ad ad

राजनीति


सरकारले होसियारी अपनाउँदा देश श्रीलंका बन्न पाएन :  अर्थमन्त्री शर्मा

सरकारले होसियारी अपनाउँदा देश श्रीलंका बन्न पाएन :  अर्थमन्त्री शर्मा

नेपालखबर
भदौ १८, २०७९ शनिबार १५:३४, काठमाडौँ

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रका सबै सूचकांकहरु सकारात्मक हुँदै गएको दाबी गरेका छन्। सरकारले समयमै होसियारी अपनाएका कारण मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोमा जान नदिएको उनको भनाइ छ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालको अर्थतन्त्र समाप्त नै हुन्छ भन्ने आवाज उठिरहेका बेला सरकारले आवश्यक नीति लिएर त्यसलाई बिग्रन नदिएको बताए।

‘नेपाल श्रीलंका नै हुन्छ, नेपालको अर्थतन्त्र समाप्तनै हुन्छ भनेर ठूल्ठूला आवाजहरु निस्किए। त्यसलाई हामीले आवश्यक नीति लिएर, होसियारी अपनाएर बिग्रन दिएनौं। नेपालको अर्थतन्त्र सुधारको बाटोमा अघि बढिरहेको छ। आर्थिक सूचकांकहरु सकारात्मक बन्दै गइरहेका छन्,’ उनले भने, ‘चाडपर्वको समय आएकाले रेमिटेन्स थपिने र खर्च पनि बढने अवस्था छ। तरलताको समस्या केही हदसम्म कायमै छ। यसलाई सहज बनाउनका लागि समयमै बजेट खर्च गर्ने कुरामा विशेष ध्यान दिएका छौँ। निर्यात प्रवद्र्धनका लागि जुन नीतिहरु सरकारले निर्माण गरेको छ, त्यसलाई कार्यान्वयन गर्न प्रतिबद्ध हुन म व्यवसायीहरुलाई आग्रह गर्न चाहन्छु।’

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले कोभिड कालमा पाएका सेवा, सुविधाहरु सधैं नपाउनेतर्फ उद्योगी, व्यवसायीहरुको ध्यानाकर्षण गराए।

‘उद्योगी, व्यवसायीहरुले कोभिड कालमा पाएका सुविधाहरु सधैं पाउने अवस्था नरहन सक्छ। आर्थिक वृद्धिदर गर्ने भनेको रोजगारीको अवसर सृजना हुने गरी हो। त्यसलाई ध्यानमा राखेर राष्ट्रिय योजना आयोगले आर्थिक वृद्धि र रोजगारीमा त्यसका पारेको प्रभावबारे तथ्यांक नै बनाउने तयारी गरिरहेको छ,’ उनले भने।

उपाध्यक्ष पौडेलले रोजगारी वृद्धिमा योगदान पुर्याउन नसक्ने ढंगले भएका आर्थिक वृद्धिदरको कुनै अर्थ नहुने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .