ad ad

राजनीति


वामदेवले दाबी गरेको प्युठानमा हानथाप, कसले पाउला टिकट?

स्थानीय तहको परिणामले कांग्रेस पनि पछि नहट्ने
वामदेवले दाबी गरेको प्युठानमा हानथाप, कसले पाउला टिकट?

फाइल फोटो


केशव सावद
भदौ ११, २०७९ शनिबार १४:३३, काठमाडौँ

मंसिर ४ मा हुने  प्रदेश र संघीय संसदको निर्वाचनमा तालमेल गरेर जाने सैद्धान्तिक सहमति गरेको सत्तारुढ गठबन्धनबीच भागबण्डा पेचिलो बन्दै गएको छ। 

सिट बाँडफाँटका लागि गठबन्धनले कृष्णप्रसाद सिटौलाको नेतृत्वमा गठन गरेको ११ सदस्यीय कार्यदल पटक–पटक बैठकमा बसे पनि ठोस सहमति जुट्न सकेको छैन।

प्रतिनिधिसभाका प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमै पाँच दलको तानातान चलिरहेको छ। अहिले यी दलहरू गृहकार्यमा छन्। पाँचै दलका शीर्ष नेतृत्वबाहेक अन्य नेताहरू सम्मानजनक सिट बाँडफाँट नभए क्षति व्यहोर्नुपर्ने बताइरहेका छन्।

दलहरुबीच सिट बाँडफाँटका क्रममा धेरै जिल्लामा सकस देखिएको छ। गठबन्धनलाई यसरी संकटमा पार्नेमध्ये एक हो प्युठान जिल्ला। प्युठान नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको गृहजिल्ला हो। मसालको खुला राजनीतिक मोर्चा राष्ट्रिय जनमोर्चा केही विषयमा बिमत्ति राख्दै पाँच दलीय गठबन्धनमा छ। 

महामन्त्री सिंह पत्नी एवम् राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल वाम गठबन्धनबाट २०७४ मा प्युठानबाट प्रतिनिधिसभामा निर्वाचित भएकी थिइन्। उनी अहिले पनि प्युठानबाटै प्रतिनिधिसभा सदस्यका लागि दाबी गरिरहेकी छन्। 

एकमात्र निर्वाचन क्षेत्र रहेको प्युठानबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलले पनि प्रतिनिधिसभामा उठ्ने आकांक्षा राखेका छन्। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पोखरेल २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार थिए।

उक्त निर्वाचनमा उनी पौडेलसँग १६ हजार २२८ मतान्तरले पराजित भए। ४१ हजार ५१४ मतसहित जनमोर्चाकी उपाध्यक्ष पौडेल प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी पोखरेलले ३१ हजार २८६ मत प्राप्त गरेका थिए। 

उनी आसन्न निर्वाचनमा टिकट दिए पार्टी संगठन र सदस्यभन्दा १० हजार बढी मत ल्याउन सक्ने दाबी गर्छन्। 

‘०७४ मा मैले पार्टीका लागि समानुपातिकमा खसेको भन्दा १० हजार बढी मत पाएको हुँ,’ पोखरेलले भने, ‘यस पटक पनि पार्टीको संगठनात्मक संख्याभन्दा १० हजार बढी मत ल्याएर जित्छु।’

नेकपा (एकता राष्ट्रिय अभियान) नामक दल निर्वाचन आयोगमा दर्ता गरेर नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचन लड्न तयार वामदेव गौतम पनि प्युठानबाटै उठ्न इच्छुक छन्। कुनै बेला उनी प्युठान छाडेर बर्दियातिर बसाइँ सरेका थिए। 

प्युठानबाटै नेकपा माओवादी केन्द्रका नेता एवम् लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्का पनि प्रतिनिधिसभा निर्वाचनमा  उठ्ने  तयारीमा छन्। 

गठबन्धनका कांग्रेस, माओवादी र जनमोर्चा तथा माओवादीको चुनाव चिह्नबाट उठ्न तयार गौतमका कारण प्युठानमा सिट बाँडफाँट गर्न सिटौला संयोजकत्वको कार्यदललाई सकस परेको छ।

मत हिसाब
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा प्युठानमा नेकपा एमाले सबैभन्दा ठूलो देखिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार प्युठानमा एमालेको पक्षमा ३९ हजार ८७७ मत छ। 

यस्तै कांग्रेसको पक्षमा २१ हजार ५६४, माओवादीको पक्षमा १७ हजार १६३, जनमोर्चाको पक्षमा १३ हजार ६१२, एकीकृत समाजवादीको पक्षमा १ हजार ४१७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पक्षमा ४३३ मत छ।

गठबन्धन दलमध्ये सबैभन्दा बढी भोट भएको भन्दै कांग्रेसले प्युठान छाड्न नहुने अडानमा नेताहरू छन्। बिहीबार कांग्रेस प्युठानको बैठकले गठबन्धन सफल बनाउन संघमा कांग्रेसले टिकट पाउनुपर्ने निर्णयसहित त्यसका लागि केन्द्रलाई लिखित आग्रह गर्ने निर्णय गरेको छ। 

‘जनताको साथ कांग्रेस’ अभियानका लागि खटिएकी केन्द्रीय सदस्य जाबेदा खातुनको प्रमुख आतिथ्यमा बसेको बैठकले प्युठानमा कांग्रेस पहिलो दल भएकाले गठबन्धन जिताउन संघको टिकट पाउनुपर्ने निर्णय गरिएको उपसभापति देवेन्द्र वर्माले जानकारी दिए।

‘९ वटै पालिकाहरूका सभापति र जिल्ला कार्यसमिति बैठक बसेको थियो। बैठकमा सहभागी नेताहरुले संघमा कांग्रेसले टिकट पाउनुपर्ने राय दिनुभयो,’ उनले नेपालखबरसँग भने, ‘कांग्रेस पहिलो पार्टी भएकाले गठबन्धन जिताउन सजिलो हुने भएकाले पनि हामीले टिकटका लागि केन्द्रलाई आग्रह गर्ने निर्णय गरेका छौँ।’

बैठकमा कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमितिका सहमहामन्त्री निमा गिरी, प्रदेश कार्यसमिति सदस्य अमर भण्डारी पनि उपस्थित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .