पाँच दलीय गठबन्धन सरकारले अहिलेको संसदको आयु मंसिर ४ को चुनावपछिसम्म लैजान लागेपछि असन्तुष्टि जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले राजीनामा दिने भएका छन्।
उनले राजीनामा दिनुअघि आइतवार २ बजेपछि बस्ने प्रतिनिधिसभाको बैठकलाई अन्तिम सम्बोधन गर्ने भएका छन्।
निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा कामचलाउमा परिणत भइसकेको गठबन्धन सरकारले संसदलाई मंसिर ४ भन्दा पछि लैजाने कुरा असंवैधानिक भएको भन्दै विरोध भइरहेका बेला लिङ्देनको राजीनामा आउन लागेको हो।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पार्टी अध्यक्षसमेत रहेका लिङ्देनले आजको संसद बैठकमा सम्बोधन तयारी गरिरहेको बताएका छन्।
तर उनले लिङ्देनको राजीनामाबारे स्पष्ट कुरा खुलाउन चाहेनन्। उता लिङ्देनले भने निर्वाचन घोषणा भएको अवस्थामा काम चलाउन बनेको सरकारले गर्ने निर्णय निष्पक्ष हुन नसक्ने कुरा संसदमा उठाउने भएका छन्।
प्रतिनिधिसभालाई मंसिर ४ भन्दा पछि लैजानु गैरकानुनी र संविधानविपरीत हुने कुरा संविधानविद डा. भीमार्जुन आचार्यसहितले बताइरहेका छन्।
लिङ्देनले यो संसदको आयु आगामी फागुन महिनासम्म तन्काउने गरी विधेयक अघि बढाएपछि राजनीतिक र कानुनीवृत्तमा असन्तुष्टि देखिएको छ।
यही असन्तुष्टिबीच लिङ्देनको राजीनामा आउन लागेको हो। लिङ्दे २०७४ को प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए। उनले त्यसबेला कांग्रेसका कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए।
Shares

प्रतिक्रिया