अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले डिलिट भएको भनिएको सीसीटीभी फुटेजको ड्राइभ (हार्डडिस्क) हात पारेको छ।
शुक्रबार अर्थमन्त्रालयले छानबिन समितिलाई उक्त हार्डडिक्स उपलब्ध गराएको हो।
तर, समितिले प्राविधिक विषय भएकोले त्यसमा भएका सबै गतिविधि हेरिसकेको छैन।
‘हामीले मागेजति सबै विवरण प्राप्त गरिसकेका छौँ, अब त्यसका प्राविधिक पक्षमा अध्ययन गछौँ,’ ती सदस्यले नेपालखबरसँग भने, ‘विषयबस्तु (कन्टेन्ट) मा भोलि (३२ असार) देखि प्रवेश गछौँ।’
अर्थमन्त्री शर्माले मन्त्रालयमा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा लगेर करको दायरा हेरफेर गरेको समय (जेठ १४ गते राति) को सीसीटीभी फुटेज डिलिट गरेको भन्दै त्यसबारे छानबिन गर्न २२ असारमा प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय विशेष संसदीय समिति गठन गरेका थिए।
अर्थमन्त्रालयले १३ दिनको भन्दा बढी समयसम्मको दृश्य भण्डारण नहुने जानकारी गराएपछि मेटाएको आरोप लागेको थियो।
छानबिन समिति गठन गरेकै दिन अर्थमन्त्री शर्माले संसदमा सम्बोधन गरेर पदबाट राजीनामा दिएका थिए।
समितिले २८ असारदेखि काम छानबिन थालेको थियो।
संसदीय विशेष समितिले अर्थमन्त्रालयका अर्थ सचिव मधु मरासनी, राजस्व सचिव कृष्णहरि पुष्कर, बजेट तथा राजस्व महाशाखाका डीजी, भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशकहरुसँग शनिबार बयान लिने भएको छ।
उनीहरुसँग छुट्टाछुटै बयान लिने समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए।
‘अर्थमन्त्रालयका दुईजना सचिवहरु, डीजी, भन्सार तथा राजस्व र बजेट व्यवस्थापन महाशाखाका प्रमुख–महानिर्देशकसँग शनिबार दिनभर बयान लिन्छौं,’ उनले भने।
संसदीय छानबिन समितिका अर्का एक सदस्यका अनुसार छानबिन समितिलाई दिइएको १० दिनमै प्रतिवेदन बुझाउने तयारी छ।
‘हामीले खोजेका सबै विवरण र सामग्री कलेक्सन गरिसकेका छौँ, अब हामी शनिबार पनि नभनी काम गर्छौं, भोलि नै धेरैसँग बयान लिएर सकाउँछौँ,’ ती सदस्यले भने, १० दिनमै सक्ने लक्ष्यले आज (३१ असार) बेलुका अबेरसम्म बैठक बस्यौँ।’
समितिमा नेकपा एमालेबाट प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, खगराज अधिकारी र बिमला विक, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट लक्ष्मणलाल कर्ण, नेकपा माओवादी केन्द्रबाट शक्ति बस्नेत र देवप्रसाद गुरुङ, नेपाली कांग्रेसबाट पुष्पा भुसाल र सीताराम महतो, नेकपा एकीकृत समाजवादी पार्टीबाट सरला कुमारी यादव र जनता समाजवादी पार्टी (जसपा)बाट सुरेन्द्र प्रसाद यादव छन ।
सभापति चयन भएन
समितिको अहिलेसम्म सभापति चयन हुन सकेको छैन।
सहमति गरेर सभापति चयन गर्ने प्रयत्न गर्दा हुन नसकेको लोसपा सांसद लक्ष्मणलाल कर्णले जानकारी दिए।
‘समितिको अहिलेसम्म सभापति चयन भएको छैन,’ उनले भने, ‘सहमति गर्ने प्रयास भइरहे पनि हुन सकेको छैन।’
जेष्ठ सदस्यका आधारमा कर्णले संयोजन गरिरहेका छन्। सभापतिमा एमालेले दाबी गरेको छ। अन्य दलबाट पनि त्यसको दाबी भएपछि सहमति नभएको हो।
पुष्पा उपसभामुख भएपछि सदस्य हेरफेर
विशेष समितिमा रहेकी कांग्रेसकी सांसद पुष्पा भुसाल उपसभामुख चयन भएपछि उनको ठाउँमा मानबहादुर विक सदस्य बनेका छन्।
‘पुष्पा भुसालजीको हिजै उपसभामुखमा उम्मेदवारी परेपछि हामीले मानबहादुर विकलाई सदस्य बनाइसकेका छौँ, समिति सदस्य देव गुरुङले भने।
स्रोतका अनुसार अर्थका दुईजना सचिव बजेट निर्माणमा प्रत्यक्ष संलग्न भएकाले उनीहरुको बयानपछि धेरै क्लु पत्ता लाग्नेछ।
492
Shares
प्रतिक्रिया