निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा पनि अहिलेको संसदलाई आगामी फागुनसम्म लैजाने पाँच दलीय गठबन्धनको निर्णयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आपत्ति जनाएका छन्।
मंसिर ४ का लागि एक महिनाअघि नै निर्वाचन घोषणा भएको अवस्थामा अझै संसदको आयु लम्ब्याउने खेल भइरहेका बेला त्यसको विरोधमा उत्रिएका उनले सांसद पदबाट राजीनामा पनि दिएका छन्।
'संसदको यो कार्यकालको यो अन्तिम उपस्थिति र अन्तिम कुरा राख्न म यहाँ उपस्थित भएको छु। चुनाव घोषणा भइसकेपछि यही तरिकाले संसद चलिरहनु र जीवित भइरहनु उपयुक्त हुँदैन', उनले भने, 'प्रजातन्त्रमा विश्वास राख्ने दलहरुले निष्पक्ष निर्वाचनमा विश्वास गर्छन्। तर संसद राखिराखेर निष्पक्ष निर्वाचन हुन सक्दैन। अब म चाहिँ संसदमा आउँदिन। पार्टीको अध्यक्ष पनि छु। मैले पहिले पनि भत्ता पकाउनका लागि संसद आउँदिन भनेको हो।'
उनले संसदको आयु मंसिर ४ गतेपछि पनि राख्ने भन्ने प्रक्रिया सुरु भएकोमा आपत्ति जनाए।
'सरकारको यो निर्णयले मलाई लज्जित बनाएको छ। बाटोबाटै मैले संसद छाडेँ भन्नु उचित हुँदैन', उनले भने, 'म यहीँबाट भन्छु आजबाट सांसदका रुपमा यहाँ उपस्थित हुने छैन। सभामुख महोदय र सचिवालयलाई आग्रह गर्दछु मेरो नाममा तलब भत्ता सुविधा रोक्का गरियोस्। मैले अब निवेदन दिनुपर्ने भए म निवेदन दिएर बाहिरिन्छु।
उनले आफू राप्रपा अध्यक्ष पनि भएकाले बेकामे बनिसकेको संदमा भत्ता पकाउनका लागि नआउने पनि बताए।
गठबन्धन सरकारले गरेको अनैतिक काममा आफ्नो संलग्ननता नहुने पनि बताए। 'यस्तो प्रकारको अनैतिक काममा सहभागी हुन मेरो अन्तरआत्माले मानेन। यो सबै चिज त्याग गर्न म यहाँ उपस्थित भएको छु', उनले भने, 'यो पाँच वर्षे कार्यकालमा अनेक अनुभव भएका छन्। कयौँ नीतिगत कुरामा उपेक्षा गरेको ठाने पनि आममानिसबाट स्नेह र सद्भाव पाएँ।'
उनले संसदमा रहँदा पछाडि राखिएको आफूलाई समर्थन र विरोधमा ढ्या ढ्याप बजाउने टेबल पनि नदिएको गुनासो गरे। 'ढ्याप ढ्याप हान्ने टेबुल पनि छैन। तर कुनै पनि दलको सांसदबाट उपेक्षाको महसुस गर्नुपरेन', उनले भने, 'यहाँहरु सबैलाई आगामी संसदमा विजय र उपस्थितिका लागि शुभकामना! म पनि प्रयास गर्ने छु। बलियो पार्टीका रुपमा आउन गलत निर्णय रोक्न काम गर्नेछु।'
उनले आगामी संसदमा देश हितविपरीतका निर्णय हुन नदिने गरी पार्टीलाई जिताउन क्रियाशील हुने भएकाले आफू अब सांसदक रुपमा नरहने बताए।
Shares

प्रतिक्रिया