मेरो इच्छा छ’, उनले सन्देशमा लेखेका छन्।

चिनियाँ राष्ट्रपतिले सन्देशमा बेल्ट एन्ड रोड अवधारणा (बिआरआई) को उच्च गुणस्तरीय संयुक्त निर्माण गर्दै हामीले कोरोना महामारीको चुनौतीको संयुक्त सामना गरिरहेको उल्लेख गरेको चाइना रेडियो इन्टरनेसनल (सीआरआई) ले जनाएको छ। 

त्यसैगरी प्रधानमन्त्री देउवालाई चिनियाँ समकक्षी लीले पनि संविधान दिवसका अवसरमा शुभकामना सन्देश पठाएका छन्। 

‘चीन र नेपाल परम्परागत मित्रवत् छिमेकी हुन्। आपसी सम्बन्ध स्वस्थ र स्थिर रूपमा अघि बढिरहेको छ। संयुक्त रूपमा बेल्ट एन्ड रोड निर्माण गर्दै दुवै पक्षले विभिन्न क्षेत्रमा भएका आदानप्रदान तथा सहयोग सक्रिय रूपमा विस्तार गरिरहेका छौँ,’ सन्देशमा चिनियाँ प्रधानमन्त्री लीले भनेका छन्। 

उनले नेपाली प्रधानमन्त्रीसँग मिलेर दुई देशको विकास रणनीतिलाई गहन रूपमा जोड्दै पारस्परिक सम्बन्धको विकासबाट दुई देश तथा दुई देशका जनताको अझ बढी हित कल्याण, सिर्जना गर्दै जाने आफ्नो इच्छा रहेको उल्लेख गरेका छन्। 

मन्त्री खड्कालाई टेलिफोन 
चीनका विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री नारायण खड्कासँग टेलिफोन वार्ता गरेका छन्। चीनको राज्य परिषद्का सदस्य समेत रहेका विदेशमन्त्री वाङले नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मन्त्री खड्कालाई सोमबार टेलिफोनबाट शुभकामना दिएका हुन्। 

टेलिफोन संवादमा वाङले शुभकामना व्यक्त गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्। 

‘वाङले चीन र नेपाल नदी र पहाडसँग जोडिएर युगौँयुगदेखि नै मैत्रीपूर्ण सम्बन्ध रहेको भन्दै दुई पक्षको साझा प्रयासमा दुई मुलुकको सम्बन्ध निरन्तर रूपमा गहन भएर परम्परागत मित्रता सुदृढ भइरहेको बताउनुभएको छ’, सीआरआईले समाचारमा उल्लेख गरेको छ। 

वाङले मन्त्री खड्कासँगको कुराकानीमा दुई देशका नेतागणको महत्त्वपूर्ण सहमतिलाई व्यवहारमा उतार्ने तथा चीन-नेपाल रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्ध स्थिर रूपमा अगाडि सार्ने इच्छा रहेको बताएको सीआरआईले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .