राजनीति


रेखा थापा मोरङ ३ मा भानुभक्त ढकाल र सुनिल शर्मासँग चुनाव लड्ने

रेखा थापा मोरङ ३ मा भानुभक्त ढकाल र सुनिल शर्मासँग चुनाव लड्ने

नेपालखबर
भदौ १४, २०७९ मंगलबार १२:२०, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य रेखा थापा मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्ने भएकी छिन्। 

उनलाई पार्टी जिल्ला कमिटीले क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस गरेको हो। पार्टी केन्द्रको सर्कुलर अनुसार राप्रपाका तल्ला कमिटीले धमाधम उम्मेदवार सिफारिस गरिरहेको छ। 

गत स्थानीय तह निर्वाचनमा उनी अध्यक्ष राजेन्द्र लिङ्देनसँगै चुनावी अभियानमा देशभर दौडिएकी थिइन्।

‘म जस्तो युवा समानुपातिकमा लड्दिँन। प्रत्यक्ष चुनाव लडुछु,’ थापाले नेपालखबरसँग भने, ‘पार्टीले मलाई मोरङ ३ मा सिफारिस गरेको छ। म लड्न तयार छु।’

मोरङ–३ एमाले नेता भानुभक्त ढकालको क्षेत्र हो। यो क्षेत्रमा कांग्रेसका नेता सुनिल शर्मा पनि ०७४ को निर्वाचनमा लडेका थिए। ढकाल यही क्षेत्रबाट लड्ने पक्का भएपनि शर्माको भने अहिलेसम्म टुंगो लागेको छैन्। ढकालको हकमा पनि गुरु बराल लगायतका अन्य नेताहरुले पनि टिकटको दाबी गरेका छन्।

पथरीशनिश्चरे, बेलबारी, सुन्दरहरैचा नगरपालिका र कानेपोखरी गाउँपालिकालाई समेटेर बनेको निर्वाचन क्षेत्र नम्बर ३ मा यसअघि एमाले नेता भानुभक्त ढकाल निर्वाचित भएका थिए। ०७४ को प्रतिनिधिसभा निर्वाचनमा ढकालले ४२ हजार ४ सय १३ मत ल्याउँदा कांग्रेसका सुनिल कुमार शर्माले ४० हजार ५ सय ६ मत ल्याएका थिए। 

स्थानीय चुनावमा वडाध्यक्षहरुले पाएको मत विश्लेषण गर्दा मोरङ ३ मा राप्रपा चौंथो स्थानमा छ। यहाँ नेकपा एमालेले ३७ हजार ४ सय १० मत पाएको थियो भने नेपाली कांग्रेसले २६ हजार ९ सय १६ र नेकपा माओवादी केन्द्रले ७ हजार ३ सय ७३ मत पाएको देखिन्छ। 

राप्रपाको वडागत मत २ हजार १ सय २१ छ भने एकीकृत समाजवादीको १ हजार ८ सय ५५ र जसपाको ४ सय ६३ मत छ। 

रेखा थापाको जन्मस्थान यही निर्वाचन क्षेत्र अन्तर्गत सलकपुरमा पर्छ। आफू हुर्केको ठाउँ भएको र युवाको मत तान्न सक्ने भएकाले चुनाव जित्ने थापाको दाबी छ।

यसैबीच एमाले र राप्रपाबीच चुनावी तालमेलका लागि भित्रि कसरत भइरहेको छ। केहीदिनअघि उनी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेको तस्बिर सार्वजनिक गरेकी समेत थिइन्। 

यहाँ एमालेले राप्रपालाई छाड्ने संभावना भने कम देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .