फिनल्यान्डकी सन्ना मरिन सबैभन्दा कम उमेरकी प्रधानमन्त्री बन्ने भएकी छन्। ३४ वर्षीया मरिनलाई उनको सोसल डेमोक्रेटिक पार्टीले अर्को प्रधानमन्त्रीको रुपमा छनोट गरेको छ।
मरिन हाल यातायात मन्त्री छिन्।
फिनल्यान्ड अहिले पाँच पार्टी सम्मिलित गठबन्धनले सरकार चलाइरहेको छ। रोचक के छ भने पाँच वटै पार्टीका प्रमुख महिला छन्।
वर्तमान प्रधानमन्त्री आन्ती रेनेले विश्वासको मत गुमाएपछि राजीनामा दिएका छन्।
मरिनले यही साता शपथ लिने बताइएको छ। उनी फिनल्यान्डको तेस्रो महिला प्रधानमन्त्री पनि बन्ने छिन्।
हाल विश्वका कम उमेरका प्रधानमन्त्रीमध्ये युक्रेनका ३५ वर्षीय ओलेक्सेइ होन्चारुक छन् भने उनीपछि न्युजिल्यान्डकी ३९ वर्षीया जासिन्डा आर्डेन। एजेन्सी

प्रतिक्रिया