राजनीति


चिनियाँ नेता लीले देउवा, ओली र प्रचण्डसँग भोलि भेट्दै, सभामुखसँग संसद् भवनमा आजै वार्ता

चिनियाँ नेता लीले देउवा, ओली र प्रचण्डसँग भोलि भेट्दै, सभामुखसँग संसद् भवनमा आजै वार्ता

नेपालखबर
भदौ २७, २०७९ सोमबार १४:१६, काठमाडौँ

चीनको नेशनल पिपुल्स कंग्रेसका सभामुख ली चाङ्सु सोमबारदेखि तीन दिने नेपाल भ्रमणमा आउँदैछन्। 

उनी चिनियाँ विशेष विमानबाट ९६ जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ली दिउँसो ३ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने छन्। 

उनलाई त्रिभुवन विमानस्थलमा सभामुख अग्नि सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनासहितले स्वागत गर्ने छन्। 

पहिलो दिन
सोमबारको कार्यसूचीअनुसार चिनियाँ सभामुख लीको नेपाली समकक्षी अग्नि सापकोटासँग अपरान्ह पौने पाँच बजे संसद भवनमा भेटवार्ता तय भएको छ। 

सोमबार बेलुकी साढे सात बजे उनको सम्मानमा सभामुख सापकोटाले सोल्टी होटलमा रात्रिभोज आयोजना गरेका छन्। 

दोस्रो दिन
चिनियाँ सभामुखका अधिकांश भेटघाटका कार्यक्रम मंगलबारका लागि तय भएका छन्। 

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनासँग मंगलबार बिहान सवा ९ बजे संघीय संसद भवनमा भेटवार्ता गर्ने छन्। त्यसपछि सभामुख लीले अन्य नेपाली नेताहरुसँग भेटवार्तालाई निरन्तरता दिने छन्। 

संसद भवनमै मंगलबार बिहान १० बजे संसदको ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग करिब ४५ मिनेट वार्ता हुने छ। 

त्यसपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग पौने ११ बजे भेटवार्ताको कार्यसूची छ। 

त्यसबीचमा केही समय संसद भवनमा अरु सांसदहरुसँग संवाद गरेपछि साढे १२ बजे लीसहितको चिनियाँ टोली खानाका लागि सोल्टी होटल प्रस्थान गर्ने छ। 

खानापछि दिउँसो ३ बजे सभामुख ली र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच करिब ४० मिनेट भेटवार्ता समय निर्धारण गरिएको छ। 

यता प्रधानमन्त्री शेरबहादुर देउवासँग सभामुख लीले बेलुकी अपरान्ह ४ बजेर ५ मिनेटदेखि बालुवाटारमा आधा घण्टा वार्ता गर्ने छन्। 

बुधबार
गत असारमा नेपाल आएका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रभुख लीउ चियानचाओले भक्तपुर दरबार स्क्वायर भ्रमण गरेका थिए।

यो पटक पनि लीको प्रतिनिधिमण्डलले बुधबार बिहान साढे ९ बजेदेखि साढे ११ बजेसम्म दुई घण्टा भक्तपुर भ्रमण गर्ने भएको छ। 

त्यसपछि बेलुकी ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारी र लीबीचमा भेटवार्ता हुने छ। करिब १ घण्टा राष्ट्रपति निवासमा बिताएपछि बेलुकी ५ बजे लीको प्रतिनिधिमण्डल संघीय संसद भवनमा फोटो सेसनका लागि पुग्नेछ। 

त्यसपछि बेलुकी ५ : २० बजे चिनियाँ प्रतिनिधिमण्डल र सभामुख सापकोटाबीच भेटवार्ता तय गरिएको छ। यस वार्तामा नेपाल र चीनबीच सांसद आदानप्रदानसम्बन्धी समझदारीमा हस्ताक्षर हुने कार्यतालिका छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .