कमाण्ड अवधारणाबाट एक वर्षमै पछि हटेको नेपाली सेनाले पृतना प्रमुखको जिम्मेवारी तोकेको छ। भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनालाई पुनः पृतनाकै संरचनामा फर्काउने निर्णय गरेको थियो।
सरकारको निर्णयसँगै सेनाले ८ वटै पृतना प्रमुख तोकेको हो। यसअघि कमाण्ड प्रमुख रहेका चार उपरथीलाई नै पृतना प्रमुखको जिम्मेवारी दिइएको छ। बाँकी चार जना नयाँ तोकिएको छ। सैनीक मुख्यालय श्रोतका अनुसार पूर्वी पृतनाको जिम्मेवारी उपरथी सहदेव खड्काले पाएका छन्। यसअघि खड्का कमाण्ड प्रमुख थिए।
यस्तै मध्यपूर्वी पृतना प्रमुखमा प्रेमध्वज अधिकारी र मध्य पृतनामा उपरथी होमनाथ दबाडीले जिम्मेवारी पाएका छन्।
उपत्यका पृतनाको प्रमुखमा योगराज शर्मा, पश्चिम पृतना बाबुराम श्रेष्ठ, मध्यपश्चिम पृतना यामप्रसाद ढकाल, उत्तर पश्चिम पृतना हिरालाल जोशी र सुदुरपश्चिम पृतनामा विजय थापाले जिम्मेवारी पाएका छन्। थापालाई हाल निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो। थापा सहायक रथी हुन्। उपरथीमा बढुवा हुने सूचीको पहिलो नम्बरमा छन्। केही दिनमै उनको बढुवा हुने सम्भावना छ।
पूर्वी पृतनाअन्तर्गत प्रदेश नं १ का सबै जिल्ला पर्छन्। झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, संखुवासभा, धनकुटा, उदयपुर, भोजपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बु पूर्वी पृतनामा पर्छन्।
मध्यपूर्वी पृतनाअन्तर्गत मधेश प्रदेशका जिल्लाहरु सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट छन्।
मध्य पृतनामा सिन्धुली, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, रसुवा र मकवानपुर छन्।
उपत्यका पृतनामा काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्ला छन्।
पश्चिम पृतनामा बागलुङ, गोरखा, कास्की, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, नवलपरासी पूर्व, पर्वत, स्याङ्जा र तनहुँ छन्।
मध्यपश्चिम पृतनामा कपिलवस्तु, नवलपरासी पश्चिम, रुपन्देही, अर्घाखाँची, गुल्मी, पाल्पा, दाङ, बाँके, बर्दिया, प्युठान, रोल्पा, रुकुम पूर्व र उत्तर पश्चिम पृतनामा रुकुम पश्चिम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, सुर्खेत, दैलेख, र जाजरकोट पर्छन्।
सदूर पश्चिम पृतनाअन्तर्गत कैलाली, अछाम, डोटी, बझाङ, बाजुरा, कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला रहेका छन्।
गत वर्षमात्रै चार कमाण्डको संरचनामा गएको सेना पुनः पृतनामै फर्किएको हो। पृतना स्थापना भएसँगै कमाण्ड भने निस्क्रिय हुने भएका छन्।
नेपाली सेना पृतना, बाहिनी, गण र गुल्महरूको संरचनामा रहनेछ।
नेपाली सेनाको परिचालन, कार्य प्रकृति र कमाण्ड कन्ट्रोल तथा नेपाल सरकारका अन्य निकायसँगको समन्वयको आवश्यकतालाई मध्यनजर गर्दै पुरानै पृतनाको संरचनामा फर्किनु परेको सेनाले जनाएको छ।
२०७८ साउनदेखि तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाले पृतना खारेज गर्दै चार कमाण्डमा चलाउने निर्णय कार्यान्वयनमा ल्याएका थिए।
२०७८ असार २४ गतेको मन्त्रिपरिषदको निर्णयअनुसार कमाण्ड प्रणालीमा गएको सेनालाई प्रधानसेनापति प्रभुराम शर्माले पुरानै संरचनामा फर्काएका हुन् ।
Shares
प्रतिक्रिया