प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा रहेका दलहरुको बीचमा सिट बाँडफाँटका लागि गठित कार्यदललाई आपसी सामन्जस्यता मिलाउने गरी काम गर्न आग्रह गरेका छन्।
प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा उनले सिट बाँडफाँटका क्रममा गठबन्धनमा सामन्जस्यता मिलाउने गरी काम गर्न आग्रह गरेका हुन्।
‘कार्यदलमा रहेका पार्टीका साथीहरुलाई गठबन्धनमा सामन्जस्यता मिलाउने गरी वर्कआउट गर्नुस्,’ बैठकमा सहभागी एक पदाधिकारीले सभापति देउवाको भनाइ उदृत गर्दै भने, ‘गठबन्धन चुनाव पछि पनि सँगै जानु पर्छ।’
ती पदाधिकारीका अनुसार सभापति देउवाले गठबन्धनमा रहेका सबै दलहरु लचक हुनुपर्नेमा पनि जोड दिएका थिए।
‘सबै दलहरु फ्ल्याक्निबल हुनुपर्छ भन्ने उहाँ (देउवा) को भनाइ थियो,’ उनले भने।
सभापति देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुलाई गठबन्धनको विपक्षमा नबोल्न पनि भनेका छन्।
‘गठबन्धनमा खिलापमा नबोलौँ,’ उनको भनाइ उदृत गर्दै ती पदाधिकारीले भने, ‘सबैको एक स्वर हुनु पर्यो। गठबन्धन केन्द्रीय कार्यसमितिको निर्णय हो।’
Shares

प्रतिक्रिया