स्कुल, कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तरगत आज मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने ५ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
बिहान साढे ५ बजेदेखि साढे ८ बजेसम्म गरिएको चेकजाँचमा मापसे गरेका चालक कारबाहीमा परेका हुन्।
मापसे गरेर स्कुल बस चलाउने चालकहरूमा काठमाडौँको कलंकीस्थित एलआरआई स्कुलको बाग्मती प्रदेश ०१–००३ क ९१ ५७ नम्बरको बसका चालक राज कुमार पण्डित, धोविघाटस्थित आइडल मोडेल स्कुलको बा ५ क ९७ ९८ नम्बरको बसका चालक राजेश थापा, आइडल मोडेलकै बा १ क ६४ १६ नम्बरको अर्को बसका चालक कृष्ण बहादुर सुनार, तीनकुनेस्थित कौटिल्या स्कुलको प्रदेश ३–०१–०३३ च ९९७ नम्बरको बसका चालक गणेश भण्डारी र चोभारस्थित मोर्डेन इन्डियन स्कुलको बा ३ क ४६ १६ नम्बरको बसका चालक घना दोर्जे लामा रहेका छन्।
मापसे गरेर स्कुलका सवारी साधन चलाएका चालकलाई नियन्त्रणमा लिइ नियम अनुसार कारबाही गरेर सम्बन्धित स्कुललाई जानकारी गराई अर्को चालक मार्फत विद्यार्थीहरुलाई गन्तव्यमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।
यस्तै, चेकिङकै क्रममा अन्य ट्राफिक नियम उल्लंघन गर्ने १२ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ।
ट्राफिक प्रहरीले साउन ३० गतेबाट शुरू गरेको स्कुल, कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अभियान अन्तरगत मापसे गरि सवारी साधन चलाउँदै गरेका ३१ जना स्कुल बसका चालकलाई हालसम्म कारबाही गरि सकेको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताएका छन्।
Shares

प्रतिक्रिया