नेकपा एमालेकी केन्द्रीय सदस्य भगवती चौधरीले आर्थिक समृद्धि, युवा स्वरोजगार र व्यवसायिक कृषि योजना र स्थानीय विकासका आधारलाई आफ्नो चुनावी नारा रहेको बताएकी छन्।
आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट सुनसरी क्षेत्र नं. ३ मा सर्वसम्मत उम्मेदवार सिफारिस भएकी चौधरीले आर्थिक समृद्धि, निर्यातमुखी कृषि, युवा स्वरोजगारबाट नै मुलुकको विकास गर्न सकिने पनि बताइन्।
राजधानीमा आज आयोजित सञ्चारकर्मीहरुसँगको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै नेतृ चौधरीले सुनसरी क्षेत्र नं. ३ विकास र आर्थिक दृष्टिकोणले सबैभन्दा पछाडि परेको चर्चा गर्दै उक्त क्षेत्रको विकास र जनताको जीवनस्तर उकास्नकै लागि आफू राजनीतिमा होमिएको पनि बताइन्।
‘राजनीतिमा लागेर मैले कुनै व्यक्तिगत लाभ लिनु छैन, मेरो एकमात्र उद्देश्य भनेको त्यहाँका जनताको जीवनस्तर उकास्नु हो’ करिब तीन दशकदेखि समाजसेवा र महिला सशक्तिकरणका अभियान समेत सञ्चालन गर्दै आइरहेकी पूर्वराज्यमन्त्री चौधरीले भनिन्।
उनले सुनसरी ३ कृषि, पर्यटनका लागि अत्यन्त उर्वर क्षेत्र भएतापनि राज्यको नजर नपर्दा पछि परेको जिकीर गरिन्। आधुनिक कृषि प्रणाली अवलम्बन गर्दै चक्लाबन्दी गरी नगदेबाली लगाए उक्त क्षेत्रका जनताको जीवनस्तर सुधार हुने चौधरीले प्रष्ट्याइन्।
‘मुलुकलाई सम्मृद्ध बनाउने हो भने हाम्रो आयातमुखी कृषिलाई निर्यातमुखी बनाउन पर्छ। कृषि क्षेत्रको विकास गर्न सकेमात्रै सबै क्षेत्रको विकास हुन्छ’ चौधरीले भनिन् ।
सुनसरी क्षेत्र नं ३ सँग जोडिएका क्षेत्र र जिल्लाका जनताको जीवनस्तर सुदृढ हुँदै जाँदा आफ्नो क्षेत्रका जनताहरु अझै ऋणमा पिल्सिइरहेको पनि बताइन्।
‘अन्य क्षेत्र र जिल्लाहरुको आर्थिक सूचकांक सवल हुँदा मेरो क्षेत्रको आर्थिक सूचकांक कमजोर हुनुको कारण राज्यको भूमिका कमजोर भएर हो। यो पल्टको निर्वाचनमा जितेपछि मेरो एउटै उद्देश्य आफ्ना क्षेत्रका जनताको जीवनस्तर उकास्ने रहनेछ।’
पछिल्लो समय युवाहरुले उठाएका सुशासन, आर्थिक उन्नती, स्वरोजगार, आत्मनिर्भरताका कुरा आफूले १० वर्ष अगाडिदेखि उठाउँदै आएको बताउँदै चौधरीले योपल्ट सुनसरी ३ ले परिवर्तनका लागि आफूलाई भोट दिने दाबी गरिन्।
नेकपा एमालेले ल्याएका स्वरोजगार, आत्मनिर्भरका एजेण्डाबाट नै मुलुकको विकास गर्न सकिने तर्क गर्दै समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न पनि एमालेलाई पुनः सरकारका पठाउनु पर्ने चौधरीको भनाई थियो ।
चौधरी नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सह–इन्चार्ज हुन्। २०६४ सालको पहिलो संविधान सभा सदस्य समेत रहेर झलनाथ खनालको नेतृत्वको सरकारमा वन तथा भू–संरक्षण राज्यमन्त्री समेत भइसकेकी चौधरी लघुवित्त र महिला सशक्तिकरणको अभियानमा सक्रिय रहेकी छिन्।
उनी सुनसरी ३ मा नेपाली कांग्रेसका नेता विजय गच्छदारसँग तेस्राेपटक चुनावी प्रतिस्पर्धा गर्ने तयारीमा छन्।
प्रतिक्रिया