राजनीति


बारले पठायो चोलेन्द्रको महाअभियोग पुष्टि गर्ने ३५ बुँदे प्रमाण (दस्तावेजसहित)

बारले पठायो चोलेन्द्रको महाअभियोग पुष्टि गर्ने ३५ बुँदे प्रमाण (दस्तावेजसहित)

फाइल तस्बिर


नेपालखबर
भदौ १२, २०७९ आइतबार १७:५४, काठमाडौँ

नेपाल बार एसोसियसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई लगाइएको महाअभियोग पुष्टि गर्ने ३५ बुँदे प्रमाण संसदीय समितिलाई पठाएको छ। 

बारले जबराविरुद्धको महाअभियोग पुष्टि गर्ने प्रमाण संसदले गठन गरेको महाअभियोग सिफारिस समितिमा आइतवार पठाएको हो। 

बारले महाअभियोग आरोपसँग सम्बन्धित कागजात र विवरण भन्दै ३५ बुँदे दस्तावेज सिफारिस समितिमा पठाएको हो।

भदौ ९ गते महाअभियोग सिफारिस समितिले जबरामाथिको अभियोग पुष्टि गर्ने प्रमाण माग गर्दै बारलाई पत्र पठाएको थियो।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अज्जिता खनालले पठाएको पत्रमा चोलेन्द्रको बहिर्गमन किन भन्ने ५ पेज लामो सामाग्री छ। सहकारी ठगीका अभियुक्त इच्छाराज तामाङको मुद्दामा अधिवक्ता रुद्र पोखरेलले घुस बार्गेनिङ गरेको अडिओ पनि उपलब्ध गराइएको छ। उक्त अडिओमा इच्छाराजलाई धरौटीमा छाड्ने र त्यसका लागि प्रधानन्यायाधीश राणालाई पनि मिलाउने र राणाले नै आदेश दिने भनिएको थियो।

सर्वोच्च अदालतको भवन निर्माणमा आर्थिक अनियमितताको विषयमा पनि चोलेन्द्रको संलग्नता बारे छानविन गर्न पनि भनेको छ। भवन निर्माणका लागि गठन भएको समिति गठनबाट न्यायाधीश हरिकृष्ण कार्की र सपना प्रधान मल्ललाई हटाएर आफैंले ठेक्का दिने निर्णय गरेको बारले जनाएको छ।

यस्तै पत्नी हत्या गरेका पूर्व डीआईजी रञ्जन कोइरालालाई कैद हुन दिने फैसलाको प्रतिलिपि पनि बारले बुझाएको छ। चोलेन्द्रले कैद छुट दिएपछि छुटेका फैसला पुनरावलोकन भएर पुनः कैद भुक्तानका लागि कारागार चलान भइसकेका छन्।

आफ्नो संलग्नता भएका संवैधानिक नियुक्तिउपरको संवैधानिक इजलासमा विचाराधीन विषयमा सुनुवाई रोक्ने रिट नै उनकै सल्लाह र सक्रियतामा दायर गरिएको बारको आरोप छ।

जबराले आर्थिक अनियमितता गरी कृष्णमान सिंह पुनरावेदक वादी र हंसमान सिंहको मुद्दा सकार गर्ने प्रकाशमान सिंहसमेत प्रतिवादी भएको हक कायम दर्ता नामसारी समेतको मुद्दामा हुँदै नभएको तथ्य खुलाई बहुमतबाट गरेको फैसला र प्रतिउत्तरको पत्र पनि बारले समितिलाई उपलब्ध गराएको छ। 

उक्त मुद्दाका पक्ष–विपक्ष, बहस गर्ने कानुन व्यवसायी तथा चोलेन्द्र र उनका भाइ प्रभु शम्शेर जबराबीचमा भएको फोन कल पनि डिटेल बुझ्न बारले भनेको छ।

यस्तै नेपाल दूरसञ्चार प्राधिकरणविरुद्धको मुद्दामा भएको फैसला पनि बारले पठाएको छ। सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मा र उच्च अदालत जुम्लाका न्यायाधीश नवराज थपलियाबीच प्रधानन्यायाधीश जबराबाट मुद्दामा फैसला गराउने सम्बन्धमा पटक पटक गरेका संवाद मार्फत अनियमितता गरिएको भन्दै सर्वोच्चका न्यायाधीश तीलप्रसाद श्रेष्ठको नेतृत्वमा छानविन भइरहेकोले ती सम्पुर्ण कल डिटेल र संवादमा संलग्न न्यायाधीशसँग बुझ्न बारले सुझाएको छ। 

यस्तै प्रेरणा राणाको मुद्दामा चोलेन्द्रले जिताउने गरी गरेको फैसला र पछि सुशीला कार्की प्रधानन्यायाधीश भएपछि उल्टिएको प्रमाण पनि बारले पठाएको छ। त्यो मुद्दामा चोलेन्द्रले कानुनविपरीत गरेको बारको ठहर छ। 

चोलेन्द्रको नेतृत्वमा अन्य बेन्चहरूलाई बेन्च सपिङ गरी चरम आर्थिक अनियमितता गराएकाले नै न्यायालयमा बाध्य भएर गोला प्रथा सुरु गरिएको बारले समितिलाई जानकारी गराएको छ। 

यस्तै योग्यता नपुगेकालाई न्यायाधीश बनाएको, आर्थिक अनियमितता गरेर न्यायाधीश नियुक्ती गरेको विषयमा पनि अनुसन्धान गर्न बारले सुझाएको छ। बलात्कार आरोपी सिद्धबाबा भन्ने कृष्ण गिरीविरुद्धको मुद्दामा  आर्थिक अनियमितता गरेर जिल्ला न्यायाधीश अर्जुन कोइरालालाई आफूले भने बमोजिम फैसला गर्न दबाब दिएको र आफूले भनेअनुसारको फैसला गरेकै कारण पुरस्कार स्वरुप उच्च अदालतमा न्यायाधीश नियुक्त गरेको बारको दाबी छ।

घुस बार्गेनिङ गर्ने अधिवक्ता रुद्र पोखरेलसँग आर्थिक अनियमितता गर्ने उदेश्यले ७६ पटकसम्म फोनमा कुरा भएको जानकारीमा आएको भन्दै दुईबीचको कल डिटेल हेर्न पनि बारले सुझाएको छ। 

पदको दुरुपयोग गरी आफू, आफन्त र साथीभाइको नाममा आर्थिक अनियमितता गरेको भन्दै उनीहरुमाथि पनि छानविन गर्न भनेको छ। हरिकृष्ण नेतृत्वको प्रतिवेदनले पनि उनी अनियमिततामा रहेको पुष्टि गर्ने बारको दाबी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad