ad ad

राजनीति


गठबन्धनमा झन् पेचिलो सिट बाँडफाँट, अब मोरङ ५ र धनकुटामा पनि जसपाको दाबी

गठबन्धन बैठकबीच जसपा नेताले भेटे राष्ट्रपति
गठबन्धनमा झन् पेचिलो सिट बाँडफाँट, अब मोरङ ५ र धनकुटामा पनि जसपाको दाबी

मधेश विश्वविद्यालयको उद्घाटनका क्रममा उपेन्द्र यादव। तस्बिर : रासस


नेपालखबर
भदौ २३, २०७९ बिहिबार २१:६, काठमाडौँ

बिहीबार दिनभर सत्तारुढ गठबन्धनद्वारा गठित कार्यदल र शीर्ष नेताहरु संसदीय निर्वाचनको सिट बाँडफाँटको रस्साकस्सीमा लागे।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केही सार्वजनिक कार्यक्रममा सहभागी भइरहँदा पनि बालुवाटारमा गठबन्धन कार्यदल जारी थियो।

प्रचण्डले त भौतिक पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै आफू बालुवाटारबाट सिधै आएको बताउँदै फेरि त्यहीँ हुने गठबन्धन बैठकमा सहभागी हुन जान लागेको सुनाए।

अर्कातिर प्रधानमन्त्री देउवा पनि केही सार्वजनिक कार्यक्रममा सहभागी हुन निस्किएका थिए। बालुवाटारमा शीर्ष र कार्यदलको रस्साकस्सी बिहीबार पनि हात लाग्यो शून्य जस्तै भयो। 

कृष्ण प्रसाद सिटौला नेतृत्वमा बनेको ११ सदस्यीय कार्यदलले सहमति नै नजुटाइ प्रतिवेदन बुझाएको छ।

उक्त कार्यदलले सिट बाँडफाँट नै नगरी प्रतिवेदन बुझाएपछि शीर्ष नेताहरुले सहमतिको कोसिस गरेका थिए।

बैठकपछि कार्यदल सदस्यसमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिवेदन पेश भएर शीर्षमा छलफल मात्रै भएको बताए

'कार्यदलद्वारा शीर्ष नेतृत्वलाई प्रतिवेदन पेश भयो। प्रतिवेदनलाई लिएर कार्यदल र नेतृत्वबीच छलफल भयो', बैठकपछि बालुवाटारमा कार्कीले औपचारिक प्रतिक्रिया दिँदै भने, 'छलफल लामो भयो, भोलि पनि जारी रहन्छ। हामीले हाम्रो दृष्टिकोण राखेका छौँ। थप सहमतिका लागि भोलि दिउँसो ३ बजे बस्ने भन्ने कुरा भएको छ। तर प्रधानमन्त्रीको व्यस्तताले हेरफेर पनि हुन सक्छ।'

कार्कीकै भनाइअनुसार पनि शीर्ष नेताहरूको बैठकमा खासै केही नभएपछि शुक्रबार बस्नेगरी बैठक सकिएको हो।

तर, बिहीबार प्रचण्ड र देउवा सार्वजनिक कार्यक्रममा पनि व्यस्त भइरहेका बेला गठबन्धनको एउटा सदस्य घटक जनता समाजवादी पार्टीका नेताहरुले बैठकबीचमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्। 

अध्यक्ष उपेन्द्र यादवले वीरगञ्ज पुगेर आफूहरुले मागेको ३२ सिटमा अन्य दल सहमत नभए गठबन्धनको औचित्य नहुने बताएलगत्तै जसपा नेताहरुले राष्ट्रपतिलाई भेटेका हुन्।

बिहीबार दिउँसो साढे १ पछि सहमति जुटाउन कार्यदलको बैठक बसेको थियो। 

तर उक्त बैठकमा कांग्रेसले ९० सिटबाट तल नझर्ने अडान राखिरहे। 

बिहीबार नै नेपाल प्रेस युनियनको बैठकलाई सम्बोधन गर्न पुगेका कांग्रेस नेता शेखर कोइरालाले जनकपुरमा सय सिटभन्दा तल झरेर सहमति गरेर विद्रोह हुने चेतावनी दिए। 

कांग्रेसको यो अडानबीच जसपाका नेताहरू बालुवाटार बैठक छाडेर बिहीबार दिउँसो राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास छिरेका थिए। 

बालुवाटार बैठक छाडेर दिउँसो २ बजे शीतल निवासतिर लागेका उनीहरु अपरान्ह ४ बजेपछि मात्रै फर्किए।

राष्ट्रपतिले पछिल्लो समय सरकारले फेरि दुवै संसदबाट पारित गरेर पठाएको नागरिकता विधेयकबारे छलफलका लागि जसपा नेताहरुलाई बोलाएको बताइएको छ। 

त्यसपछि फेरि बसेको गठबन्धन बैठकमा पनि कुरा मिल्न नसकेको हो। 

नयाँ अडान
जसपा अध्यक्ष यादवले आफूहरु एक्लै उठे पनि मधेश प्रदेशसहितका स्थानबाट १०/१२ सिट त सजिलै जित्ने बताइरहेका छन्। 

मधेस प्रदेश सरकारले स्थापना गरेको मधेस विश्वविद्यालयको बिहीबार वीरगञ्जमा उद्घाटन गर्दै यादवले भने, '३२ सिट हामी लिन्छौँ। सबैको भावनालाई सम्मान गर्दै न्यायोचित सिट बाँडफाँट नभए सत्ता गठबन्धनको औचित्य छैन।'

आफूहरूले प्रतिनिधिसभाका लागि मागेको ३२ सिटबारे दलका शीर्ष नेताबीच छलफल चलिरहेको पनि उनले बताए। 

यादवले यसो भनिरहँदा बिहीबार काठमाडौंमा भएको गठबन्धन बैठकमा जसपाले मधेश प्रदेशसँगै प्रदेश १ का २ जिल्ला पनि मागेको छ।

जसपाले जसपाले मधेस प्रदेशसँगै सप्तकोशी तरेर प्रदेश १ को मोरङ ५ र धनकुटा मागेको हो।

तर काङ्ग्रेसले यी दुईवटा दिन नसक्ने बताएपछि बिहीबार कुरा नमिलेर बैठक उठेको हो। 

धनकुटामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कांग्रेसमा आएका सुनिलबहादुर थापा उठ्न तयार छन्। उनी कांग्रेस सभापति देउवानिकट हुन्।

त्यहाँ माओवादी केन्द्रका हेमराज भण्डारीको पनि बलियो दाबी छ। उनी यदि टिकट नमिले अन्य विकल्प खोजेर पनि चुनावी मैदानमा होमिने योजनामा छन्।

जसपाले यहाँ नेता रकम चेम्जोङलाई उठाउने योजना बनाएको छ। बाबुराम भट्टराईसँग छुटे पनि जसपा अध्यक्ष यादवले पहाडमासमेत आफ्नो उपस्थिति देखाउन चाहेका छन्। त्यही रणनीतिअनुसार उनी धनकुटामा रकमलाई टिकट दिलाउन चाहन्छन्।

धनकुटामा २०७४ को आमनिर्वाचन एमालेका राजेन्द्रकुमार राईले जितेका थिए। त्यसबेला पराजित सुनिलबहादुर यो पटक गठबन्धनको बलमा संसदमा आउने रणनीतिसहित अभियानमा छन्। 

सप्तरी २ मा जनमत पार्टीका सिके राउत पनि उठ्ने भएपछि जसपा अध्यक्ष यादवले असुरक्षा महसुस गरेका छन्। 

त्यसको विकल्पका रुपमा जसपाले अध्यक्ष यादवका लागि मोरङ ५ पनि हेरेको छ। 

विराटनगरबाट राजनीति थालेका उनी सप्तरीमा असुरक्षित लागे मोरङ ५ बाट उम्मेदवार बन्ने तयारी छ। त्यसकै लागि उनको नाम जसपाले मोरङ ५ बाट सिफारिस गरिसकेको छ।

प्रतिनिधिसभा चुनावका लागि मोरङ ५ बाट नेपाली कांग्रेसका केन्द्रीय अमृत अर्याल र पूर्व केन्द्रीय आमन्त्रित सदस्य हसन अन्सारीको नाम सिफारिस भइसकेको छ। 

मोरङ–५ बाट एमालेले योगेन्द्र मण्डल, मनोज अग्रवाल र राधा पासवानको नाम सिफारिस गरेको छ। 

मधेश आन्दोलनबाट आएका यादव २०६४ सालको संविधानसभा निर्वाचनमा मोरङ ५ बाट विजयी भएका थिए। 

तर उनी २०७०  को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस नेता अमृत अर्यालसँग पराजित भएका थिए। 

यादवले २०७४ सालमा सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट जितेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .