राजनीति


प्रचण्डलाई राष्ट्रपतिको सुझाव : नागरिकता विधेयकमा पुनर्विचार गर्ने अवसर नगुमा‍ऊँ

प्रचण्डलाई राष्ट्रपतिको सुझाव : नागरिकता विधेयकमा पुनर्विचार गर्ने अवसर नगुमा‍ऊँ

फाइल तस्बिर


नेपालखबर
भदौ १५, २०७९ बुधबार १७:१३, काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकमाथि पुनर्विचार गर्ने अवसर नगुमाउन नेकपा माओवादी केन्द्रका नेताहरुसँग आग्रह गरेकी छन्।

बुधबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मालाई शीतल निवास बोलाएर उनले नागरिकता विधेयकका विषयमा ध्यानाकर्षण भएको बताइन।

सहभागी एक पदाधिकारीले नेपालखबरलाई दिएको जानकारी अनुसार राष्ट्रपति भण्डारीले आफूले विधेयक फिर्ता पठाउनुको कारण उल्लेख गरेर दलहरुले पुनर्विचार गर्ने अवसर खेर नफाल्न भनेकी छन्।

‘नागरिकता विधेयकका विषयमा ध्यानाकर्षण भएको छ, अब भएका सबै मुद्दा समाधान गर्न तपाईँहरुलाई अवसर छ,’ भण्डारीको भनाइ उद्धृत गर्दै ती पदाधिकारीले भने, ‘मैले अन्य कुरामा बुद्धि नपुगेको, कमजोरी गरेको भनेर  स्वीकार गर्छु तर, नागरिकताको विषय राष्ट्रियतासँग जोडिएको छ, संवेशनशील छ, यसमा सोचविचार गरेर विज्ञहरुको राय लिएर कदम चालेको छु।’

भण्डारीले दलहरुले छिट्टै नागरिकताका विषयमा देखिएको समस्या हल गर्ने अपेक्षा राखेको पनि बताइन्।

राष्ट्रपतिको कुरा सुनेपछि अध्यक्ष प्रचण्डले अहिले नेपाली नागरिकलाई नागरिकताविहीन बनाउन नहुने भएर विधेयक पारित गर्न समर्थन गरेको जानकारी दिए।

उनले नागरिकता विधेयकमा राष्ट्रिय सहमति बनाउन पहल गर्ने पनि प्रतिवद्धता जनाए।

‘अहिले ६/७ लाख नागरिकलाई नागरिकता विहीन बनाउने कुरा व्यवहारिक नभएर हामीले विधेयक पारित गराउन भूमिका खेलेका हौँ,’ प्रचण्डले राष्ट्रपति भण्डारीसँग भने, ‘हाम्रो पार्टी अहिले पनि राष्ट्रिय सहमतिको पक्षमा छौँ। तर, जन्मका आधारमा नागरिकता पाएका सन्तानलाई नागरिकविहीन बनाउन मिल्दैन।’

प्रचण्डले नागरिकताको मुद्दामा राष्ट्रिय सहमति प्रयास नछाड्ने दोहोर्‍याए। ‘नागरिकताका विषयमा राष्ट्रिय सहमति बनाउने मुद्दा छोड्दैनौँ,' प्रचण्डले थपे, ‘अर्को सहमति जुटाउन पहल पनि गर्दै अहिले तत्काल दिनुपर्नेलाई नागरिकता दिनैपर्छ। त्यसैले अघि बढाएका हौँ।’

प्रतिनिधिसभाबाट दोस्रो पटक पारित विवादित नागरिकता विधेयकलाई राष्ट्रिय सभाले पारित नगरी थप छलफलका विधायन समितिमा पठाइदिएपछि सत्तारुढ दलले राष्ट्रपतिसँग छलफल गरिरहेका छन्। 

यसअघि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुले पनि नागरिकता विधेयकलाई लिएर राष्ट्रपति भण्डारीलाई भेटिसकेका छन्। 

त्यसपछि बुधबार प्रचण्डसहितका माओवादी नेताहरु शीतल निवास पुगेका हुन्। प्रचण्डसँग पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा तथा उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुन पनि शीतल निवास पुगेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad