नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले (एमाले)को अर्थ तथा योजना आयोग विभाग सदस्य एम अधिकारीलाई खोज्न सरकार र प्रतिपक्षीले चासो नदिएको भन्दै व्यङ्ग्य गरेका छन्।
बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले महत्वपूर्ण सदस्यको नखोजेर एमाले सिसिटिभी खोज्न लागेको टिप्पणी गरे।
‘गाउँघरतिर कुखुराको चल्ला हराएपछि पनि खोजी हुन्छ, तर यहाँ सबैभन्दा ठूलो पार्टीको महत्वपूर्ण विभागको केन्द्रीय सदस्य हराउनुभएको छ,’ महतले भने, ‘उहाँको खोजी न सरकार गर्छ, न प्रतिपक्षी गर्छ मैले अनौठो मानिरहेको छु। सरकार विद्यार्थीको जिम्मा लगाइरहेको छ, प्रतिपक्ष आफ्नो महत्वपूर्ण सदस्य खोज्नुको साटो सीसी क्यामेरा खोज्दै हिँडेको छ।’
एमालेको अर्थ तथा योजना आयोग विभाग सदस्यमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी रहेकाे आराेप छ। तर, उनको नाम एम अधिकारी मात्र राखिएको छ।
महाप्रसाद अधिकारी नै एम अधिकारी नभएको एमालेको स्पष्टोक्ति छ। तर, उनी को हुन् भन्ने एमालेले प्रष्ट बताउन सकेको छैन।
उनै महाप्रसाद अधिकारी नै एम अधिकारी भएको भन्दै उनलाई कारबाही गर्न माग गर्दै सत्तारुढ दलका विद्यार्थी संगठन चरणबद्ध आन्दोलनमा छन्।
१४ जेठमा बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई मन्त्रालय प्रवेश गराएर करका दर हेरफेर गराएको विषयमा अर्थमन्त्री जनार्दन शर्मामाथि संसद्ले छानबिन समिति बनाएको छ।
सांसद महतले एम अधिकारी खोज्न कुनै समिति गठन नगरेकोमा गुनासो गरे।
‘त्यो सीसी क्यामेरा खोज्ने समिति बनिसकेको छ, त्यत्रो महत्वपूर्ण मान्छे हराएको छ, त्यो खोज्ने कुनै समिति बनेको छैन। म कसलाई भनुँ? यो कसले खोजिदिने?,’ सांसद महतले व्यङ्ग्य गरे, ‘हाम्रो गाउँघरतिर कुनै थरको मान्छे, मानौं महत थरको मान्छे हरायो भने महत थरकै मान्छे खोज्छन्, यहाँ एम अधिकारी हराएको हुनाले त्यो थरका मान्छे सरकारले नखोजे पनि प्रतिपक्षले नखोजे पनि अब त्यो थरका मान्छेले एम अधिकारी खोज्नुपर्यो।’
Shares

प्रतिक्रिया