ad ad

राजनीति


अखिल क्रान्तिकारी विवाद : हितमानलाई साक्षी राखेर दुवै असन्तुष्ट पक्षसँग प्रचण्डको छलफल

अखिल क्रान्तिकारी विवाद : हितमानलाई साक्षी राखेर दुवै असन्तुष्ट पक्षसँग प्रचण्डको छलफल

नेपालखबर
साउन १८, २०७९ बुधबार ८:५९, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखिल क्रान्तिकारीका दुवै असन्तुष्ट पक्षसँग छलफल गरेका छन्। 

मंगलबार साँझ प्रचण्डको नीजि निवास खुमलटारमा अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह, समानान्तर गतिविधिको नेतृत्व गर्दै आएका पवन कार्कीसँग छलफल गरेका हुन्। छलफलमा फ्याक्सन इन्चार्ज हितमान शाक्य पनि सहभागी थिए। 

अखिल क्रान्तिकारीमा लामो समयदेखि जारी आन्तरिक संघर्ष समाधान गर्ने प्रयासस्वरुप प्रचण्डले मंगलबार साँझ दुवै पक्षसँग छलफल गरेका हुन्। 

सुझाव समितिले पेश गरेको सुझावहरु र अहिलेसम्मको परिस्थितिबारे स्थायी कमिटीमा छलफल गरेर निर्णय लिने प्रचण्डले भेटका क्रममा भनेका थिए। ‘हामीले सुझाव समितिलाई पेश गरेको सुझाव पनि अध्यक्षलाई लिखित रुपमा बुझायौँ’, कार्कीले भने, ‘आयोजक समिति बनाउने, भेला समितिमा जाने, निश्चित उमेर हद कायम गर्ने बाहेकको विकल्पमा जान हुँदैन भनेर हामीले त्यहाँ पनि भनेका छौं’

कमिटी भद्रगोल बनाएको, पार्टीको निर्देशन र निर्णय कार्यान्वयन नगरेको लगायतका बुँदामा प्रचण्डले भेटमा नेताहरुसमक्ष असहमति राखेका थिए।

‘यो विवाद लामो समयसम्म राख्न हुँदैन,’ प्रचण्डले बैठकमा राखेको भनाई उदृत गर्दै कार्कीले नेपालखबरसँग भने, ‘उपयुक्त विधि के हुनसक्छ भन्ने कुरामा दुवै पक्षसँग राय लिन खोज्नुभएको रहेछ, हामीले हाम्रोतर्फबाट कुरा राखेका छौं।’

यो विवादलाई टालटुल गरेर मात्र नहुने भन्दै सम्मेलनमा जानुपर्ने तर्क राखेको कार्कीले बताए। अब बस्ने स्थायी कमिटी बैठकबाट उपयुक्त निर्णय लिने प्रचण्डले बताएको उनले जानकारी दिए। 

कारबाही फिर्ता र समानान्तर कमिटी भङ्ग हुनुपर्ने, सम्मेलनमा जानुपर्ने, कारबाहीलाई सदर गर्ने वा उमेर हदबन्दी समेत लगाएर जाने भन्ने बुँदामा समितिले दिएको सुझाव अनुसार छलफल अघि बढाइएको प्रचण्डले जानकारी गराएका थिए। 

गतको असोज दोस्रो हप्ता राष्ट्रिय सम्मेलन गरेको क्रान्तिकारीले विवादकै कारण त्यसबेला अध्यक्षमा पञ्चा सिंहलाई चयन गरेर सकाएको थियो। ५ वैशाख गते महासचिव सहित पदाधिकारी चयन गरेपछि विवाद थप चुलिएको हो।

असारमा बसेको तेस्रो बैठकमा अध्यक्ष लगायतलाई बर्खास्त गरेर विशेष अधिवेशन बोलाउन माग गरेपछि बैठकले पवन सिंह कार्की लगायतका १० नेतालाई कारवाही गरेको थियो।

सोही कारबाही गरेको समूहले क्रान्तिकारीको समानान्तर समिति बनाएको थियो। पवन कार्की समूहले १८ असारमा १ सय ९७ सदस्यीय समानान्तर कमिटी घोषणा गरेका थिए।

त्यसपछि २३ असारमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा पनि यो विषय उठान भएको थियो। अध्यक्ष प्रचण्डले पूर्व अध्यक्षहरुबाट विवादको विषयमा छानबिन गर्ने, नभए कठोर कदम चालेर भए पनि समाधान गर्ने बैठकमा बताएका थिए। 

सोही अनुसार अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रमेश मल्ल, रत्न ढकाल र नरेन्द्र न्यौपाने सम्मिलित कार्यदलले अध्यक्ष प्रचण्डलाई प्रतिवेदन बुझाएको थियो। प्रतिवेदन अध्ययनपछि प्रचण्डले दुवै पक्षसँग छलफल गरेर स्थायी कमिटीबाट निर्णय लिने बताएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .