ad ad

ग्लोबल


सानो टापुकी यी राष्ट्रपति, जो विशाल चीनसँग पौँठेजोरी खेलिरहेकी छन्

सानो टापुकी यी राष्ट्रपति, जो विशाल चीनसँग पौँठेजोरी खेलिरहेकी छन्

नेपालखबर
भदौ ८, २०७९ बुधबार ९:२०, काठमाडौँ

गत अगस्ट २ मा अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि त्यसले ताइवान जलसन्धिमा मात्रै होइन, विश्वका दुई महाशक्ति अमेरिका र चीनबीचको तनावलाई पनि उत्कर्षमा पुर्यायो। चीनले कडा चेतावनी दिँदादिँदै पेलोसी ताइपेइ पुगेकी थिइन्। जवाफमा चीनले ताइवान घेरेर हालसम्मकै विशाल युद्धाभ्यास गर्यो। त्यसयता झडप र दुर्घटनाको सम्भावना बढेको विश्लेषण गरिएको छ। 

अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। अर्कोतिर, चीन विश्वकै दोस्रो आर्थिक शक्ति हो भने सैन्य हिसाबले ऊ अमेरिकालाई टक्कर दिने कोसिस गरिरहेको छ। यस्तो अवस्थामा झडप भइहाले त्यसको नतिजा ताइवानका लागि कस्तो होला, अनुमान गर्न कठिन छ।

यस्तो विषम परिस्थितिमा त्यो सानो टापुको नेतृत्व गर्न पक्कै पनि सहज छैन। र, यो कठिन काम गरिरहेकी छन्, ६५ वर्षीया ताइवानी राष्ट्रपति साइ यिङ वेनले। ताइवानको स्वतन्त्रता चाहने उनी महाशक्ति चीनको आडैमा रहेर उहीसँग पौँठेजोरी खेलिरहेकी छन्। 

को हुन् त साई? यसपटक पेलोसीको भ्रमण अघि बढाउनु उनको बुद्धिमानी थियो या मूर्खता?

ताइवानको पहिलो महिला तथा अविवाहित राष्ट्रपति हुन् साइ। उनी २०१६ मा पहिलो पटक निर्वाचित भएकी थिइन् भने २०२० मा दोस्रो कार्यकाल पनि जितेकी थिइन्।

१९५६ मा ताइपेइमा जन्मिएकी साइ एघार सन्तानमध्ये सबैभन्दा कान्छी हुन्। उनका बुबा अटो वर्कसप चलाउँथे भने आमा गृहिणी थिइन्।

नेसनल ताइवान युनिभर्सिटीबाट स्तानक गरेपछि साइले कोर्नेल युनिभर्सिटी ल स्कुलबाट १९८० मा मास्टर्स डिग्री लिइन्। त्यसपछि उनले लन्डन स्कुल अफ इकोनोमिक्सबाट १९८४ मा कानुनमा पीएचडी गरिन्। 

१९९० को दशकमा विश्व व्यापार संगठनमा ताइवान प्रवेश गर्दा एक जना वार्ताकार उनी पनि थिइन्। त्यसपछि उनले राष्ट्रपति ली तेङ हुइको सल्लाहकारका रुपमा ताइवानको राष्ट्रिय सुरक्षा परिषद्मा काम गरिन्।

उनी सन् २००४ मा डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टीमा सामेल भइन्। यो पार्टी चीनविरोधी र ताइवान स्वतन्त्रताको पक्षधर हो। 

साइ छिटोछिटो बढुवा भएर चार वर्षपछि नै सो पार्टीको अध्यक्ष बनिन्। उनका पूर्ववर्ती पार्टी अध्यक्ष चेन सुइ बियानले २००८ को राष्ट्रपतिको निर्वाचन हारेपछि पार्टीको नेतृत्व उनको हातमा आएको थियो। चेन पछि भ्रष्टाचारको आरोपमा जेल समेत गए।

साइले नेतृत्व हातमा लिँदा सो पार्टी अत्यन्त कमजोर थियो। पार्टीभित्र गुटबन्दी थियो। तर, उनी पार्टीका पुराना नेताहरुभन्दा अलग थिइन्। उनको नेतृत्व शैलीले युवाहरु पार्टीमा आकर्षित भए। त्यसैले उनलाई पार्टी ब्युँताउन सजिलो भयो। 

२०१२ को राष्ट्रपतीय निर्वाचनमा उनलाई असफलता हात लाग्यो। तर, त्यसबेला उनी सफलताको सिँढी चढ्न सुरु मात्रै गर्दै थिइन्।

चार वर्षपछि उनी निर्वाचित भइन्।

सीका कारण दोस्रो पटक निर्वाचित!
साइ सत्तामा आउनुअघि उनका पूर्ववर्ती राष्ट्रपतिले चीनसँग केही हदसम्म निकटता बढाउने प्रयास गरेका थिए। तत्कालीन राष्ट्रपति मा यिङ चिउले २०१५ मा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट नै गरेका थिए।

त्यसैले २०१६ को चुनावमा चीन वा ताइवानको स्वतन्त्रता ठूलो मुद्दा थिएन। साइले खासगरी आर्थिक मुद्दाहरुमा ध्यान केन्द्रित गरेकी थिइन्।

तर, उनको कार्यकालको एउटा ठूलो परियोजना भनेको ताइवानी सेनालाई बलियो बनाउनु थियो। जुन बेला चीनले ठूलो लगानी गरेर आफ्नो सेनाको आधुनिकीकरण गरिरहेको थियो। तर, टापुको सेनाको नेतृत्वका लागि कुनै गतिलो रणनीतिक दृष्टिकोण तयार गर्न साइ असफल रहिन्।

२०१९ मा उनको पार्टीले स्थानीय चुनाव हार्यो। त्यसले दोस्रो कार्यकालका लागि निर्वाचित हुने उनको सम्भावनालाई लगभग सिध्याएको अनुमान गरिएको थियो। 

त्यहीबेला चीनले पनि ताइवानमाथि दबाब बढायो। चिनियाँ राष्ट्रपति सी चिनफिङले स्पष्ट शब्दमा ताइवान चीनसँग एकीकृत ‘हुनैपर्ने र हुने’ वक्तव्य दिए। ताइवानलाई स्वतन्त्र गर्ने प्रयास भए सशस्त्र रुपमा पनि ताइवानको एकीकरण गर्नसक्ने उनको संकेत थियो। 

चीनको यो आक्रमकतालाई चुनाव जित्न प्रयोग गर्ने मौका साइको सामुन्ने आइपरेको थियो। उनी किन पछि हट्थिन्! उनले त्यसअघि चीनप्रति होसियारीपूर्वक अपनाउँदै आएको अस्पष्टता त्यागिन्। सीको अभिव्यक्तिलाई ‘स्वीकार्न असम्भव रहेको’ बताइन् र टापुको स्वतन्त्रताका लागि आन्तरिक र अन्तर्राष्ट्रिय समर्थन आह्वान गरिन्।

यो तरिकाले जादु गर्यो। २०२० को चुनावमा उनी पुनः राष्ट्रपति निर्वाचित भइन्। त्यसैले कतिपय विश्लेषकले साइको पछिल्लो राजनीतिक सफलतालाई सी चिनफिङको ‘उपहार’ का रुपमा पनि चर्चा गर्ने गरेका छन्। कतिले यसलाई चीनका लागि ठूलो धक्का पनि भने।

विजय भाषणमा उनले आफूलाई टापुको रक्षकका रुपमा प्रस्तुत गरेकी थिइन्।

‘हामी आफ्नो लोकतान्त्रिक जीवन पद्धतिलाई कति माया गर्छौँ, प्रत्येक राष्ट्रपतीय निर्वाचनमा ताइवानले विश्वलाई देखाइरहेको छ,’ उनले भनेकी थिइन्, ‘हामीले आफ्नो देशलाई सुरक्षित राख्न र सार्वभौमसत्ताको रक्षा गर्न मेहनत गर्नै पर्छ।’

पुननिर्वाचित भएपछि साइको उचाइ अझ चुलिएको थियो। खासगरी कोरोना भाइरस महामारीको सुरुवाती दिनमा ताइवानको सफलताले विश्व नै प्रभावित भएको थियो। 

उनको पहिलो कार्यकालले मिश्रित परिणाम दियो। न्यूनतम ज्याला, लगानी र सेयर बजार बढ्यो। सामाजिक सेवा, हाउजिङ क्षेत्र पनि विस्तार भयो। तर, निर्यात घट्यो। 

दोस्रो कार्यकालमा उनले सुरुवातमा महामारी र त्यसयता राजनीतिक तथा सैन्य संकटको सामना गर्नुपर्यो।

होसियार नेतृ
तीन वर्षअघि एक विदेशीले साइलाई सोधेका थिए– ‘बेइजिङबाट सैन्य आक्रमण हुने चिन्ता तपाईंलाई छ?’

‘छ नि। उनीहरु मलाई पक्रिन ताम सुइ नदीसम्म आउनेछन्,’ मुस्कानका साथ साइले जवाफ दिएकी थिइन्। 

ताइवान कब्जा गर्ने र सो टापुका नेताहरुलाई मार्ने चीनको योजना रहेको संकेत उनको थियो। त्यतिखेर उनको यो शंका धेरै हदसम्म हावादारी लाग्थ्यो। तर, उनले जब अमेरिकी सभामुख पेलोसीलाई भेटिन्, तब धेरै कुरा बदलिएको छ।

साइलाई थुप्रैले शान्त, विचारशील नेतृका रुपमा चर्चा गर्ने गर्छन्। विश्व व्यापार संगठनमा ताइवानलाई सदस्यता दिलाउन उनले खेलेको भूमिकाले पनि उनको यस्तो छवि निर्माणमा सहयोग पुगेको हो। ६ वर्ष सत्तामा रहिसक्दा र ताइवान स्वतन्त्रताको पक्षधरका रुपमा स्थापित हुँदा पनि उनको यो छवि बदलिएको छैन।

‘उनी नीतिमा जोड दिने व्यक्ति हुन्। उनी हरेको कुरा विस्तृत अध्ययन सधैँ आफैँ गर्छिन्,’ उनका एक पूर्वसहयोगी भन्छन्।

उनीसँग काम गरेका पूर्वसहकर्मीहरु गलत निर्णय नहोस् भनेर साइले कर्मचारी र विद्वानहरुसँग छलफल गर्ने गरेको बताउँछन्।

‘पार्टी मुख्यालयमा कुनै विधेयक तयार गर्दैगर्दा सबैभन्दा धेरै मलाई असहमत हुने मान्छेहरुसँग पर्याप्त परामर्श लियौ कि लिएनौ भनेर उनी सोधिरहन्थिन्,’ २००८ देखि २०१२ सम्म उनको पार्टीमा सहयोगी रहेका एक व्यक्तिले भने।

बेइजिङको नजरमा साइ
साइ कोमिन्ताङबाहिरबाट राष्ट्रपति बन्ने दोस्रो व्यक्ति पनि हुन्। कोमिन्ताङले १९८० को दशकसम्म ताइवानमा तानाशाही शासन चलाएको थियो।

साइको डीपीपीले ताइवानको औपचारिक स्वतन्त्रतालाई समर्थन गर्छ। त्यहीकारण डीपीपीका चेन सुइ बियान राष्ट्रपति हुँदा २००० देखि २००८ सम्म चीनसँग तनाव बढेको थियो। 

२०१२ को चुनावअघि कोमिन्ताङले डीपीपीलाई चीनसँगको सम्बन्ध व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना गरेको थियो। त्यसैले त्यसबेला साइले चीनसँग यथास्थिति कायम राख्ने बाचा गरेकी थिइन्। 

तर, साइ निर्वाचित हुनेबित्तिकैदेखि चीनसँग तनाव सुरु भइहाल्यो। राष्ट्रपतिका रुपमा पहिलो सम्बोधनमा साइले १९९२ को ताइवान सहमतिमा कुराकानी अघि बढाउन सहमति दिइन्। जुन सहमतिले जलसन्धिका दुई पक्षबीच आर्थिक आदानप्रदान सुरु गरेको थियो।

जब साइले ताइवानमाथि चीनको दाबीलाई अस्वीकार गरिन्, तब समस्या उत्पन्न भयो। बेइजिङले ताइवानसँगको नियमित सम्पर्क काटिदियो।

उसो त चिनियाँ कम्युनिस्ट पार्टीले साइलाई १९९९ यताको पृथकतावादी नीतिको ‘आर्किटेक्ट’ मान्छ। १९९९ मा तत्कालीन राष्ट्रपति ली तेङ हुइले चीनसँगको सम्बन्धलाई ‘राज्य–राज्यबीचको विशेष सम्बन्ध’ भन्दा बेइजिङ क्रुद्ध बनेको थियो।

साइले ‘गणतन्त्र चीनको सार्वभौम मुलुकको हैसियत सुदृढ गर्ने’ एक सल्लाहकार समूहको नेतृत्व गरेकी थिइन्। 

२००३ मा चेन सुइ बियानको कार्यकालमा चीन मामिला हेर्ने संयन्त्रको प्रमुखका रुपमा साइले मन्त्री सरहको पद लिएपछि त उनीप्रति बेइजिङको शंका झन् बलियो भयो। त्यहीबेला चीनसँग ताइवानको सम्बन्ध खस्किँदै गयो।

होसियारी साइको नेतृत्वको प्रमुख विशेषता बनेको थियो। उनको सम्पूर्ण ध्यान ताइवान कसरी सुरक्षित हुन्छ भन्नेमा केन्द्रित रहेको उनका समर्थकहरुको भनाइ छ। 

उनले अमेरिकी सभामुखलाई निम्त्याउँदा पनि धेरैले सोचेका थिए, उनले नाफाघाटाको हिसाब गरेकै होलिन्।

तर, ताइवाननजिकै आकाशमा चिनियाँ क्षेप्यास्त्र उड्दै गर्दा साइको हिसाब नमिलेको आशंका धेरैले गरेका छन्।

कुनै समय संसारभरका फोरमहरुमा सम्पूर्ण चीनको प्रतिनिधित्व गर्ने ताइवानका मित्रहरु घट्दै छन् भने चीनको शक्ति बढ्दो छ। पेलोसीको भ्रमणपछि पनि इन्डो–प्यासिफिक क्षेत्रका अधिकांश मुलुकको साथ चीनलाई प्राप्त भएको छ। यस्तो अवस्थामा साइ र उनका उत्तराधिकारीहरुको कठिनाइ झनै बढ्ने निश्चित छ।

‘यो विन्दुबाट उनले ताइवानको सुरक्षालाई कसरी सुधार गर्छिन्, अन्दाज लगाउन कठिन छ,’ एक अमेरिकी कूटनीतिज्ञले फाइनान्सियल टाइम्ससँग भनेका छन्, ‘यो उनको अहिलेसम्मकै ठूलो चुनौती हो।’

–एजेन्सीको सहयोगमा
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .