राजनीति


प्रतिनिधि सभाको बैठक : कसले के भने?

प्रतिनिधि सभाको बैठक : कसले के भने?

प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा सहभागी। तस्बिरः प्रदीपराज वन्त/रासस


नेपालखबर
साउन ४, २०७९ बुधबार १२:४२, काठमाडौँ

सांसदहरुले सामान्य नागरिकले सहज रुपमा न्याय पाउन कठिन भएको र न्यायालयमा हुने गरेका भ्रष्टाचारका विषय बाहिरिने गरेकाले न्यायालयको समग्र सुधारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन्।  

प्रतिनिधिसभाको आज बसेको बैठकमा बोल्दै सांसदहरुले न्यायालयको सुधारसँगै वर्षाका कारणले हुने डुबान, सडक दुर्घटना लगायतका विषयमा पनि ध्यान दिनुपर्नेमा जोड दिए। 

सांसद प्रकाश रसाइली स्नेहीले पहुँचयोग्य न्याय नभएको बताए। समग्र न्यायालयको सुधारका लागि उच्चस्तरीय न्याय सुधार र निर्देशन आयोग गठन हुनुपर्नेमा उनको जोड छ। 

सांसद पार्वतीकुमारी विसुङ्खेले अदालतको पुनः संरचना नहुँदा जनताको पहुँच न्यायमा नपुगेको र जनमुखी न्याय नभएको बताए। न्यायमूर्तिलाई महाभियोग लगाउँदैमा न्यायालयमा सुधार नआउने उनको भनाइ छ। 

सांसद डा. डिला सङ्ग्रौला पन्तले वर्षा सुरु भइसकेकाले अहिलेदेखि दसैँ–तिहारमा सडक दुर्घटना बढी हुने हुँदा यसको न्यूनीकरणमा सरकारले ध्यान दिनुपर्ने बताइन्। 

सांसद दिलकुमारीले बर्सेनि सर्पको टोकाइबाट धेरैको मृत्यु हुने भए पनि उपचारका लागि राम्रो व्यवस्था नभएको बताइन्। 

सांसद टेकबहादुर बस्नेतले मदन भण्डारी लोकमार्गका लागि पर्याप्त बजेट विनियोजन हुनुपर्नेमा जोड दिए। सांसद दिव्यमणि राजभण्डारीले महँगी  बढिरहँदा सचेत जनताले खर्च कटौती गर्न सार्वजनिक सवारीसाधन प्रयोग गर्नुपर्नेमा जोड दिए। 

सांसद दीपकप्रकाश भट्टले सुदूरपश्चिमको पहाडी जिल्लाबाट उपचारका लागि नेपालगन्ज जानुपर्ने बाध्यता भएकाले राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठाको आवश्यकता रहेको बताए। सांसद नबिना लामाले गङ्गालाल अस्पताल लगायतका अस्पतालमा अहिले उपकरण अभावले मुटुको शल्यक्रिया नभएकाले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिइन्। 

सांसद देवप्रसाद तिमल्सिनाले तराईमा ४०/४५ डिग्रीको तापक्रम हुँदा दिनभर काम गरेर खानुपर्नेले बाहिर निस्कन नसकेकाले जनतालाई राहतको व्यवस्था गर्नुपर्ने बताए। सांसद नारायणप्रसाद खतिवडाले टोखा–छहरे सुरुङमार्ग बजेटबाट हराएको र धेरै राष्ट्रिय गौरवको आयोजनामा ढिलाइ भइरहेको औँल्याए। 

सांसद पवित्रा निरौला खरेलले दुर्गम क्षेत्रमा स्वास्थ्य संस्थामा सुविधा नहुँदा नागरिक सहरी क्षेत्रमा जानुपर्ने तर सहरी क्षेत्रका अस्पतालमा सरकारीमा पहुँच र निजीमा ठूलो रकम चाहिएको बताए। सांसद पार्वता डिसी चौधरीले दाङमा ३९ मिल उद्योग मिल खोलेका स्थानीयवासीले १९ वर्ष पनि मिल खाली गर्न भनेकाले सो समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद पूर्णकुमारी सुवेदीले वर्षायाम सुरु भए पनि नेपालगन्जमा जलमग्न भइरहेको र विगतमा पनि धेरै धनजनको क्षति भएकाले सरकारको ध्यानाकर्षण गराएका छन्। 
सांसद प्रभु साहले काठमाडौँमा पानी परे पनि तराईमा किसानले खेती गर्न नसकेको बताए। किसान आकासे खेतीमा बाँच्नुपरेको र उनीहरुले सिँचाइ, बीउ, मल नपाएको उनले बताए। 

सांसद डा. विजय सुब्बाले तेह्रथुम र पाँचथर जोड्ने तमोरको पुल विसं २०६९ मा सुरु भएकामा अझै सम्पन्न नभएको र अहिले आएर निर्माण रोकिएको बताए। पुल निर्माण पूरा गर्नुपर्ने र ढिलाइ गरेमा कारबाही हुनुपर्नेमा उनको जोड छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad