राष्ट्रियसभाका विषयगत चार समितिको रिक्त सभापतिको यही भदौ २३ गते हुने निर्वाचनका लागि निर्वाचन कार्यक्रम प्रकाशन भएको छ।
राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५० बमोजिम ती समितिको सभापतिको निर्वाचनको मिति तोकेका हुन्। अध्यक्षको निर्देशनका आधारमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले शुक्रबार निर्वाचन कार्यक्रम प्रकाशन गरेका हुन्।
कार्यक्रमअनुसार भदौ २२ गते बिहान ११ देखि साँझ ४ बजेसम्म राष्ट्रियसभाका सचिवको निजी सचिवालय, सिंहदरबारमा उम्मेदवारीको प्रस्ताव दर्ता, सोही दिन ४ः३० बजे प्रस्तावको सूची प्रकाशन र भदौ २३ गते अपराह्न १ बजे सम्बन्धित समितिको बैठककक्षमा प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने तालिका छ।
राष्ट्रियसभामा हाल दिगो विकास तथा सुशासन समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति, विधायन व्यवस्थापन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति पद रिक्त छ। रासस
Shares

प्रतिक्रिया