ad ad

कारोबार


२०१०–२०२० : तीन अर्बपतिले शीर्षस्थान ओगटेको दशक

दोब्बरले बढे अर्बपति, ३६ खर्बबाट ८० खर्ब डलर पुग्यो कुल सम्पत्ति
२०१०–२०२० : तीन अर्बपतिले शीर्षस्थान ओगटेको दशक

अर्बपतिहरु बिल, कार्लोस र बेजोस


फोर्ब्स
असार ३२, २०७९ शनिबार १३:९, काठमाडौँ

चर्चित बिजनेस म्यागेजिन फोर्ब्सले बितेको दशकमा अर्बपति र उनीहरुको सम्पत्ति घटबढबारेको विवरण सार्वजनिक गरेको छ। 

फोर्ब्सका अनुसार एक दशकमा अर्बपतिको संख्या विश्वमा दोब्बरले बढेको देखिएको छ। संख्यामात्रै होइन सम्पत्तिमा समेत उल्लेख्य वृद्धि देखिएको छ। 

सन् २०१० मा १ हजार १ जना कुल अर्बपति रहेकामा सन् २०२० मा आइपुग्दा यो संख्या २०९५ पुगेको छ। यो १० वर्षमा तीन जना अर्बपतिको दबदबा देखिएको छ। 

कार्लोस स्लिम हेलु : लगातार ४ वर्ष सर्वधनाढ्य 
सन् २०१०, २०११, २०१२, २०१३ मा सर्वधनाढ्य व्यक्ति कार्लोस स्लिम हेलु बनेका थिए। २०१० मा हेलुको सम्पत्ति साढे ५३ अर्ब अमेरिकी डलर थियो। उक्त वर्ष विश्वमा १००१ अर्बपतिको ३६ खर्ब अमेरिकी डलर सम्पत्ति रहेको थियो। 

त्यसपछिको वर्ष विश्वमा अर्बपतिको संख्या बढेर १ हजार २ सय ९ पुग्यो भने कुल सम्पत्ति पनि ४५ खर्ब डलर पुग्यो। २०११ मा उनको कुल सम्पत्ति ७४ अर्ब अमेरिकी डलर पुगेको थियो। 

सन् २०१२ मा विश्वमा अर्बपतिको संख्या १२ सय २६ पुग्दा कुल सम्पत्ति ४६ खर्ब डलर पुग्यो। हेलुको सम्पत्ति भने केही घटेर ६९ अर्ब डलरमा झरेको थियो। 

त्यसपछि सन् २०१३ मा विश्वमा अर्बपतिको संख्या अझै वृद्धि हुने क्रममा १४ सय २६ पुग्यो। उनीहरुको कुल सम्पत्ति समेत ५४ खर्ब डलर पुग्यो। यो वर्ष सर्वधनाढ्य रहेका हेलुको सम्पत्तिमा सुधार हुँदै फेरि ७३ अर्ब अमेरिकी डलर पुग्यो। 

गेट्सका ४ वर्ष  
त्यसपछि हेलुको ‘कमब्याक’ भएन भने यो ताज बिल गेट्सले कब्जा गरे। फोर्ब्सका अनुसार सन् २०१४, २०१५, २०१६ र २०१७ गेट्सको वर्ष रह्यो। उनी नै सर्वधनाढ्य बने। सन् २०१४ मा विश्वमा १६ सय ४५ जना अर्बपति थिए। उक्त वर्ष कुल सम्पत्ति ६४ खर्ब डलर पुगेको थियो। यो वर्षका सर्वधनाढ्य गेट्सको कुल सम्पत्ति ७६ अर्ब डलर थियो। 

२०१५ मा फेरि कुल अर्बपतिको संख्या १८ सय २६ जना पुग्यो। अर्बपतिसँगै उनीहरुको सम्पत्ति ७१ खर्ब डलर पुगेको थियो। यो वर्ष गेट्सको सम्पत्ति ७९ अर्ब २० करोड डलर थियो। त्यसपछि सन् २०१६ मा अर्बपतिको संख्यामा केही कमी आएर १८ सय १० मा खुम्चियो। यसो हुँदा कुल सम्पत्ति समेत घटेर ६५ खर्ब डलरमा झरेको थियो। यो वर्ष गेट्सको सम्पत्ति ७५ अर्ब डलरमा झरेको थियो। 

गेट्स सन् २०१७ मा पनि संसारकै धनी बनिरहे। उक्त वर्ष गेट्ससँग ८६ अर्ब डलर सम्पत्ति थियो। २०१७ मा विश्वमा पहिलोपटक अर्बपतिको संख्या २ हजार नाघेको थियो। यो वर्ष २ हजार ४३ जना अर्बपति र कुल सम्पत्ति ७७ खर्ब डलर पुगेको थियो।  

३ वर्ष लगातार धनी बने बेजोस 
त्यसपछिका तीन वर्ष भने जेफ बेजोसको पक्षमा रह्यो। उनी २०१८, २०१९ र २०२० मा संसारकै धनी व्यक्ति बने। सन् २०१८ मा अर्बपतिको संख्या वृद्धि रोकिएन। अन्ततः २ हजार २ सय ८ जना अर्बपति पुगे। उनीहरुको कुल सम्पत्ति ९१ खर्ब डलर पुगेको थियो। सर्वधनाढ्य रहेका बेजोस १ खर्ब १२ अर्ब डलरका मालिक बने। 

त्यसपछि सन् २०१९ मा अर्बपतिहरुको संख्यामा केही कमी आयो। विश्व अर्बपतिहरु २ हजार १ सय ५३ मा झरे भने कुल सम्पत्ति पनि ८७ खर्ब डलरमा झरेको थियो। तर बेजोसको सम्पत्ति भने बढेर १ खर्ब ३१ अर्ब डलर पुग्यो। 

सन् २०२० मा विश्वका अर्बपतिको संख्या अझै घट्यो। २ हजार ९५ कुल अर्बपति र उनीहरुको कुल सम्पत्ति ८० खर्ब डलरमा झर्यो। यता बेजोसको सम्पत्ति पनि घटेर १ खर्ब १३ अर्ब डलरमा खुम्चियो। 

कुन वर्ष कुन देशमा कति अर्बपति? 
फोर्ब्सका अनुसार बितेको दशकको पहिलो वर्ष सन् २०१० मा अमेरिकामा धेरै अर्बपति थिए। सो वर्ष धनाढ्यका हिसाबले उच्च ५ देशहरुमध्ये अमेरिकामा ४०४, चीनमा ६४, रुसमा ६१, जर्मनीमा ५२ र भारतमा ४९ अर्बपति रहेका थिए। उनीहरुको सम्पत्ति क्रमशः १४ खर्ब, १ खर्ब ३३ अर्ब, २ खर्ब ६० अर्ब, २ खर्ब १६ अर्ब र २ खर्ब २२ अर्ब डलर रहेको थियो। 

त्यसपछि सन् २०११ मा अमेरिकामा ४१३ जना, चीनमा ११५ जना, रुसमा १०१ जना, भारतमा ५५ जना र जर्मनीमा ५२ जना अर्बपति रहेका थिए। देशअनुसार अर्बपतिहरुको कुल सम्पत्ति क्रमशः १५ खर्ब, २ खर्ब ३० अर्ब, ४ खर्ब ३२ अर्ब, २ खर्ब ४६ अर्ब र २ खर्ब ४६ अर्ब अमेरिकी डलर थियो। 

सन् २०१२ मा अमेरिकी अर्बपतिको संख्या ४२४ पुग्यो भने उनीहरुको कुल सम्पत्ति १६ खर्ब डलर पुग्यो। त्यसपछि रुसमा ९६ अर्बपति र कुल सम्पत्ति ३ खर्ब ७६ अर्ब डलर पुगेको थियो। त्यस्तै चीनमा ९५ अर्बपति र २ खर्ब ४ अर्ब सम्पत्ति पुग्दा जर्मनीमा ५२ अर्बपति र २ खर्ब ५१ अर्ब सम्पत्ति पुग्यो। भारतमा भने ४८ जना अर्बपति र कुल सम्पत्ति १ खर्ब ९४ अर्ब डलर पुगेको थियो। 

सन् २०१३ मा अमेरिकी अर्बपति बढेर ४४४ जना पुगे। उनीहरुको सम्पत्ति पनि १९ खर्ब डलर पुगेको थियो। दोस्रो स्थानमा चीन पुग्दा १ सय २२ अर्बपति र तिनको सम्पत्ति २ खर्ब ६३ अर्ब डलर पुगेको थियो। तेस्रो स्थानमा रहेको रुसमा १ सय ८ अर्बपति र ४ खर्ब २४ अर्ब डलर सम्पत्ति थियो। त्यस्तै जर्मनमा ५७ जनाको २ खर्ब ९४ अर्ब डलर र भारतमा ५६ जनाको १ खर्ब ९४ अर्ब डलर पुगेको थियो। 

सन् २०१४ मा पनि अमेरिकी अर्बपतिको संख्या बढेर ४९२ पुग्दा सम्पत्ति पनि बढेर २३ खर्ब डलर पुग्यो। यता चीनमा १५२ जना, रुसमा १११ जना, जर्मनीमा ८५ र ब्राजिलमा ६५ जना अर्बपति रहेका थिए। यो वर्ष भारत भने टप ५ बाट बाहिरिनुपरेको थियो। 

सन् २०१५ मा अमेरिकी अर्बपति ५३५ र कुल सम्पत्ति २६ खर्ब डलर पुग्यो। उक्त वर्ष चीना २१२, जर्मनीमा १०० जना, भारतमा ९० जना र रुसमा ८७ जना अर्बपति थिए। 

सन् २०१६ मा अमेरिकी अर्बपति बढेर ५४२ जना पुग्दा कुल सम्पत्ति भने घटेर २४ खर्ब डलरमा झरेको थियो। सो वर्ष चीनमा २५०, जर्मनीमा ११७, भारतमा ८३ र रुसमा ७६ जना अर्बपति रहेका थिए। 

सन् २०१७ मा अमेरिकामा ५६६ अर्बपति पुग्दा सम्पत्ति पनि २८ खर्ब डलर पुग्यो। उक्त वर्ष चीनमा अर्बपतिको संख्या ह्वात्तै बढेर ३१९ जना पुग्यो। सो वर्ष जर्मनीमा ११३, भारतमा १०० र रुसमा ९५ जना अर्बपति थिए। 

सन् २०१८ मा अमेरिकी अर्बपति झनै बढे। ५८६ जना अर्बपति पुग्दा सम्पत्ति पनि ३१ खर्ब डलर पुग्यो। चीनमा पनि सो वर्ष अर्बपतिहरु ३७२ जना पुग्दा सम्पत्ति ११ खर्ब डलर पुगेको थियो। त्यस्तै जर्मनमा १२३, भारतमा ११९ र रुसमा १०१ जना अर्बपति रहेका थिए। 

सन् २०१९ मा अमेरिकी अर्बपतिको संख्या ६०७ पुग्यो भने सम्पत्ति ३१ खर्ब डलर नै रह्यो। यता चीनमा अर्बपतिको संख्या घटेर ३२४ मा झरेको थियो। सो वर्ष जर्मनीमा ११४, भारतमा १०६ र रुसमा ९८ जना अर्बपति थिए। 

सन् २०२० मा आइपुग्दा अमेरिकी अर्बपतिको संख्या ६१४ पुग्यो भने उनीहरुको कुल सम्पत्ति केही घटेर २९ खर्ब डलर कायम रह्यो। यता चीनमा भने अर्बपति बढे। उनीहरुको कुल सम्पत्ति १२ खर्ब डलर थियो। जर्मनीमा सो वर्ष १०७, भारतमा १०२ र रुसमा ९९ जना अर्बपति रहेका थिए।   

स्मरणीय के भए? 
सन् २०१० त्यही वर्ष थियो जहिले बिल र मेलिन्डा गेट्स तथा वारेन बफेटले च्यारिटी संस्था गिभिङ प्लिज स्थापना गरे। यो विश्वका धनाढ्यहरुलाई दानमा आफ्नो आधा सम्पत्ति खर्च गर्न प्रेरित गर्न खोलिएको थियो। त्यस्तै सन् २०१० मा ८९ सूचीकृतमध्ये चीनले जर्मनीलाई उछिन्दै दोस्रो धेरै अर्बपति भएको देश बनेको थियो। 

सन् २०११ मा रुसी राजधानी मस्को सबैभन्दा धेरै (७९ जना) अर्बपति बस्ने सहर भएको थियो। यो वर्ष तीन नयाँ अर्बपतिको प्रवेश भएको थियो। यही वर्ष ब्रिक देशहरु ब्राजिल, रुस, भारत र चीनले कुलमध्ये २५ प्रतिशत अर्बपतिको हिस्सा लिएका थिए। 

सन् २०१२ मा इलोन मस्क अर्बपतिको सूचीमा प्रवेश गरेका थिए। सन् २०१२ मा टेस्ला मोटर्सलाई पब्लिक बनाएका उनी कम्पनीको सेयर बढेसँगै यो सूचीमा अटाएका थिए। यो वर्ष ५८ देशका अर्बपति सूचीमा अटाए। तीमध्ये ३ जना मोरक्कोका थिए। यही वर्ष स्पान्क्सकी संस्थापक सारा ब्ल्याकेली नयाँ अर्बपति बनेकी थिइन्। ४१ वर्षीया उनी आफ्नै बलबुतामा अर्बपति बन्ने कान्छी महिला अर्बपति बनेकी थिइन्।

सन् २०१३ मा स्पेनकी फेसन टाइकुन तथा जारा प्यारेन्ट इन्डिटेक्सका मालिक अमानसियो ओर्टेगा विश्वकै तेस्रो धनी अर्बपति (५७ अर्ब डलर) बने। यही वर्ष ब्राजिलका तेल तथा खनिज लगानीकर्ता आइक बाटिस्टाले धेरै सम्पत्ति (१०.६ अर्बदेखि १९.४ अर्ब डलरसम्म) गुमाएका थिए। यही वर्ष इसाबेल डस सान्टोस अफ्रिकाको पहिलो महिला अर्बपति बनिन्। 

सन् २०१४ मा बिल गेट्सले मेक्सिकोका कार्लोस स्लिम हेलुको स्थान खोस्दै सर्वधनाढ्य बने। यही वर्ष ह्वाट्सएपका संस्थापकहरु जान काउम र ब्रायन एक्सनले अर्बपति सूचीमा प्रवेश गरे। फेसबुकले ह्वाट्सएपलाई १९ अर्ब डलरमा किन्ने भएसँगै उनीहरुले यस्तो अवसर पाए। यही वर्ष अल्जेरिया, लिथुवानिया, तान्जानिया र युगान्डाबाट पहिलोपटक फोर्ब्स सूचीमा अर्बपतिको प्रवेश भयो। 

सन् २०१५ मा अमेरिकी व्यावसायिक पूर्वखेलाडी माइकेल जोर्डन अर्बपति बने। २४ वर्षका स्न्यापच्याटका इभान स्पाइजेल डेढ अर्ब डलर सम्पत्तिसहित कान्छा अर्बपति बने। यो वर्ष सबैभन्दा धेरै १९७ जना महिला अर्बपति बने भने तीमध्ये २९ जना आफ्नै बलबुतामा अर्बपति बनेका थिए। 

सन् २०१६ मा नर्वेका नयाँ तथा कान्छा अर्बपतिको रुपमा १९ वर्षे अलेजान्द्रा एन्डर्सनको प्रवेश भयो। उनकी बहिनी काथारिना एन्डर्सन (२०) ले पनि सूचीकृत हुने अवसर पाइन्। यही वर्ष चीनमा ७० जना नयाँ अर्बपति आएका थिए। त्यही वर्ष आईकियाका संस्थापक इंगवर काम्पार्ड भने छोराहरुलाई अंशबण्डा गरेपछि सूचीबाट बाहिरिए। तर उनका तीनै छोरा अर्बपति बने। 

सन् २०१७ मा गुयेन थाई फुंगले भियतजेट एयरलाई पब्लिक बनाउँदै भियतनामको पहिलो आफैँ अर्बपति बन्ने महिला बनिन्। यही वर्ष जेफ बेजोस तेस्रो धेरै धनी व्यक्ति बने। यही वर्ष ३१ वर्षमा सन् २०१६ यता पहिलोपटक २३३ जना अर्बपति बने। 

सन् २०१८ मा जेफ बेजोस विश्वकै धनी बने। यही वर्ष कुलमध्ये ३ अर्बपति राष्ट्रका प्रमुख थिए। तिनमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, चिलीका राष्ट्रपति सेबास्टियन पिनेरा र चेक रिपब्लिकका प्रधानमन्त्री आन्द्रेज बाबिस थिए। यही वर्ष विश्वका अर्बपतिको संख्याले नयाँ कीर्तिमान बनायो। 

सन् २०१९ मा २१ वर्षीया काइली जेनर विश्वकै कान्छी अर्बपति बनिन्। 

सन् २०२० मा भने कोरोना महामारीले अर्बपतिको संख्या २०९५ मा खुम्च्यायो। धेरै अमेरिकी अर्बपतिहरु राष्ट्रपतीय चुनाव लडे। दर्जन बढी अर्बपतिले महामारी नियन्त्रणमा सहयोग गरे। तिनमा बिल गेट्स अगाडि रहे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .