ad ad

राजनीति


कांग्रेस प्रवक्ताको टिप्पणी : बालेनलाई हेरेर स्वतन्त्रको लहर चल्नु देशलाई घातक

दलीय व्यवस्थाको विकल्प नभएको तर्क
कांग्रेस प्रवक्ताको टिप्पणी : बालेनलाई हेरेर स्वतन्त्रको लहर चल्नु देशलाई घातक

नेपालखबर
साउन १४, २०७९ शनिबार १७:३९, काठमाडौँ

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपालमा अहिले स्वतन्त्र बन्ने प्रवृत्ति बढ्दै गइरहेको बताएका छन्।

उनले मुलुकको दीर्घकालीन विकासका लागि स्वतन्त्र प्रवृत्ति घातक सावित हुने पनि बताएका छन् 

नेपाल प्रेस युनियन कैलाली शाखाले नवौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई शनिबार बधाई दिन काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रवक्ता महतले यस्तो बताएका हुन्।

उनले काठमाडौंको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहको सफलतापछि देशैभरि स्वतन्त्र बन्ने प्रवृत्ति मौलाएको बताएका हुन्।
 
तर, काठमाडौंकै मेयर बालेन्द्र साहले पनि अहिले काम गर्न नसकेको कुरा जनतासामु प्रमाणित हुन थालिसकेको उनले बताएका छन्।

‘तपाईँहरुले देखिरहनुभएको छ। बोल्न सजिलो हुन्छ, काम गर्न कति गाह्रो हुन्छ। मेरै जिल्लामा अहिले कत्रो समस्या भइरहेको छ', उनले भने, 'यहाँ (काठमाडौं) को मेयरले एक महिनामै फोहोरको समस्या समाधान गरेर दुर्गन्धरहित बनाउने सम्झौता गर्नुभयो। तर अहिले सिसडोलको अवस्था बेहाल छ। त्यहाँ बसिसाध्य नै छैन।’

उनले झूटा प्रचार गरेर स्वतन्त्रहरुले चुनाव जितेको पनि दाबी गरेका छन्।

‘एकछिन प्रचार गरेर, एकछिन विज्ञापन गरेर आउनेहरुबाट समस्याको समाधान निस्किँदैन', उनले भने, ‘बोलेर प्रचार गरेजस्तो काम गर्न सजिलो छैन।’

प्रवक्ता महतले भूपरिवेष्ठित मुलुक नेपालले अन्तराष्ट्रिय सम्बन्धलाई सन्तुलित राख्न पनि दलीय प्रणालीलाई बलियो पार्नुपर्ने बताए।

कांग्रेसकै नेतृत्वमा मात्रै नेपालले छिमेकीसहित सबै मित्रराष्ट्रसँग सन्तुलित सम्बन्ध राख्न सक्ने उनले बताए।

यति हुँदाहुँदै पनि कांग्रेसका केही कमजोरी नै छैनन् भन्न नमिल्ने उनले बताए। कमजोरी सुधारेर अघि बढ्नुपर्ने उनको भनाइ छ।

‘हामीमा केही कमजोरी नै छैनन् भन्ने होइन। तर कमजोरी हुँदाहुँदै पनि देशलाई निकास दिएर विकासको पथमा हिँड्न कांग्रेसको विकल्प छैन।

कांग्रेस अब सुधारिएर अघि बढ्दै जनताको समस्या समाधान गर्न लागिपर्छ’, डा. महतले भने।

उनले राष्ट्रको समृद्धि र स्वतन्त्रतालाई बलियो पार्न नेपाली कांग्रेसको हैसियत बलियो हुनुपर्ने भएकोले आगामी निर्वाचनमा बढी भन्दा बढी स्थानमा जित हासिल गर्ने गरी तयारीमा जुट्न आह्वान पनि गरे। 

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरीले पार्टीका भ्रातृ संगठनहरुलाई चलायमान बनाउनुपर्ने बताए। 

निर्वाचन नजिक आइसकेकाले अब सबै पार्टी पंक्तिले कांग्रेसलाई विजयी बनाउन लाग्नुपर्ने उनले बताए। नवौँ महाधिवेशनबाट निर्वाचित प्रेस युनियनको नयाँ नेतृत्वले देशभर लोकतन्त्रका पक्षमा जागरण ल्याउन भूमिका खेल्नुपर्ने उनले बताए। 

अर्का केन्द्रीय सदस्य नैनसिंह महरले नेपालको विकासका लागि लोकतन्त्रलाई बलियो पार्न आवश्यक रहेको बताउँदै यसका लागि लागि प्रेस युनियनको भूमिका निकै महत्वपूर्ण रहने बताए। 

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य नृपबहादुर वडाले मुलुकका लागि कुनै योगदान नगरेकाहरु अहिले स्वतन्त्रता नामबाट सल्बलाउन थालेकोले उनीहरुलाई निस्तेज पार्न जरुरी रहेको बताए। 

उनले लोकतन्त्रका लागि भएको आन्दोलनमा कुनै भूमिका नभएकाहरु अहिले स्वतन्त्रता नाममा राजनीति गर्न आउन थालेको भन्दै आक्रोश पोखे। 

प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन शाखाका सचिव सीताराम ओझाले गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .