ad ad

राजनीति


नागरिकता विधेयक ल्याएर देशलाई फिजीकरण गर्न खोजियो : ज्ञवाली

नागरिकता विधेयक ल्याएर देशलाई फिजीकरण गर्न खोजियो : ज्ञवाली

गोकुल जोशी
साउन १२, २०७९ बिहिबार १९:५६, कञ्चनपुर

 नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नागरिकता विधेयक ल्याएर सरकारले देशलाई फिजीकरण गर्न खाेजेकाे टिप्पणी गरेका छन्।

बिहिबार प्रेस चौतारी कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले नागरिकता विधेयक ल्याएर देशलाई फिजीकरणतर्फ लैजान खोजिएको बताएका हुन्।

ज्ञवालीले अमेरिकासँग एसपीपी सम्झौता गरेर वर्तमान सरकारले सहयोगको बहानामा देशलाई अमेरिकी बेस क्याम्प बनाउन लागेको आरोप पनि लगाए।

‘क्याबिनेटले एसपीपी नगर्ने निर्णय गरिसकेको छ, अमेरिकालाई अहिलेसम्म पत्र लेखिएको छैन, यसले मौका पर्यो भने सम्झौता गर्ने मनसाय रहेको आशंका छ,’ उनले भने, ‘सहयोगको बहानामा नेपाललाई अमेरिकी बेस क्याम्प बनाउन खोजिँदै छ, यो ऐतिहासिक रुपमा घातक हुने छ।’ 

एमालेका उपाध्यक्ष ज्ञवालीले सरकारले प्रदेश र संघको चुनाव सार्ने षड्यन्त्र गरिरहेको आशंका गरे। चुनावको मिति घोषणा गर्न ढिलाइ गरेर चुनाव पर धकेल्ने षड्यन्त्र भइरहेको टिप्पणी गरेका हुन्।

‘सरकारले चुनावको मिति घोषणा गरेको छैन, संविधानतहः मंसिरमा चुनाव हुनु पर्छ,’ उनले भने, ‘सरकार मिति घोषणा नगरेर के हेरेर बसेको छ?, सरकारभित्रका केही पार्टी चुनाव पछि धकेल्न लागिपरेका छन् भन्ने सुनिएको छ।’

नेकपा एमाले चुनावका लागि तयार रहेकोले मंसिरमा प्रदेश र संघको चुनाव हुनु पर्ने उनको माग छ।

वर्तमान अवस्थामा वामपन्थी शक्तिबीच एकताको आवश्यकता रहेकोमा उपाध्यक्ष ज्ञवालीले जोड दिए। तर, अहिलेकै अवस्थामा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसँग एकता हुन नसक्ने उनले स्पष्ट पारेका छन्।

‘एउटै विचार हुने सँगसँगै हिँड्नु पर्छ, कम्युनिष्ट भनेको छ, कोही कतै कोही छन्, यो जनतालाई मन परेको छैन,’ उनले भने, ‘मिलेर जानुपर्छ भन्ने सबैले चाहेका छन्, तर कांग्रेससँगको गठबन्धन तोडेर नआएसम्म माओवादी र समाजवादीसँग एकता हुन सक्दैन।’

वामपन्थी शक्ति भनेर नेपाली कांग्रेससँग मिलेर एमाले हराउने अभियानमा लाग्ने नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कारण वामपन्थी एकताको सम्भावना तत्काल न्यून रहेको उनको भनाइ छ।

‘वामपन्थी एकता अहिलेको आवश्यकता हो, कम्युनिष्ट हो भन्ने तर कांग्रेसलाई भोट हाल्ने माओवादी र समाजवादीका कारण अहिले सम्भव छैन,’ उनले भने, ‘कांग्रेससँगको गठबन्धन तोडेर आयो भने एकता हुन्छ।’

गठबन्धनमा नेपाली कांग्रेससँग बार्गेनिङका लागि समाजवादी केन्द्र बनाउने कुरा बाहिरिएको उनको टिप्पणी छ। प्रदेश र संघको चुनाव नेकपा एमाले गठबन्धन विरुद्ध एक्लै लड्न तयार रहेको उनले स्पष्ट पारे।

‘कांग्रेस एक्लै चुनाव लड्न नसक्ने अवस्थामा पुगिसक्यो, देशको पहिलो पार्टीले एक्लै चुनाव लड्न नसक्नु लाजको कुरा हो, एमाले एक्लै चुनाव लड्न तयार छ,’ उपाध्यक्ष ज्ञवालीले भने, ‘एमालेसँग एक्लै चुनाव लड्न सकिँदैन भनेर कांग्रेसले बैठकबाट आगामी चुनावमा गठबन्धन गर्ने निर्णय गरेको छ ।’

आफ्नो विचार, एजेण्डा जनतामा लगेर एक्ला एक्लै चुनावमा लड्न नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई उनले आह्वान गरे । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .