ad ad

राजनीति


प्रभु साहको प्रशंसा गर्दै माधव नेपालको गृहजिल्लामा ओलीको भ्रमण

प्रभु साहको प्रशंसा गर्दै माधव नेपालको गृहजिल्लामा ओलीको भ्रमण

नेपालखबर
साउन २४, २०७९ मंगलबार ८:५९, काठमाडौँ

रौतहटको गौर नगरपालिकाका पूर्वमेयर अजय कुमार गुप्ता नेकपा एमालेमा प्रवेश गरेका छन्। सोमबार गौरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले गुप्तासहित संविधानसभा सदस्य चन्दन साह, कांग्रेस रौतहट जिल्ला सचिव राजेश चौधरी लगायतलाई स्वागत गरेका हुन्। 

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको गृहनगर समेत रहेको गौर आयोजित पार्टी प्रवेशमा ओली बाराको सिमरा एयरपोर्ट हुँदै सोमबार पुगेका थिए। काठमाडौंबाट हेलिकप्टर चढेर रौतहटतर्फ लागेका ओली खराब मौसमका कारण सिमरा विमानस्थलमा ओलिएर घण्टौं बसेपछि बल्ल गौर पुगेका थिए । 

माधव नेपालले सिन्को नभाँचेको, अरुले २०–२५ वर्षमा गरेको काम आफूले ३ वर्षमै गरेको, रौतहटको विकासका लागि भएका आयोजनाहरु गठबन्धन सरकारले कटौती गरेको लगायत भाषण गरेर ओली साँझ काठमाडौं फर्किए। 

यसैबीच लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव समेत रहेका गुप्तासहित हजारौंलाई पार्टी प्रवेश गराएको एमालेले दाबी गरेको छ। 

नेकपा एमालेको आधिकारिक बेवसाइटमा सोमबार रौतहठमा विभिन्न पार्टीका पाँच हजार ७ सय ४३ नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेको दाबी गरिएको छ।

ओलीले एमालेमा स्वागत गरेका गौरका निवर्तमान मेयर गुप्ता गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि मेयरको प्रतिस्पर्धी थिए। तर उनी एकीकृत समाजवादीका उम्मेदवार शम्भु साहसँग पराजित भएका थिए। 

गौरमा एमालेको कमजोर नतिजा
लोसपाबाट निर्वाचित मेयर पराजित हुँदा गौरमा एमाले निकै कमजोर भएको गत स्थानीय तहको मत परिणामले पनि देखाउँछ। 

यहाँ माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका नेता शम्भु साह निर्वाचित भए। साहले ६ हजार ३ सय ८१ मत ल्याएर विजयी हुँद गुप्ताले ३ हजार ७ सय ४५ मत प्राप्त गरेका थिए। एमाले उम्मेदवार अनिल कुमार मिश्रको भने ८ सय १७ मत मात्र आएको थियो।

गौरको उपप्रमुखमा पनि एकीकृत समाजवादीकी शैल कुमारी साह विजयी भएकी हुन्। उनले ४ हजार ८ सय ९ मत ल्याउँदा एमाले उम्मेदवार अमबेया खातुनले ९ सय ४४ मत ल्याएर पाँचो स्थानमा सीमित भएकी थिइन्।

एमाले प्रवेश गरेका लोसपा नेता गुप्ताले ०७४ तत्कालिन राजपाबाट ५ हजार २ सय २३ मत ल्याएका थिए। त्यतिबेला एमालेबाट गौरमा उम्मेदवार नै खडा गरिएको थिएन्। 

गत स्थानीय निर्वाचनमा गौरका जम्मा ९ वडामध्ये ६ वटा वडामा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका थिए। स्वतन्त्र १, लोसपा १ र कांग्रेसले १ वडा जितेको थियो। एमालेले भने प्रमुख उपप्रमुख सहित ९ वटै वडामा हार ब्यहोरेको थियो।

नेपालको गृहनगरमा ओलीको नजर!
एकीकृत समाजवादीको पकड क्षेत्र मानिएको रौतहट अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला हो भने गौर उनको गृह नगर हो। आगामी निर्वाचनमा रौतहटबाटै उठ्ने सम्भावनाका बीच नेपाल पनि रौतहटमा बाक्लो आवत-जावत गरिरहेका छन्।

रौतहट छाडेर काठमाडौं–२  बाट चुनाव लडेका  एकीकृत समाजवादीका अध्यक्ष नेपाल यो पटक रौतहट बाटै निर्वाचन लड्ने सम्भावना छ। गत १६ साउनमा मात्र नेपालले रौतहटमा ४२ करोडको आयोजना शिलान्यास गरेका थिए।

 ​

यसैबीच ओलीले पनि सोही नगरपालिकामा आफ्ना क्रियाकलाप बढाउन थालेका छन्। माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका नेता प्रभु साहको पनि गृहजिल्ला रौतहट नै हो।

रौतहटबाट निर्वाचनको तयारी गरिरहेका साह टिकट हात पार्नेगरी पार्टी प्रवेशका कामहरु बाक्लो बनाइरहेका छन्। 

साहको क्रियाकलापले मधेशमा जम्न ओलीलाई पनि सघाउ पुगेको छ।

ओलीले सोमबार गौरमा आयोजित कार्यक्रममा बोल्दै साहको प्रंशसा पनि गर्न भ्याए। रौतहटबाटै निर्वाचन जितेर माधव नेपालले केही नगरेको भन्दै प्रभु साह र रघुवीर महासेठले तराई मधेशका क्षेत्रमा धेरै काम गरेको बताए। 

‘रौतहट बाटै चुनाव जितेका र प्रधानमन्त्रीसमेत भएका माधवकुमार नेपालले जिल्लाको विकासका लागि सिन्को पनि भाँचेका छैनन्,’ ओलीले भनेका थिए, ‘तर प्रभु साह र रघुवीर महासेठले रौतहटमा मात्र नभई तराई मधेस क्षेत्रमा धेरै काम गर्नुभएको छ’

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .