ad ad

राजनीति


संविधान दिवसमा एमालेको वाकाथन, असोज १ गते बिहान ओलीसहित नेताहरु हिँडेर वसन्तपुर जाँदै

संविधान दिवसमा एमालेको वाकाथन, असोज १ गते बिहान ओलीसहित नेताहरु हिँडेर वसन्तपुर जाँदै

फाइल तस्बिर


नेपालखबर
भदौ २९, २०७९ बुधबार १२:७, काठमाडौँ

प्रुमख प्रतिपक्षी नेकपा एमालेले संविधान दिवसको अवसरमा आगामी असोज १ गते वाकाथन आयोजना गर्ने भएको छ।

असोज १ गते बिहानै राजधानीका विभिन्न चोकबाट प्रात:कालीन पैदल यात्रा कार्यक्रम आयोजना गरिएको हो।

एमालेले असोज ३ गते पर्ने संविधान दिवसको २ दिनअघि यो कार्यक्रम गर्न लागेको हो। मंसिर ४ को चुनावी तयारी पूरा गरिसकेको एमालेले विशेष सन्देश दिने गरी यो कार्यक्रम गर्न लागेको हो।

एमाले प्रचार विभाग उपप्रुमख विष्णु रिजालले चुनावी अभियानतिर जानुपर्ने भएपछि असोज १ मै यो कार्यक्रम गर्न लागिएको बताएका छन्। 

रिजालका अनुसार यो कार्यक्रम विशुद्ध सन्देश दिने गरी गर्न लागिएको हो। यसमा कुनै किसिमका झन्डा, तुल, ब्यानर र प्रचाको प्रयोग हुने छैन। 

उनका अनुसार पाँचवटा मुख्य चोकबाट वसन्तपुरसम्मको प्रभात भ्रमणमा एमाले नेता कार्यकर्ताहरु निस्किनेछन्। 

नयाँ बानेश्वर चोकबाट अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली वसन्तपुर डबलीका लागि पैदलै निस्किनेछ।

त्यसैगरी मैदीदेवी, लैनचौर, कालिमाटी र कुपन्डोलबाट पनि टोली निस्किने छन्। एमालेले यो कार्यक्रममा भाग लिन विशेष गरी युवा र सर्वसाधारणलाई पनि अपिल गरेको छ। 

'अब हामीले निर्वाचनको सबै तयारी पूरा गरेका छौँ। उम्मेदवारी सिफारिसदेखि प्रशिक्षणसम्मका कार्यक्रम सकेका छौँ', उनले भने, 'अब हामी जिल्ला जिल्लामा होमिन बाँकी छ। त्यसअघि हामी एउटा सन्देश दिन कार्यक्रम गर्दैछौँ। संविधान हाम्रो पहल र अडानमा बनेको हो। यसको कार्यान्वयन पनि एमालेकै जोड बलमा भएको हो। त्यसैले खास सन्देश दिन हामी जुट्दैछौँ।'

‘संविधान निर्माणमा नेतृत्वदायी भूमिका एमालेले खेलेको भन्ने कुरा जगजाहेर छ। संविधान निर्माणमा एमालेले लिएको पहलकदमीकै कारण आजका उपलब्धी हामीसामु छन्,' रिजालले भने, 'संविधान बनाएकै कारण हामीले नाकाबन्दी पनि बेहोर्यौँ। तर हामीले नाकाबन्दी पनि डटेर सामना गर्यौँ। अध्यक्ष ओली प्रधानमन्त्री भएपछि नै भारतसँग बलियोसँग अडान लिन थालियो। हाम्रो हडपिएको भूमि समेटेर चुच्चे नक्सा पनि निकाल्यौँ। यी सबै कुरालाई गौरवपूर्वक स्मरण गर्न वाकाथन गर्दैछौँ।’

एमालेले राजधानीका पाँचवटा चोकबाट असोज १ गते बिहान पौने ७ बजे वाकाथन थाल्ने भएको छ। त्यसपछि ८ बजे सबै टोली वसन्तपुर पुगेपछि ओलीले सम्बोधन गर्ने छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .