ad ad

राजनीति


नेपालको पहिलो चुनाव : महिलालाई थिएन मताधिकार

नेपालको पहिलो चुनाव : महिलालाई थिएन मताधिकार

केशव सावद
भदौ ८, २०७९ बुधबार ७:१५, काठमाडौँ

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामबाट सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा अकल्पनीय हार व्यहोरेको कांग्रेस पछिल्लो स्थानीय तह निर्वाचन परिणामले ठूलो दल बनेको हो।

निर्वाचन आयोगका अनुसार ठूलो दल कांग्रेसले १४१ प्रमुख, ११० उपप्रमुख र १८८ अध्यक्ष, १९० उपाध्यक्ष पद जितेको छ। दोस्रो भएको एमालेले ८३ प्रमुख, ११५ उपप्रमुख र १२३ अध्यक्ष, १२६ उपाध्यक्ष जितेको छ। तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रका २५ जना प्रमुख, ३३ जना उपप्रमुख र ९६ जना अध्यक्ष ९५ जना उपाध्यक्षमा विजयी भएका छन्।

स्थानीय तह निर्वाचनको मत परिणामले ठूलो दल बनेको कांग्रेसको पक्षमा देशभर ३९ लाख ५६ हजार १९३ मत छ। यस्तै एमालेको पक्षमा ३८ लाख ११ हजार ६०२ र माओवादी केन्द्रको १५ लाख ३ हजार २४७ मत देखिएको छ।

जनता समाजवादी पार्टी (जसपा) ले ५ लाख ७७ हजार ३८० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख ६४ हजार १६० मत पाएका छन्। एमालेबाट छुट्टिएको समूहले गठन गरेको नेकपा एकीकृत समाजवादीको पक्षमा ४ लाख २२ हजार ७३७ मत देखिएको छ।

नेपालमा पहिलो पटक जहानियाँ राणा शासनमा जनताले मताधिकारको प्रयोग गर्न पाएका थिए। २००४ जेठ २९ मा काठमाडौँको सहरी क्षेत्रका जनताले आफ्नो प्रतिनिधि आफैं छान्नका लागि मताधिकारको प्रयोग गरेका हुन्।

निर्वाचन आयोगले प्रकाशन गरेको पुस्तक ‘नेपालको निर्वाचन इतिहास भाग १’ मा सोही निर्वाचनलाई नेपालको पहिलो निर्वाचनका रुपमा उल्लेख गरिएको छ। पुस्तकमा भनिएको छ, ‘नेपालको निर्वाचन इतिहासलाई केलाउँदा यस निर्वाचनलाई हालसम्मकै पहिलो र ऐतिहासिक निर्वाचनका रुपमा हामी पाउन सक्छौँ।’

नेपालमा निर्वाचन प्रक्रियाको प्रारम्भ स्थानीय निकायकै निर्वाचनबाट भएको हो। तत्कालीन प्रधानमन्त्री श्री ३ पद्म शमशेरले पहिलो पटक जनताले जनप्रतिनिधि छान्नका लागि निर्वाचनको घोषणा गरेका थिए। ‘२००४ जेठ ३ मा मुलुकभर निर्वाचित नगरपालिका खडा गर्ने र त्यसमा मतदानबाट छान्ने, प्रतिनिधि छान्दा सोच विचारपूर्वक असल, अनुभवी र लायक प्रतिनिधि छानी मुलुकको उत्थानमा सहयोगी हुन आवश्यक छ भनिएको थियो,’ जेठ ३१ म प्रकाशित गोरखापत्र दैनिकको हवाला दिँदै पुस्तकमा उल्लेख गरिएको छ।

जेठ २४ मा प्रकाशित गरिएको इस्तिहार (विज्ञापन) अनुसार निर्वाचनमा २१ वर्ष पूरा भएका पुरुषहरुलाई मात्र मत हाल्न पाउने व्यवस्था गरिएको थियो। निर्वाचनमा महिलाहरुले पनि मताधिकार प्रयोग गर्न पाउनुपर्ने भन्दै श्री ३ पद्म शमशेर समक्ष माग राखे पनि महिलाहरु मताधिकारबाट वञ्चित हुन पुगेका भुवनलाल प्रधानको २०४७ मा प्रकाशित पुस्तक ‘नेपालको जनक्रान्ति’ मा उल्लेख छ।

महिलाको मताधिकारका बारेमा तत्कालीन श्री ३ पद्म शमशेरसँग राखिएको मागका बारेमा नेपाली कांग्रेसकी नेतृ मंगलादेवी सिंहको आत्मसंस्मरणात्मक कृति ‘नारी संघर्षका पाइलाहरु’ मा पनि उल्लेख गरिएको छ।

कृतिमा मंगलादेवीसहितका २१ जना महिलाको समूह प्रधानमन्त्री पद्म शमशेरलाई भेट्न उनको निवास विशालनगर गएको उल्लेख छ। महिला समूह आफूलाई भेट्न आएको थाहा पाएपछि उनी पहिले नै बैठक कक्षमा बसिसकेका थिए। भेट्न आएका महिलालाई ‘बस’ भनेर पद्म शमशेरले आदेश दिए पनि उनीहरुले उभिएरै कुरा गरेको कृतिमा उल्लेख छ।

पद्म शमशेरले सोधे– ‘के भन्न आयौ तिमीहरु?’ मैले (मंगलादेवी) भनें, ‘नगरपालिकाको चुनाव हुन लागेको छ। हामी महिलाहरुलाई पनि भोट दिने अधिकार दिइनुपर्छ भन्न आएका सरकार।

‘चुनाव हुने भनेर कसले भन्यो?’ – पद्म शमशेरले सोधे।

‘हामीले मानिसहरुबाट सुनेका हौँ, मैले भनेकी थिएँ।

‘महिलाहरुले भोट दिने अधिकार कहाँ छ?’ उनले फेरि प्रश्न गरे।

मैले भनेँ, ‘सबैतिर नहोला। जहाँजहाँ अधिकार दिइएको छ, ती समाजहरुमा महिलाहरुको स्थिति राम्रो छ। जनता खुशी छन्।’

‘अरु केही छ?’ पद्म शमशेरले सोधे।

‘महिलाहरुलाई पनि स्कूलमा पढ्न जाने व्यवस्था हुनु पर्दछ सरकार’ मैले भनेँ।

‘स्कूल खोले पनि कसले पढ्छ?’ उनले सोधे।

‘स्कूलमात्र खोलियोस्, पढ्ने महिलाहरुको खाँचो हुँदैन। आफ्नो नामबाट खोलियोस् सरकार। सरकारको नाम रहने, हामीले पनि पढ्न पाउने,’ हामीले भन्यौँ ।

‘ल अहिले जाओ। भोट दिने अधिकार पाउँछौ। स्कूलको कुरो पनि राम्रो छ। म विचार गर्छु।’ यति भनेर पद्म शमशेरले हामीलाई पठाए।

भोट दिने अधिकारका विषयमा पदम शमशेरले मौखिक आश्वासन दिएर मात्र हामी सन्तुष्ट भएका थिएनौँ मैले भनेँ, ‘मौखिक आश्वासनले मात्र हुँदैन सरकार, लालमोहर गरेर बक्सेन भने मौखिक आश्वासनलाई कसले टेर्छ?’

आफूले ढिपी कसेपछि महेन्द्रबहादुर महतले बाँसको कलमले राम्रा अक्षरमा नेपाली कागजमा लेखेर श्री ३ पद्म शमशेरको हुकुम प्रमांगी गराएको कृतिमा उल्लेख छ। तर, नगरपालिकाको तथा ग्राम पञ्चायतहरुको चुनाव हुन पाएन।

‘मोहन शमशेरको सत्ता षडयन्त्र एवम् खुराफात चलिरहेको थियो। राणाशाही नै कतिन्जेल टिक्ने हो सो को ठेगानै थिएन। एकदिन भए पनि श्री ३ को श्रीपेच लगाउँ भन्ने मोहन शमशेरलाई लाग्यो होला। पद्म शमशेर पनि रोएर विदा हुनु पर्यो,’ कृतिमा लेखिएको छ।

२००४ मा काठमाडौंमा मात्र निर्वाचित म्युनिसिपलिटी खडा भएको थियो। उत्तर महाराजगञ्ज, दक्षिण बागमती, पूर्व धोबी खोला र पश्चिम विष्णुमती गरी चार किल्ला भित्रको क्षेत्र कायम गरेर काठमाडौँ म्युनिसिपलिटी रहने व्यवस्था थियो।

चार किल्ला भित्रको क्षेत्रलाई विभाजन गरेर २१ वडा कायम गरिएको थियो। निर्वाचनमा प्रत्येक वडाबाट एक–एक जन सदस्य छान्नुपर्ने व्यवस्था थियो।

काठमाडौँ म्युनिसिपलिटीमा घर संख्या १३ हजार ५५३ र मतदाता संख्या ६८ हजार ११८ थियो। सबैभन्दा बढी वडा नम्बर ११ मा घर संख्या ९३६ र मतदाता संख्या ६ हजार ६०३ थियो। सबैभन्दा कम वडा नम्बर १८ मा घर संख्या २०९ र मतदाता संख्या ४४२ थियो।

निर्वाचनमा सरकारी तिरो बुझाउन बाँकी नभएका २५ वर्ष पुगिसकेका पुरुषमात्र उम्मेदवार बन्न सक्ने व्यवस्था थियो।

काठमाडौँका २१ वडा मध्ये ५, ९, १० र ११ मा एक/एक उम्मेदवारमात्र खडा भएका कारण मतपेटिका राखिएको थिएन। एकभन्दा बढी उम्मेदवार भएका वडाहरुमा मतदाता र भौगोलिकताका आधारमा एकभन्दा बढी मतपेटिका राखी जम्मा २२ ठाउँमा मतदान केन्द्र तोकिएको थियो। ती मतदान केन्द्रहरुमा प्रत्येक उम्मेदवारको अलग–अलग मेतपेटिका राखिएको थियो।

मतदानको समय बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म निर्धारण गरिएको थियो। निर्वाचनकै अघिल्लो दिन मतपत्रहरु मतदाताको संख्याका आधारमा घर–घरमै पुर्याइएको थियो।

‘प्रत्येक उम्मेदवारको अलग–अलग रंगका छुट्टाछुट्टै ढ्वांगहरु भएकाले मन परेको उम्मेदवारको रंगको ढ्वांगमा मतदान गर्नुपर्दथयो भने मतपेटिका खुला ठाउँमा राखिएको हुनाले कसले कुन मतपेटिकामा मतपत्र खसाल्यो भन्ने कुरा वरपर उभिएका मानिसहरुले छर्लङ्ग देख्दथे,’ नेपालको निर्वाचन इतिहास–१ म उल्लेख छ।

निर्वाचनमा मतदाताले उत्साहका साथ भाग लिएर ६०–६५ प्रतिशतसम्म मत खसेको अनुमान गरिएको थियो। वडा नम्बर २१ बाट भुवनलाल प्रधान निर्विरोध निर्वाचित भएका थिए। उनलाई ‘नेपालको निर्वाचन इतिहास–१’ मा निर्विरोध निर्वाचित हुने नेपालको पहिलो जनप्रतिनिधिका रुपमा चित्रित गरिएको छ।

२००७ सालमा प्रजातन्त्र स्थापना पछि २०१० मा भएको काठमाडौँ नगरपालिकाको दोस्रो निर्वाचनमा मात्रै महिलाहरुले मत हाल्न पाउने अधिकार पाएका थिए। २००७ सालपछि स्थानीय शासनलाई बढी जनमुखी बनाउन नगरपालिका कानुन निर्माण गरिएको थियो।

 त्यही कानुनका आधारमा २०१० भदौ १७ गते काठमाडौँ नगरपालिकाको निर्वाचन सम्पन्न भएको डिल्लीराम मिश्रद्वारा लिखित ‘नेपालको प्रजातान्त्रिक विकासक्रम र काठमाडौँ उपत्यकाको निर्वाचन’ नामक पुस्तकमा उल्लेख छ।

यही निर्वाचनबाट पहिलो पटक महिलाहरुले मताधिकार प्रयोग गर्न र उम्मेदवारी दिन पाएका थिए। ‘नेपालको निर्वाचन इतिहास–१’ भनिएको छ, ‘२१ वर्ष उमेर पुगेका बालिगहरुबाट प्रत्यक्ष गुप्त मतदानद्वारा निर्वाचन गरी यसै चुनावबाट महिलाहरुले पनि मताधिकार प्राप्त गरी उम्मेदवार समेत बन्ने अवसर पाएका थिए।’

काठमाडौँ नगरपालिकाको दोस्रो निर्वाचनको मत गणना डेढ दिन लागेको थियो। भदौ १८ गते बिहानबाट सुरु भएको मतगणना १९ गते दिउँसो समाप्त भएको भदौ २४ मा प्रकाशित गोरखापत्रमा उल्लेख छ।

गोरखापत्रमा प्रकाशित समाचार अनुसार काठमाडौँ–८ मा खसेको ४ हजार ११३ मतमध्ये २ हजार ४५५ मतसहित साधनादेवी प्रधान वडाध्यक्षमा विजयी भएकी थिइन्। उनी नेपालको पहिलो महिला जनप्रतिनिधि हुन्। यो निर्वाचनमा ५३ प्रतिशत मत खसेको थियो। २०१० को निर्वाचनमा काठमाडौँ नगरपालिकाका २१ वडाबाट घटाएर १८ वडा कायम गरिएको थियो।      

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .