ad ad

राजनीति


माओवादीबाट प्रतिनिधिसभा चुनावमा जो बन्न सक्छन् ‘डेब्यु’ उम्मेदवार

माओवादीबाट प्रतिनिधिसभा चुनावमा जो बन्न सक्छन् ‘डेब्यु’ उम्मेदवार

नेपालखबर
साउन २५, २०७९ बुधबार १६:३१, काठमाडौँ

नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा चुनावमा केही युवा नेताहरुलाई पहिलो पटक उम्मेदवार बनाउँदैछ।

आगामी मंसिर ४ गतेको लागि तय भएको चुनावमा तीन आधार बनाएर ‘डेब्यु’ गराउने तयारी गरेको हो।

पहिलो, अहिलेसम्म कुनै पनि चुनावमा नउठेका युवा नेता। दोस्रो, प्रदेश सभामा उठेर जितेका युवा नेता र  तेस्रो, संविधान सभाको २०७० को निर्वाचनमा उठेर पराजित भएका युवा।

यी तीन आधारका युवा समेटेर माओवादी केन्द्रले प्रतिनिधि सभाको उम्मेदवारी दिने तयारी गरेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए।

प्रचण्डनिकट ती नेताका अनुसार उम्मेदवारको चयन विद्यार्थी राजनीति गरेका, वाईसीएल, मजदुर, प्रेस सेन्टर हाँकेका र स्थानीय तहमा बलियो प्रभाव जमाउन सक्ने नेताहरु प्राथमिकतामा पारिनेछन्।

पाँच दलीय गठबन्धनमा रहेकाले माओवादीले कति सिट पाउँछ भन्ने एकीन छैन।

तर, जति पाए पनि त्यसको कम्तीमा २५ प्रतिशत युवालाई अवसर दिने माओवादीको योजना छ।

स्रोतहरूका अनुसार अहिलेसम्म माओवादी केन्द्रले ५५ भन्दा बढी सिट दाबी गर्नेछ।

‘हाम्रो दाबी प्रत्यक्षको ५५ सिटमा हुन्छ,’ प्रचण्ड निकट एक उच्च नेताले नेपालखबरसँग भने, ‘त्यो पनि जित्ने मात्रै हो।’

जित्ने स्थान मात्र लिने भएकोले माओवादी केन्द्रले यसपटक टिकट वितरणमा निकै सजगता अपनाउने र धेरै सोच विचार गरेर मात्र उम्मेदवार तय गर्ने ती नेताले दाबी गरे।

उम्मेदवारीका विषयमा यसपटक माओवादी निकै चुजी हुनेछ, हामीलाई धेरै जित्न सक्दैनौँ भनेर कांग्रेस-एमालेकै साथीहरुले भनिरहेका छन्, खासमा हाम्रो पोजिसन देखाउने बेला यही हो, त्यो देखाउनका पनि हाम्रो उम्मेदवार छनौट टफ हुन्छ,’ ती नेताले थपे।

पाँच दिने जापान भ्रमण सकेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिहीबार (२५ साउन)मा नेपाल फर्केपछि यसबारे व्यापक र विस्तृत छलफल हुने नेताहरु बताउँछन्।

प्रभावशाली नेतानिकट विभिन्न स्रोतहरु अनुसार यसपटक प्रचण्डले विद्यार्थी राजनीति गरेका कम्तीमा तीनदेखि पाँचजनालाई उम्मेदवार बनाउन सक्छन्।

यस्तै वाईसीएलबाट कम्तीमा २, मजदुर, किसानबाट २ र  भूगोलबाट कम्तीमा ६ जना युवालाई समेट्न सक्छन्।

उता मधेश प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशलाई समेत मिलाएर उम्मेदवारी दिनसक्ने नेताहरु बताउँछन्।

स्थानीय तहको चुनावमा  ४० प्रतिशत युवा जितेपछि अध्यक्ष प्रचण्डले युवामा नजर लगाएका छन्।

प्रचण्डले नेताहरुसँग भनेका थिए, 'यसपाली युवाहरुलाई जनताले मन पराएको देखियो है!’ 

उम्मेदवारको चर्चामा लेखनाथ न्यौपाने, युवराज चौलागाईं, रामदीप आचार्य, रमेश मल्ल, झकबहादुर मल्ल, रञ्जित तामाङ, माधव सापकोटा, युवराज दुलाल, विजय गौतम, रामप्रसाद सापकोटा, वीरेन्द्र बस्नेत र बुद्धि जिसीसहित छन्।

यसमा क्लस्टर, भूगोल र प्रदेश मिलाएर थप हुन सक्छ।

२०७४ को चुनावमा माओवादी केन्द्रले ३६ क्षेत्र जितेको थियो।

त्यसो त सिट संख्या निश्चित नभएकोले माओवादीले व्यक्तिसम्म गएर कोही कसैबारे कुरा नगरेको नेताहरु बताउँछन्।

स्थायी समिति सदस्य तथा सिट बाँडफाँटका लागि गठन गरिएको सत्तारुढ कार्यदलका सदस्य देव गुरुङले अहिलेसम्म सिट संख्या टुंगो नलागेको बताए।

‘कसले कति सिट पाउने नै टुंगो लागेको छैन, उम्मेदवारबारे कसरी छलफल हुन्छ र?,’ गुरुङले नेपालखबरसँग भने, ‘गठबन्धनमा संख्या निश्चित भएपछि उम्मेदवारबारे कुरा हुन्छ।’

तर, नेताहरुका अनुसार अध्यक्ष प्रचण्डसहित केही प्रभावशाली नेताहरुबीच उम्मेदवारको मापदण्डबारे एक चरण कुराकानी भइसकेको छ।

प्रचण्डले यसबारे राय पनि मागेका थिए। युवाहरुलाई अवसर दिने कुरामा पार्टीभित्र सहमति छ।

माओवादी केन्द्रले सजिलै चुनाव जित्ने युवालाई पहिलो प्राथमिकतामा राखेको छ।

‘युवा, जुझारु र जनताले चिन्नेलाई उम्मेदवार बनाउनुपर्छ भन्ने छ, हामीलाई यसपटक चुनाव जित्नैपर्ने चुनौती छ,’ अर्का नेताले भने, ‘प्रतिस्पर्धा गर्न सक्षम नेता रोजाइमा पर्छन्।’

प्रचण्डलाई सकस
गठबन्धन भएकोले यसपटकको चुनावमा आकांक्षी धेरै हुन्छन्। प्रचण्डलाई आकांक्षीको माग सम्बोधन गर्न हम्मे पर्ने नेताहरु विश्लेषण गर्छन्।

त्यसबाहेक, महिला, युवा मात्र होइन, समानुपातिक, समावेशी बनाउनुपर्ने अर्को चुनौती उनीसामु छ।

पुराना नेताहरुलाई टिकट दिँदा नयाँले अवसर पाउने सम्भावना कम हुने अर्को खतरा पनि छ।

यता टिकट दिँदा असन्तुष्ट पक्षले चुनावमा असहयोग गर्ने खतराले प्रचण्डले कुन विधि अपनाउँछन्? अहिले नै भन्न सक्ने अवस्था छैन।

तर, कमजोर संगठन, जनताप्रतिको विश्वास भएका नेताको उपस्थिति थोरै हुँदा अध्यक्ष प्रचण्डले टिकट वितरणमा कस्तो विधि अपनाउँछन्? त्यसका लागि कम्तीमा डेढ महिना कुर्नुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .