ad ad

राजनीति


ओलीले शुभकामना दिनुभयो, प्रचण्डले देश सम्हाल्न आउनुपर्छ भन्नुभएको छ : रेखा थापा (अन्तर्वार्ता)

‘हिम्मतवाली रेखा थापाले अब आफ्नै जन्मस्थानलाई पे ब्याक गर्ने बेला भयो’
ओलीले शुभकामना दिनुभयो, प्रचण्डले देश सम्हाल्न आउनुपर्छ भन्नुभएको छ  : रेखा थापा (अन्तर्वार्ता)

तस्बिर : विशाल कार्की/नेपालखबर


नेपालखबर
भदौ १८, २०७९ शनिबार १७:३४, काठमाडौँ

नायिका एवं राप्रपा केन्द्रीय सदस्य रेखा थापालाई सिंगै देशले चिन्छ तर उनी जन्मेको ठाउँ (सलकपुर, मोरङ) लाई देशले चिन्दैन।  ‘हिम्मतवाली रेखा’ ले अब आफू जन्मेको ठाउँलाई ‘पे ब्याक’ गर्ने भएको उनी बताउँछिन्।

रेखा थापा आगामी मंसिर ४ मा हुने चुनावमा मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिभिसभामा चुनाव लड्ने तयारीमा छिन्। राप्रपाले उनको नाम सिफारिस गरेर केन्द्रमा पठाइसकेको छ।

कलाकारिताबाट नाम र पहिचान कमाएकी रेखाले राजनीतिमा हाम्फालेको लगभग डेढ दशक हुन लाग्यो। अब उनी संसदमा प्रवेश गर्न चाहन्छिन्।

राजेन्द्र लिङदेनको नेतृत्वको राप्रपामा केन्द्रीय सदस्य रहेकी रेखालाई समानुपातिकको सूचीमा सुरुआती नम्बरमै राखेर संसद प्रवेश गराउन पार्टी नेतृत्व तयारै देखिन्छ । किनभने, देशका हरेक भागमा हुने राप्रपाका सभामका रेखाका पोष्टर टाँगिँदै आएका छन्।

तथापि रेखाले भने समानुपातिकको सुविधाभोगी बाटो छाडेर एमाले– कांग्रेसको प्रभाव रहेको मोरङ ३ मा चुनाव लड्ने जोखिमपूर्ण बाटो रोजेकी छिन्।

तर, उनी आफूले चुनाव जित्ने दाबी गर्छिन्।

अघिल्लो साता बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी रेखा थापाले आफूलाई ओलीको समेत शुभकामना रहेको बताइन्। विगतमा माओवादीमा रहँदा प्रचण्डले तपाईहरु जस्ता युवा देश सम्हाल्न अगाडि आउनुपर्छ भनेको सम्झँदै रेखाले प्रधानमन्त्रत्री शेरबहादुर देउवासँग भने प्रत्यक्ष कुराकानी नभएको सुनाइन्।

आगामी मंसिर ४ मा मोरङ ३ बाट एमालेका तर्फबाट पूर्वसांसद एवं पूर्वमन्त्री भानुभक्त ढकाल चुनाव लड्ने चर्चा छ। गठठबन्धनका तर्फबाट कांग्रेसका मेडिकल व्यवसायी सुनील शर्माको नाम चर्चामा छ। एमाले, कांग्रेस र माओवादी समर्थकको भोटसमेत आफूले पाउने र चुनाव जित्ने रेखाको दाबी छ।

एमाले–कांग्र्रेसका ‘हेभीवेट’ ढकाल र शर्मासँग युवापुस्ता माझ परिचित ‘सेलिब्रेटी’  रेखा थापा मैदानमा उत्रेपछि मोरङ ३ को चुनाव रोचक हुने देखिएको छ। युवाहरुले रेखाको आगमनलाई स्वागत गर्न थालिसकेको उनी बताउँछिन्।

आखिर रेखा थापाले मोरङ क्षेत्र नम्बर ३ नै किन रोजिन् त ? यसबारे नेपालखबरले गरेको भिडियो कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छ: 

तपाईले प्रतिनिधिसभाको चुनावमा मोरङ क्षेत्र नम्बर ३ बाटै उठ्ने निर्णय गर्नुको कारण के हो ?

हुन त एउटा कलाकारको सिंगो भूगोल नै आफ्नो हुन्छ। मलाई धेरै ठाउँबाट उम्मेद्वारी सिफारिसका लागि सरसल्लाह भएको थियो। काठमाडौंको २ नम्बर क्षेत्रबाट पनि छलफल भइरहेको थियो । मोरङकै क्षेत्र नम्बर ६ बाट पनि साथीहरुले आज विहान मात्रै फोन गरेर यहाँ एकदमै डिमान्ड छ भनिरहनुभएको थियो। जाजरकोटबाट पनि भनिरहनुभएको थियो। तर, म जन्मिएको ठाउँबाट साथीहरुले विश्वास र भरोसाका साथ सिफारिस गर्नुभयो।

मलाई जिल्ला र प्रदेशका साथीहरुले सिफारिस गरेर पठाउनुभएकाले म उहाँहरुप्रति आभार प्रकट गर्न चाहन्छु। त्यहाँका जनताको मनोविज्ञान बुझेकै कारणले पनि उहाँहरुले मलाई सिफारिस गर्नुभएको हो।

म मोरङ क्षेत्र नम्बर ३ म जन्मेकी, हुर्केकी हुँ। मेरा घरपरिवार, दाजु यतै हुनुहुन्छ।  पहिलो चोटि चुनावमा भाग लिन गइरहेकाले मेरो प्राथमिकता म जन्मेको क्षेत्र हुन्छ भन्ने कुरा मैले महसुस गरेकी छु। यो मेरो जिम्मेवारी पनि हो। तपाई १०–१५ वर्षदेखि राजनीतिक क्षेत्रमा हुनुहन्छ, तपाईले आफ्नो क्षेत्र र देश र भूगोलको धेरै कुरा बुझिसक्नुभएको छ, तपाईलाई हामी चाहन्छौं भन्ने जनआवाज भएका कारणले पनि म आफ्नै जन्मभूमिमा मेरो भाग्य परीक्षा गर्न र जनताको मत लिन त्यहाँ गइराखेकी छु।

हाम्रो क्षेत्रमा प्रायः टुरिस्ट नेताहरु मात्रै भए।  यो क्षेत्रले यहीँको नेतृत्व पाइरहेको छैन। मोरङको माटोले कति प्रधानमन्त्रीहरु जन्मायो। कति मन्त्रीहरु जन्मायो। भन्ने बेलामा त के पनि भनिन्छ भने मोरङको माटो भनेको नेता जन्माउने ठाउँ हो, चाहे त्यो जुनसुकै दलको नेता किन नहोस्।

 

 

यो हिसाबले पनि मेरो जिम्मेवारी र मेरो भाग्य परीक्षा म त्यहीँबाट अजमाउन चाहन्छु। मेरा आफन्तहरु त्यहीँ हुनुहुन्छ। मेरा साथीभाइहरु त्यहीँ हुनुहुन्छ। यहाँ मैले गर्नुपर्ने धेरै काम छ। कलाकारको हिसाबले मैले जुन ख्याती कमाएँ, त्यहीँ ठाउँले आज हिम्मतवाली रेखा जन्माएको ठाउँ हो। तर, त्यही ठाउँलाई अब मैले ‘पे ब्याक’ गर्ने बेला आएको छ। 

म सानो हुँदादेखि नै मैले देखेका त्रुटिहरु, विकास नभएका पूर्वाधार, शिक्षा, स्वास्थ्य रोजगारीमा भएका अभावका विषयमा मैले महसुस गरेकी छु । चाहे यो सुुकुम्बासी समस्या किन नहोस् । यो समस्यालाई निर्मूल गर्नका लागि त्यही माटोमा लत्पतिएको मानिस त्यो ठाउँलाई आवश्यक छ ।

राजमार्गको छेउमा कति मानिसहरु लालपूर्जा विहीन भएर बसेका छन् । यो विषयमा पनि आज भन्दा चार वर्ष अगाडि रेखा तिमीले केही गर्न सक्छौ कि गरिदेऊ भनेर मेयर साहेबहरुसँग पनि कुरा हुन्थ्यो । म नीति नियम बनाउने ठाउँमा नपुगिकन मेरो क्षेत्रको होस्, देशको होस्, समस्या समाधान गर्न सक्दिनँ ।

पहिचानको अथवा धन कमाउने खाँचो भएर जुन व्यापारिक हिसाबको राजनीति अहिले भइरहेको छ, यसबाट मुक्त गराउनका लागि पनि मैले आफ्नै क्षेत्रबाट, मोरङ ३ नम्बरबाट उम्मेवारी दिने निर्णयमा पुगेकी छु । म यहाँका आफन्तहरुको समस्या पूर्णरुपमा समाधान गर्छु भन्ने विश्वास पनि दिलाउन चाहन्छु । मलाई त्यहाँका समस्याहरु थाहा छ ।

सेलीब्रेटी भएकाले धेरै ठाउँबाट चुनाव लड्ने अफर आएको हो कि ?

सेलीब्रेटी भएर पक्कै होइन होला । मभन्दा धेरै चर्चित मानिसहरु छन् यो देशमा । ख्याती कमाउनु, पहिचान मात्रै हुनु र नेतृत्व बहन गर्न सक्नु भिन्नाभिन्नै कुरा हुन् ।

म विगत २१, २२ वर्षदेखि चलचित्र क्षेत्रमा लागें । यो क्षेत्रमा नेतृत्व दिन सक्ने ममा क्षमता छ भन्ने कुराको महसुस गरेरै मलाई हरेक जिल्ला या प्रदेशका साथीहरुले चुनावमा के छ विचार भन्दाखेरि मेरो प्राथमिकता जन्मस्थानमै हुनुपर्छ भन्ने मलाई लागेको हो ।

म अरु साथीहरुलाई निरशा बनाउन पनि चाहन्नँ । देशव्यापी रुपमा जाँदा जो जो उठे पनि मेरै साथीहरु उठ्नुहुन्छ । उहाँहरुलाई मेरो शुभकामना छ । उहाँहरुलाई पनि मेरो साथ सहयोग त भइ नै हाल्छ । तथापि मेरो प्राथमिकताको विषय भनेको मोरङ क्षेत्र नम्बर ३ नै हो ।

स्थानीय चुनावको मत हेर्दा मोरङ ३ मा राप्रपाको निकै कम देखिन्छ । त्यहाँ कांग्रेस र एमालेको बाुहल्य छ। माओवादी तेस्रोमा छ। अलिकति एकीकृत समाजवादी र जसपा पनि छ । तपाईले जित्ने सम्भावना होला र ?

समुद्रमा बोट (डुंगा)  हुन्छ । त्यो जहाज समुद्रमा छिरिसकेपछि जहाजभित्र बोट हुँदैन कि समुद्रमाथि चाहिँ बोट हुन्छ । समुद्रको लहर कतातिर जान्छ, बोट त्यतैतिर जान्छ । त्यसैले अहिलेको वेध भनेको मानिसहरुमा चेतना आइसकेको छ । मानिसहरु परिवर्तन चाहन्छन् । मान्छेहरुमा राजनीतिक चेतना यति उठिसकेको छ कि मान्छेले पार्टीको झण्डा भन्दा पनि व्यक्ति हेर्ने बेला आएको छ । र, आफ्नो स्थानीय क्षेत्रका मानिस हेर्ने बेला आएको छ ।

स्थानीय तहको निर्वाचनमा कसले हार्यो, कसले जित्यो, हामीसँग आँकलन त छ नि त । कति ठाउँहरुमा गठबन्धन भए पनि केही फरक परेन । काठमाडौं महानगरको चुनावले पनि त्यही देखाउँछ । मानिसहरु परिवर्तन खोज्न तयार छन् तर नयाँ अनुहार पाइरहनुभएको छैन । 

रेखा थापा मोरङ–३ बाट उम्मेदवार बन्ने समाचार सञ्चार माध्यममा आइसकेपछि कस्तो ‘रेस्पोन्स’ पाइरहनुभएको छ?

एकदमै धेरै आइरहेको छ। मलाई धेरै राम्रो रेस्पोन्सहरु आइरहेको छ। तिमी हिम्मत नहार, तिमी एउटा क्षेत्र नम्बर ३ को मात्रै छोरी होइन, सिंगो देशको छोरी हो। निर्वाचनमा तिम्रो उपस्थितिले सारा नेपाली चेलीहरुलाई ऊर्जा दिन्छ। तिमी हार्नु भनेको मेरी छोरी हार्नु हो, अबको १० वर्षसम्म मेरा छोरीहरु निराश हुन्छन्, तिमीलाई जिताउने जिम्मेवारी हाम्रो हो भन्दै हुनुहुन्छ।

पराजित हुँदा म निराश हुन्नँ। यसै पनि आत्मविश्वासी केटी हो। तर, म हारेँ भने साना साना नानीहरु निराश भएको जिम्मेवारी ती आमाहरुले लिनुपर्छ भन्ने मेरो सोचाई हो।

किनभने म हरेक अर्को जेनेरेसनलाई हिरो देख्छु। अर्को जेनेरेसनलाई खडा गर्नका लागि पनि मेरो उम्मेदवारी हो। म जस्तै मञ्चमा उभिएर र मजस्तै नेता बन्छु भन्ने त्यो अर्को जेनेरेसन खडा हुनुपर्छ भन्नका लागि पनि म मैदानमा उत्रिएको हो। होइन भने त मलाई समानुपातिक पनि सहजै छ नि त।

तपाईं राप्रपाबाट समानुपातिकको १÷२ नम्बरमा बसेर सांसद हुन सक्नुहुन्थ्यो। तर, एमाले र कांग्रेस बाहुल्य रहेको ठाउँमै किन जोखिम मोल्दै हिँड्नुभएको?

सांसद बन्नु नै मेरो लक्ष्य होइन। मेरो उपस्थितिले, मेरो यो अभियानले हरेक छोरी मान्छेहरु जागरुक हुनुपर्छ। हरेक युवाले आफ्नै देशमा रोजगारी प्राप्त गर्नुपर्छ। हरेक मान्छेले आफूले चाहेको जिन्दगी बाँच्न पाउनुपर्छ भन्ने मेरो मान्यता हो। मेरो यो उपस्थितिले मेरा हरेक बहिनीहरुमा एउटा ऊर्जा आओस् र उनीहरुले म पनि म जस्तै बन्न सकुन्।

म मोरङ जाँदा एउटी सानी नानीले तपाईंजस्तै टप एक्टर बन्छु भनिन्। ऊ टप एक्टर बन्छे, भोलि म नेता बनिरहँदा। यो देश सम्हालिरहँदा। यो देश हाँकिरहँदा ती बच्चीले सपना देख्न सक्नुपर्यो कि हामी पनि रेखा थापाजस्तो बन्न सक्दा रहेछौँ। यो मेरा लागि होइन, अब आउने जेनेरेसनका लागि हो मेरो कदम।

तपाईंको चलचित्रको स्क्रिप्ट ‘एङ्ग्री वुमन’ को हुन्छ। केही गर्नका लागि पुरुष नै चाहिन्न, महिलाले पनि गर्न सक्छन् भन्ने सन्देश दिने चलचित्र खेल्दै आउनुभएको छ। कतै त्यही कारणले त होइन तपाईंलाई बच्चाहरुले त्यसो भनेको?

सायद त्यो पनि हो। यो देशका हरेक छोरीहरु निरासा र विरासतको जिन्दगी बाँच्नुहँुदैन भन्ने मेरो मान्यता हो। हामी कसैसँग परनिर्भर भएर युगौंयुगदेखि बाँचिरहेका छौँ। मेरी आमा पनि त्यसरी बाँच्नुभयो, मेरी हजुरआमा पनि त्यसरी नै बाँच्नुभयो । कसैको आशिर्वादले बाँच्ने जिन्दगी होइन हाम्रो। हामी आफैँ पनि प्रतिष्पर्धा गर्न सक्छौँ भनेर यो धर्तीमा जन्मिएका छौँ। हामी पनि मानिस हौँ। हामीलाई मानिस सरह व्यवहार हुनुपर्छ। महिला र पुरुषको प्रतिष्पर्धा छैन यहाँ। म महिलाहरुलाई आत्मजागरणको विषयमा विगत २२ वर्षदेखि काम गरिरहेकी छु।

मेरो राजनीतिक यात्रा भनेको नट वन्ली वुमन, युवामा पनि राजनीतिक चेतना आउनुपर्छ। युवाले पनि राजनीतिमा चासो राख्नुपर्छ। कुनै क्लवमा, कुनै चिया पसलमा, कुनै चौतारोमा बस्दा हामी अब भावी दिनमा कस्तो नेतृत्व चाहने? हामीले कसलाई चान्स दिने? हामी अमेरिकाको फलो गर्छौँ, हामी पश्चिमा देशको अनुशरण गर्छौँ । हामी विकास हुने कुरामा, परिवर्तन हुने कुरामा किन फलो गर्दैनौँ? हामीलाई विदेशबाट मगाएको लुगादेखि लिएर खानासम्म उताको चिजले प्रभावित गर्छ भने विकास गर्ने कुरामा, समृद्ध हुने कुरामा उताको किन अनुशरण नगरेको? अब सम्पूर्ण युवा, सम्पूर्ण बुवाआमा, सम्पूर्ण दिदीबहिनी, सम्पूर्ण दाजुभाइहरुले हिजो जसलाई जिताउनुभयो, उसले काम गरेको छैन भने फेरि पनि उसैलाई जिताएर किन गुनासोको जिन्दगी बाँच्ने आगामी ५ वर्षसम्म?

अब त यो अन्तिम चुनाव पनि हुनसक्छ। देश खतरामा जानपनि सक्छ भन्ने कुराको हेक्का नेपाली जनताले कहीँ न कहीँ संकेत पाइसक्नु भएको छ। मलाई लाग्छ, जुन क्षेत्रमा हामी २÷४ दिन घुमेर, डुलेर, कुनै व्यक्तिलाई आर्थिक प्रलोभनमा पारेर, त्यो व्यक्तिलाई जिताएर के विकास भयो त? के फरक पार्यो त्यो जितले? अहिले पनि खाडी मुलुक जान छाडेको छैन। अहिले पनि मलाई मोरङबाट धेरै युवाको फोन आइरहेको छ, मलाई यहाँ जानपर्यो, उहाँ पठाइदेऊ भनेर। तर म उनीहरुलाई पठाउन चाहँदिनँ। त्यही उद्योग, कृषि गरेर रोजगारी दिलाउन सकिन्छ। तर, त्यसका लागि आत्ममा हरि भएको नेता त छान्न पर्यो नि। आत्मसाक्षी राखेर भोट त दिनपर्यो नि। म  त त्यहीँको मान्छे हो।

रेखा थापा यो देशको भुगोलले माया गरेको छोरी हुँ। मैले अरुले जस्तो गलत गर्ने छुट छैन। एउटा वाक्य, फेसबुक वा सामाजिक सञ्जालमा रेखा थापालाई जिताएर पठायौं, केही गरिन भनेर लेख्यो भने मेरो करियर चौपट हुन्छ। न रेखा थापा रहन्छे, न नेता रहन्छ। यस्तो मान्छेलाई चुन्नुपर्यो, जसको इज्जत पनि छ। जसले काम गरेन भने एउटा वाक्य नै पर्याप्त हुन्छ।

‘रेखा थापालाई हामीले जिताएर पठायौं, उसले काम गरेन भने सक्किएन।’ भन्ने नेताहरुलाई वर्षौंदेखि मैले पनि गाली गरेकी छु । मेरी आमाले पनि गाली गर्नुभएको छ । दिदीले पनि गाली गर्नुभएको छ भनेपछि उनीहरुलाई के फरक पर्ने भयो र? इज्जत त हुनुपर्यो होला नि।

हाम्रो राजनीतिक उपस्थितिले समाजमा प्रभाव पार्नुपर्छ। अबको जेनेरेशन राजनीतिमा आएको कारण भनेको अलिकति आत्मामा हरि हुनुपर्छ भन्ने हो। जनतालाई हामी मालिक हौं र सेवक पनि हुँ भन्ने विचार हुनुपर्छ। जनप्रतिनिधि भनेको मालिक होइन नि त। समस्या एकातिर विकराल छ, अर्कोतिर जनप्रतिनिधिको हैरानी त्यस्तै छ। हामी अझैपनि त्यही जनप्रतिनिधिलाई जिताइरहने, यकपटक सेट अप चेन्ज गरौं न भन्ने मेरो अनुरोध हो।

मोरङ ३ मा के गर्छु भनेर घोषणापत्र तयार गर्दै हुनुहुन्छ?

म गर्दैछु। म मालिक होइन सेवक हुन चाहने मान्छे हो। त्यहाँको जनताको समस्या र जनता के चाहन्छन् भन्ने भावनालाई मध्यनजर गरेर घोषणापत्र तयार गर्छु। एकैछिन कसैलाई फुर्काउनका लागि भयकंर मत लिन म घोषणा गर्दिनँ। उहाँहरुको वास्तविक भावना के छ, आवश्यकता के छ भन्ने हेरेर म घोषणापत्र सार्वजनिक गर्छु। त्यसलाई कार्यान्वयन गर्छु, यो छोरीको वचन हो।

अहिलेसम्म पुरुषलाई महत्वको दृष्टिले हेरियो। मेरा बुवा, दाइहरु सबै मेरा लागि आवश्यक हुनुहुन्छ, उहाँहरुकै कारण म आज यहाँ आइपुगेको हुँ। पुरुष मलाई चाहिन्छ, तर अब छोरीमान्छेको राजनीतिक यात्राको नेतृत्वबाट पनि अबको जेनेरेशनले सिकोस् भन्ने मेरो चाहना हो।

तपाईंले अघि झण्डामुनिमात्र कति बस्ने भन्नुभयो। तपाईं पनि राप्रपामा हुनुहुन्छ। कांग्रेस, एमालेका कार्यकर्तालाई तपाई के गर्नुहुन्छ?

मैले झण्डा भनेको मतलब के हो भने, हामीले पुरानो दलको झण्डामुनि बसेर ती कार्यकर्ताले के प्रत्याभुति गरे नेताबाट भन्ने हो। मैले त्यही क्षेत्रबाट जसलाई जिताएर पठाइयो त्यो मान्छेले काम गरेन भन्ने गुनासो सुनेँ नि त मैले। त्यसकारण त्यो झण्डामुनि बसेर के फाइदा भयो त? हामीले झण्डामुनि बसेर नेतृत्वलाई मत्यायौं कि? काम गर्न नसक्ने अशक्त बनायौं कि? यदि सशक्त बनाउने हो भने हामीले यो पटक मत परिवर्तन गर्नुपर्छ भन्न खोजेको हो।

के पनि ग्यारेन्टि दिन्छु भने झण्डामुनि बसेर बन्दी हुने मेरो चरित्र छैन। हिजो म कुनै झण्डामुनि थिएँ होला, त्यो झण्डाले परिवर्तन नगरेपछि मैले परिवर्तन गरेँ। म बहादुर मान्छे हो। मलाई कोहीसँग डर पनि छैन। अहिले म देशकै झण्डामा छु। राष्ट्रिय प्रजातन्त्र पार्टी सारा नेपालीहरुको पार्टी हो। राष्ट्रियता बोकेको पार्टी हो, मौलिकता बोकेको पार्टी हो।

आफ्नो क्षेत्रका समस्या तपाईं सिधै ओली, देउवा र प्रचण्डसँग भन्न सक्नुहुन्छ?

ओलीसँग पनि भेट भएको थियो। उहाँले मलाई धेरै शुभकामना दिनुभएको छ। तपाईंहरुजस्तो मान्छे आउनुपर्छ भन्नुभएको छ। प्रचण्डले पहिलादेखि नै यो देश सम्हाल्न आउनुपर्छ भन्नुभएको छ।

तर, मैले पर्सनल्ली देउवासँग भेट गर्न पाएको छैन। तर, उहाँहरुको आशिर्वाद लिन्छु। म उहाँहरुलाई सहयोग गर्न तयार छु। उहाँहरुलाई पनि हामीजस्तो युवा आवश्यक छ जस्तो मलाई लाग्छ।

सबैको उद्देश्य देश बनाउने हो। त्यसकारण हामीलाई वृद्ध र जवान दुबै चाहिन्छ। हामी युबै युवा मात्र भयौं भने पनि हुँदैन। हामीलाई अभिभावक पनि चाहिने भएकाले सहकार्यमा काम गर्नुपर्छ। म मेरो क्षेत्रको मात्र नभई मेरो देशकै समस्या राख्न सक्छु, रेखा थापा बनेर त्यसका लागि मलाई नेता नै हुनुपर्दैन।

भिडिओ:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .