नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्ने घोषणा पटक-पटक गरिरहेका छन्।
शुक्रबारमात्रै सुर्खेत विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै उनले चितवन–३ बाटै निर्वाचन लड्ने दाबी गरेका छन्।
प्रचण्ड अहिले सुर्खेतमै छन्।
तर, राजधानीमा भने प्रतिनिधिसभा निर्वाचनका लागि प्रचण्डको उम्मेदवारी सिफारिस गोरखा–१ बाट भएको चर्चा ब्याप्त छ।
तर, माओवादी केन्द्र जिसस गोरखाका संयोजक विष्णुभक्त सुरेन्द्र भने यो कुरामा कुनै सत्यता नभएको बताउँछन्। सामान्य छलफल मात्र भएको भएपनि अहिले अध्यक्षको नाम सिफारिस नभएको दाबी नेपालखबरसँग गरेका छन्।
‘कुनै निर्णय भएको छैन्। प्रकिया नै सुरु भएको छैन्,’ सुरेन्द्रले नेपालखबरसँग भने, ‘छलफल चलिरहेको छ। चुनाव घोषणा भर्एपछि छलफल त चल्ने नै भयो।’
केही नेताहरुको चाहना भने अध्यक्षलाई ने गोरखा ल्याउन पाए हुने भन्ने रहेको उनी बताउँछन्।
‘पार्टीकै अध्यक्ष ल्याउनपाए हुन्थ्यो भन्ने पनि साथीहरुको चाहना देखिन्छ,’ सुरेन्द्रले भने।
भएको के हो?
गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउन जिल्लाका केही नेताहरुबीच छलफल चल्यो।
स्थानीय निर्वाचनमा सबैभन्दा बढी पालिका जितेको, माओवादीहरुको अहिलेसम्म सबैभन्दा राम्रो अवस्था रहेको जिल्ला भएकैले प्रचण्डलाई गोरखा ल्याउनुपर्ने उनीहरुको चाहना छ।
त्यही कुरालाई कतिपय नेताले प्रचण्डको नाम सिफारिस गरेको सार्वजनिक पनि गरिदिए। तर, प्रचण्डको नाम सिफारिस गर्ने गोरखा जिल्ला समन्वय समितिको बैठक अहिलेसम्म बसेको छैन।
जिसस संयोजक सुरेन्द्रले अध्यक्ष प्रचण्डको नाम सिफारिस गर्न नेताहरुले सामान्य चर्चा चलाएको बताए।
‘अध्यक्ष गोरखा ल्याउन सक्ने संभावना, गठबन्धनमा भएकोले उहाँलाई ल्याउन पाए हुन्थ्यो भन्ने केही साथीहरुको चाहना छ,’ विष्णुभक्तले नेपालखबरसँग भने, ‘हाम्रो अध्यक्षलाई कम्फरटेबल चुनाव जित्न गोरखा पनि छ है भन्न खोजिएको हो, अहिलेसम्म उहाँकै नाम सिफारिस भइसकेको होइन।’
उनका अनुसार जिसस गोरखाको बैठक आइतबार (भदौ १९) गते बस्दैछ । सो बैठकले उम्मेदवारको नाम सिफारिस गरेर पठाउने उनले जानकारी दिए।
उता, माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेले पनि अहिलेसम्म जिल्लाबाट कुनै नाम सिफारिस भएर नआएको नेपालखबरलाई बताएका छन्।
Shares

प्रतिक्रिया