ad ad

राजनीति


मोरङमा चुनावी दौड : गठबन्धनलाई भाग मिलाउनै सास्ती, स्थानीयको परिणामले एमाले उत्साहित

संघीय सांसदको दौडमा अधिकांश पुरानै प्रतिस्पर्धी
मोरङमा चुनावी दौड : गठबन्धनलाई भाग मिलाउनै सास्ती, स्थानीयको परिणामले एमाले उत्साहित

सुमन पुरी
साउन २५, २०७९ बुधबार १५:४४, विराटनगर

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर गते हुने भएपछि प्रदेश १ को राजधानी मोरङमा दलहरुले आन्तरिक तयारी थालेका छन्। 

निर्वाचन मिति तोकिएसँगै तल्लो तहको कमिटी गठन, पुनर्गठन र विस्तारमा दलहरु जुटेका हुन्। 

जिल्लामा प्रशिक्षण तथा भेलाहरु भइरहेका छन्। स्थानीय तहको निर्वाचन सकिएसँगै सुस्ताएको दलहरूको गतिविधि संघीय र प्रदेशसभाले फेरि बढेको हो। 

प्रमुख प्रतिपक्षी नेकपा एमाले र सत्ता साझेदार नेकपा माओवादी केन्द्रले जनवर्गीय संगठनहरुको भेला र प्रशिक्षण गरिरहेका छन्। 

एमालेले तीन दिनअघि विराटचोकमा प्रशिक्षण सम्पन्न गरेको छ। अघिल्लो बिहीबार २३ वटा जनवर्गीय संगठनका पदाधिकारीको भेला र प्रशिक्षण कार्यक्रम गरेको थियो। 

माओवादीले पालिकास्तरमै प्रशिक्षण थालेको छ। नेपाली कांग्रेसले निर्वाचनलाई ध्यानमा राखेर टोल समिति पुनर्गठन, गठन र विस्तार गरिरहेको मोरङ कांग्रेसले जनाएको छ। 

एमाले एक्लै
स्थानीय तहमा जस्तै पाँच दलीय गठबन्धन एकातिर छ भने  एमाले एक्लै चुनावी मैदानमा होमिने तयारीमा छ। 

मोरङमा ६ वटा संघीय निर्वाचन क्षेत्र र १२ वटा प्रदेश निर्वाचन क्षेत्र रहेका छन्।  

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा एउटा गठबन्धन बनाएर चुनावी मैदानमा छन्। यी दलहरूले मुख्य प्रतिस्पर्धी एमालेलाई बनाएका छन्।

यसअघि २०७४ को निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएर पार्टी एकीकरणसम्मको अवस्थामा जानेगरी चुनावी तालमेल भएको थियो। 

त्यही तालमेलका आधारमा मोरङमा नेकपा एमालेले क्षेत्र नम्बर १, ३ र ६ निर्वाचन क्षेत्र जितको थियो। नेकपा माओवादी केन्द्रले दुई वटा क्षेत्र नम्बर ४ र ५ मा जितेको थियो। 

नेपाली कांग्रेसले क्षेत्र नम्बर २ मा मात्रै जित निकाल्न सकेको थियो।

तर गत वैशाख ३० को स्थानीय तहको निर्वाचनको परिणाम राम्रो आएपछि एमाले उत्साहित छ। स्थानीय तहमा पनि एक्लै गठबन्धनविरुद्ध भिडेको एमाले त्यही परिणाम संसद र प्रदेशमा पनि ल्याउने रणनीतिमा छ।

एमालेले स्थानीय निर्वाचनमा उर्लाबारी, पथरी–शनिश्चरे, सुन्दरहरैँचा, रंगेली, लेटाङ र सुनवर्षी नगरपालिका प्रमुख र उपप्रमुख जितेको थियो।

त्यस्तै बेलबारी नगरपालिका पनि जितेको थियो। एमालेले केराबारी र कानेपोखरी  गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवै पद जितेको थियो।

रतुवामाई नगरपालिका र विराटनगर महानगरपालिका उपप्रमुख तथा  ग्रामथान र कटहरी गाउँपालिका उपाध्यक्ष पनि एमालेले आफ्नो पक्षमा पारेको थियो।

उम्मेदवार
२०७४ को निर्वाचनबाट हार ब्यहोरेकासहित निर्वाचित भएकाहरू मंसिरमा हुने निर्वाचनका लागि उम्मेदवारको आकांक्षीका रूपमा देखिँदैछन्। 

यसअघिको निर्वाचनको प्रतिस्पर्धामा उत्रिएका अनुहार नै यो पटकको निर्वाचनका प्रतिस्पर्धी हुने अनुमान गर्न थालिएको छ।

गठबन्धनलाई साझा उम्मेदवारको पीर 

गठबन्धन दलहरूसँगै एक्लै चुनाव लड्नु पर्दा एमाले जित्ने उम्मेदवार खोजीमा देखिएको छ। यस पटको स्थानीय तहको निर्वाचनमा एमाले मोरङमा बलियो देखिएको छ। 

मतका आधारमा पहिलो पार्टी भएको एमालेलाई हराउन गठबन्धन भित्रबाट साझा उम्मेदवार चयन गर्न कठिन देखिन्छ। 

कसलाई उम्मेदवार बनाउँदा जित्न सकिन्छ भन्ने आन्तरिक गृहकार्यमा दलहरु लागे पनि नेताहरु भने एक्ला एक्लै टिकटको दौडमा लागिसकेका छन् 

एमाले मोरङका अध्यक्ष ऋषि पोखरेलले अहिले उम्मेदवार को को भन्दा पनि चुनाव जित्ने रणनीति निर्माणमा आफूहरु जुटेको बताउँछन्। 

कांग्रेसका जिल्ला सभापति डिगबहादुर लिम्बुले निर्वाचन केन्द्रित भएर पार्टीले गतिविधि थालेको बताए। 

उनले अहिले उम्मेदवारबारे भनि हाल्न हतार हुने बताए। गठबन्धन भएकाले कुन क्षेत्रमा कुन पार्टीले उम्मेदवारी दिनेबारे अहिले नै कुरा भइनसकेको लिम्बूले बताए।  

चर्चामा आएका नाम
२०७४ सालको निर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका घनश्याम खतिवडाले नेपाली कांग्रेसका डिगबहादुर लिम्बूलाई पराजित गरेका थिए। 

आगामी मङ्सिर ४ मा हुने निर्वाचनमा पनि उनीहरूबीच नै प्रतिस्पर्धा हुने आकलन गरिएको छ। क्षेत्र नम्बर १ बाट शिवमाया तुम्बाहम्फे पनि उम्मेदवार हुन सक्ने अनुमान छ। 

त्यस्तै क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका डा. मिनेन्द्र रिजालले नेकपा एमालेका ऋषिकेश पोखरेललाई पराजित गरेका थिए। यस पटक पनि यी दुई नेताबीचमा प्रतिस्पर्धा हुने देखिएको छ। 

क्षेत्र नम्बर ३ मा भानुभक्त ढकालले नेपाली कांग्रेसका सुनिल शर्मालाई पराजित गरेका थिए। 

यो निर्वाचन क्षेत्रमा एमालेले ढकाललाई नै उठाउने तयारी गरेको छ। गठबन्धन भएका यो क्षेत्र नेकपा एकीकृत समाजवादीलाई दिने वा कांग्रेसले नै लिएर शर्मालाई उम्मेदवार बनाउने भन्ने टुङ्गिएको छैन।

क्षेत्र नम्बर ४ मा नेकपा माओवादीबाट अमनलाल मोदीले नेपाली कांग्रेसका महेश आचार्यलाई पराजित गरेका थिए। 

यो क्षेत्रमा नेकपा एमालेले विनोद ढकाललाई उठाउने तयारी गरेको छ। गठबन्धनको तर्फबाट नेपाली कांग्रेस वा नेकपा माओवादी कसले लिने भन्ने टुङ्गो छैन।

माओवादीबाट पराजित महेश आचार्यको भूगोलका रुपमा चिनिएको यो क्षेत्रलाई मेयरको प्रतिस्पर्धामा रहेर टिकट नपाएपछि ब्याक भएका कांग्रेसका भीम पराजुलीले पनि ताकेका छन्। 

क्षेत्र नम्बर ५ मा यसअघि अमृत अर्याललाई हराएर माओवादीबाट निर्वाचित शिवकुमार मण्डल यहीँबाट चुनाव लड्ने तयारीमा रहेको बताइन्छ।

माओवादीले आफूले जितेको क्षेत्र नछाड्ने अडान लिँदा कांग्रेसका शीर्ष नेताहरुलाई व्यवस्थापन गर्न चर्को पर्ने एक नेताले बताए। 

यो निर्वाचन क्षेत्रबाट जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव पनि उम्मेदवार हुने चर्चा छ। 

यो निर्वाचन क्षेत्रमा नेकपा एमालेले योगेन्द्र मण्डल उम्मेदवार हने छन्। जीवन विकास सहकारीमार्फत सामाजिक काममा लागेका मण्डल एक वर्षअघि एमाले प्रवेश गरेका थिए।

 उनी यो क्षेत्रका प्रभावशाली सामाजिक अभियान्ता हुन्। मोरङ क्षेत्र नम्बर ६ बाट कांग्रेस नेता डा. शेखर कोइराला उठ्ने छन्। 

उनीसँग एमालेका लालबाबु पण्डितले प्रतिस्पर्धा गर्ने करिब पक्का जस्तै छ। अघिल्लो निर्वाचनमा कांग्रेसका नेता कोइरालालाई पण्डितले नै हराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .