ad ad

राजनीति


‘गठबन्धनबाट सय सिट नलिए कांग्रेसमा विद्रोहको अवस्था आउँछ’

निर्वाचन घोषणा गरेर संसदको म्याद थप्न खोज्नु हाँस्यास्पद
‘गठबन्धनबाट सय सिट नलिए कांग्रेसमा विद्रोहको अवस्था आउँछ’

फाइल तस्बिर


नेपालखबर
भदौ २३, २०७९ बिहिबार १३:११, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एक सयभन्दा कम सिट लिएर चुनावमा जाने हो भने पार्टीमा विद्रोह हुन सक्ने बताएका छन्। 

बिपी जन्मजयन्तीको अवसरमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले जनकपुरमा गरेको 'बीपी विचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अबका चुनौती' बिषयक विचार गोष्ठीलाई बिहीबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

'यो गठबन्धन विचित्रको छ। एकातिर जननायक बीपी कोइरालाले दिनु भएको विचार र सिद्धान्त बोकेको कांग्रेस छ। अर्कातिर आफूलाई कम्युनिष्ट भन्नेहरु छन्', उनले भने, 'उनीहरूसित हाम्रो केही कुरा पनि मिल्दैन। विचार र सिद्धान्त नमिले पनि गठबन्धन गर्यौँ।'

डा. कोइरालाले संसद पुन:स्थापनाको एजेन्डा सकिएपछि अब एमालेलाई हराउन र सरकार बनाउनकै लागि यो गठबन्धन बनेको पनि तर्क गरे। 

'गठबन्धनबारेमा कांग्रेसमा धेरै छलफल भएको छ। स्थानीय चुनावमा पनि गठबन्धन गरेको हो। त्यसबेला स्थानीय आवश्यकता अनुसार गठबन्धन भएको थियो। तर अहिले केन्द्रले नै गठबन्धन गर्ने निर्णय गरेको छ।'

भिडिओ

उनले यो गठबन्धन गरेर पनि कांग्रेसले एकल बहुमत ल्याउन नसकेमा विद्रोह र विग्रह हुने बताएका छन्। 

'यो गठबन्धन एकल बहुमत ल्याउन गर्ने हो। पाँच वर्ष स्थायी सरकार दिन्छौँ भनेका छौँ', उनले भने, 'सरकार बनाएर जान मात्रै गठबन्धन सोचेको भए त्यसले हामीलाई अफ्ठ्यारो पार्छ। बहुमत बनाउन कांग्रेसले सय सिट लिनुपर्छ, नत्र हुँदैन।'

कोइरालाले माओवादी र समाजवादीहरु कांग्रेसलाई सय सिट दिन तयार नभएको पनि बताएका छन्। 

'उहाँहरु सय सिट दिन तयार हुनुहुन्न। हामीले १६५ सिटमा उठ्यौँ भने पनि नपुग्ने अवस्था छ', उनले भने, 'तालमेल गर्दा धेरै सिट घट्न सक्छ। त्यसले हामीबीच विग्रह र विद्रोह आउँछ। कांग्रेसमा समस्या बढ्न सक्छ।'

उनले कांग्रेसमा आउन सक्ने संकटबारे पटक पटक नेतृत्वलाई राखेको पनि बताए। 

'हामीले पटक पटक यी कुराहरुलाई राखेका छौँ। आज र भोलिमा हामीले केही न केही निर्णय गर्नैपर्छ', उनले भने, 'असोज २ मा समानुपातिकको उम्मेदवारी दर्ता छ। अहिले कांग्रेस अत्यन्त अफ्ठ्यारो परिस्थितिमा अघि बढिरहेको छ।'

 फरक प्रशंगमा कोइरालाले वैदेशिक नीतिबारे फरक मत भएर पनि गठबन्धन भएको उल्लेख गरे। उनले वैदेशिक नीतिमा पनि गठबन्धन दलबीच न्यूनतम् सहमति हुनुपर्नेमा जोड दिए। 

डा. कोइरालाले निर्वाचन घोषणा भइसकेको अवस्थामा संसदको म्याद थप्ने प्रयासलाई हास्यास्पद भन्दै व्यंग्य पनि गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .