ad ad

कारोबार


बालेन्द्रसँग फुटपाथ व्यवसायीको माग : दसैँसम्म गरिखान देऊ

बालेन्द्रसँग फुटपाथ व्यवसायीको माग : दसैँसम्म गरिखान देऊ

फाइल तस्बिर


नेपालखबर
भदौ २९, २०७९ बुधबार २१:४४, काठमाडौँ

काठमाडौँ महानगरपालिकाको फुटपाथमा व्यापार गर्दै आएका व्यवसायीले दशैँसम्म व्यवसाय सञ्चालन गर्न दिन माग गरेका छन्।

काठमाडौँ महानगरपालिकाको प्रमुखमा बालेन्द्र शाह निर्वाचित भएसँगै अनधिकृतरुपमा निर्मित संरचना र फुटपाथ व्यवसाय हटाउन सुरु गरेका छन्। 

यस्तोमा फुटपाथ व्यवसायीले दसैँको मुखमा भोकै पर्नै भन्दै त्यसबेलासम्म व्यवसाय गर्न दिन नगरपालिकालाई आग्रह गरेका हुन्।

काठमाडौँको माछापोखरी सडकको किनारामा विगत ३० वर्षदेखि कपडा बेच्दै आएका नुवाकोटका बलराम भेटवालले दसैँको समयमा काम गर्न दिन आग्रह गरे।

'हामी महानगरपालिकालाई सहयोग गर्न तयार छौँ, हामीले किनेको कपडा दसैँ अगाडिसम्म बिक्री गर्न दिइयोस्', उनले भने।

भक्तपुरका भरत बस्नेत ३३ वर्षदेखि माछापोखरीमा लत्ताकपडा बिक्री गर्दै आएका छन्। 

'हामी बिहान दुई घण्टा र बेलुका दुई घण्टा कपडा बेच्दै आएका छौँ', उनले भने, 'दसैँको मुखमा हाम्रो रोजिरोटी नखोसियोस्।'

धादिङकी यशोदा सुवेदी पनि लामो समयदेखि त्यहीँ व्यवसाय गर्दै आएकी छन्। 

'प्रयोगमा नआएको जग्गामा बिहान बेलुका व्यापार गर्दै आएका थियौँ। तर नगरपालिकाले हटाउन खोजेर हामीलाई समस्या पारिदियो', उनले भनिन्। 

भेटवाल, बस्नेत र सुवेदी प्रतिनिधि पात्र मात्र हुन्। अहिले काठमाडौँ महानगरपालिकाले माछापोखरी क्षेत्रमा फुटपाथ व्यवसाय हटाउँदा ६० व्यवसायी मारमा परेका छन्। 

बिहान र बेलुकाको समयमा व्यापार गर्दै आएका उनीहरुसँग हालै रु ४० लाख मूल्य बराबरको सामान छ। दसैँको समयमा सामान बिक्री गर्न नदिँदा उक्त मूल्य बराबरको सामान थन्किने डर व्यवसायीमा छ।

माछापोखरी क्षेत्रसँगै काठमाडौँको न्यूरोड, कोटेश्वर, कलङ्की, चाबहिल, नयाँ बसपार्क क्षेत्रमा रातका समयमा फुटपाथमा व्यापार हुँदै आएको छ। उनीहरुले व्यापार व्यवसाय गरेबापत कर तथा भाडा तिर्दैनन्।

काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे अनाधिकृत संरचना र फुटपाथ व्यवसाय हटाउने नीति महानगरपालिकाले लिएको बताउँछन्। 

'महानगरपालिकाले लिएको नीति पालना गर्ने दायित्व नगर प्रहरीको हो', उनले भने, 'जनप्रतिनिधिको आदेशअनुसार नगर प्रहरीले अनधिकृत संरचना र फुटपाथ व्यापार हटाउन लागेको हो।'

उनले महानगरको नीतिलाई सहयोग गर्न आग्रहसमेत गरेका छन्। पछिल्लो समय काठमाडौँ महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेका र नक्सा पास नगरी बनाएका भवन तथा फुटपाथ व्यवसायीमाथि निगरानी बढाएको छ।

काठमाडौँ महानगरपालिकाले हालसम्म न्यूरोड, नयाँ बानेश्वर, कोटेश्वर, चाबहिल, नयाँ बसपार्क, वनस्थलीलगायत काठमाडौँभित्रका विभिन्न क्षेत्रमा अनाधिकृत संरचना हटाइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .