ad ad

राजनीति


चुनावमा जित्ने र टिक्ने उम्मेदवार उठाउँछौँ, बहुमत ल्याउँछौँ : ईश्वर पोखरेल

चुनावमा जित्ने र टिक्ने उम्मेदवार उठाउँछौँ, बहुमत ल्याउँछौँ : ईश्वर पोखरेल

नेपालखबर
साउन ३०, २०७९ सोमबार १६:१०, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दावी गरेका छन्।

स्थानीय तह निर्वाचनमा सर्वाधिक जनताको लोकप्रिय मत पाएकाले एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बहुमत ल्याउने वरिष्ठ उपाध्यक्ष पोखरेलको तर्क थियो।

पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उम्मेदवार तय गर्दा व्यवस्थापकीय कमजोरी भएका कारण स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्न नसकेको उल्लेख गरे। 

अब हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले त्यस्तो गल्ती नगर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

उनले भने, ‘आउने निर्वाचनमा नेकपा (एमाले)ले बहुमतका साथ प्रतिनिधिसभामा पनि आफ्नो प्रतिनिधित्व गर्छ। म यो तपाईहरुलाई बताउनु चाहन्छु। अब तपाईंहरुको मनमा प्रश्न उठ्न सक्छ–हिजो स्थानीय तह निर्वाचनमा त भएन नि? स्थानीय तह निर्वाचनमा हामीले जनताको सर्वाधिक लोकप्रिय मत प्राप्त गर्यौं। यो हाम्रो दावी मात्रै होइन, निर्वाचन आयोगको बुलेटिनमा उल्लेख गरिएको कुरा हो।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले भदौको अन्तिमसम्ममा आफ्नो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवार समेत तय गरिसक्ने बताए।

त्यसका लागि मापदण्ड तय गर्न स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक भदौ दोस्रो हप्ताका लागि तय गरिएको उनको भनाई थियो। 

जित्ने र टिक्नेहरूलाई मात्रै पार्टीले सो निर्वाचनमा उम्मेदवार बनाउने वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए। 

उनले भने, ‘स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने सन्दर्भमा व्यवस्थापकीय कमजोरी भएकाले हामीले सोचेजस्तो परिणाम ल्याउन नसकेको हो। अब हामी आउने चुनावमा समयमै उम्मेदवारी दिन्छौं। जित्नेलाई उठाउँछौँ, टिक्नेलाई उठाउँछौँ। भदौ अन्तिमसम्म हामी चुनावको उम्मेदवारको टुंगो लगाउँछौं। अब बस्ने स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकले त्यसका लागि आवश्यक मापदण्ड तय गर्नेछ।’

त्यस अवसरमा वरिष्ठ उपाध्यक्ष पोखरेलले सत्तारुढ गठबन्धनमा आवद्ध कुनै पनि दलहरूसँग निर्वाचनमा मोर्चाबन्दी हुने सम्भावना नरहेको पटकपटक दोहोर्याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .