राजनीति


नेपाललाई लिएर फेरि दोहोरी, चीनले खारेज गर्‍यो अमेरिकी आरोप

नेपाललाई लिएर फेरि दोहोरी, चीनले खारेज गर्‍यो अमेरिकी आरोप

फाइल फोटो


नेपालखबर
असार ३१, २०७९ शुक्रबार १७:४, काठमाडौँ

सहायता सम्झौता एमसीसीलाई लिएर नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्पसन चीनलाई जोडेकोमा काठमाडौंस्थित  चिनियाँ दूतावासले आपत्ति जनाएको छ।

थम्पसनले बुधबार अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समितिमा सुनुवाइका क्रममा बोल्दै मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता नेपाली संसदबाट अनुमोदनका क्रममा चीनले भ्रम फैल्याएको आरोप लगाएका थिए।

नेपालस्थित चिनियाँ दूतावासले शुक्रबार एक विज्ञप्ति निकालेर नेपालका लागि प्रस्तावित अमेरिकी प्रस्तावित राजदूतको भनाइप्रति निन्दा गरेको हो।

​अमेरिकी प्रस्तावित राजदूत थम्पसनको भनाइ सम्पूर्ण रुपमा आधारहीन रहेको दूतावासले जनाएको छ।

‘अमेरिकी पक्षको भनाइ चीनमाथिको मिथ्या आरोप मात्रै नभई नेपाल र नेपाली जनताको पनि मानहानी हो। वास्तवमा अमेरिकी पक्षको भनाइ चाहिँ सही अर्थमा भ्रमपूर्ण छ। जुन भनाइको चीन डटेर अस्वीकार गर्दछ’, दूतावासको विज्ञप्तिमा भनिएको छ।

प्रस्तावित अमेरिकी राजदूत थम्पसनको भनाइलाई जानकारीमा लिएको बताउँदै दूतावासले अमेरिकी एमसीसी कम्प्याक्टले नेपालमा चर्को बहस भएको जगजाहेर रहेको उल्लेख गरेको छ।

दूतावासले एमसीसी सम्झौता नेपालको संसदबाट अनुमोदन हुने बेलामा विशेष रूपमा एउटा 'व्याख्यात्मक घोषणा' पारित भएको स्मरण गरेको छ। 

व्याख्यात्मक घोषणाको सन्दर्भ कोट्याउँदै दूतावासले उक्त घोषणाले एमसीसी कम्प्याक्ट र त्यससँग सम्बद्ध सम्झौता भन्दा नेपालको संविधान नै माथि हुने स्पष्ट उल्लेख गरेको जनाएको छ।

त्यसैगरी व्याख्यात्मक घोषणामा उक्त सम्झौताको पक्षराष्ट्र भएपनि नेपालले इन्डो–प्यासिफिक रणनीति लगायत संयुक्त राज्य अमेरिकाको कुनै पनि रणनीति, सैन्य वा सुरक्षा गठबन्धनको अंश नबन्ने उल्लेख गरिएको पनि स्मरण गराएको छ।         

‘यी नेपाली जनताका वैधानिक कार्य हुन्। नेपाल सरकार र जनता आफ्नो सार्वभौमसत्ता र स्वाधीनताको रक्षा गर्न र राष्ट्रिय हितको रक्षा गर्न चाहन्छन्’ दूतावासले भनेको छ।

विज्ञप्तिमा अन्तर्राष्ट्रिय विकास सहयोग लागू हुँदा पारस्परिक सम्मान र समानताको सिद्धान्तलाई कायम हुनुपर्ने तथा सम्बन्धित देशको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान गरिनुपर्ने आफ्नो विश्वास रहेको उल्लेख गरिएको छ। 

‘कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप हुनु हुँदैन भन्ने चीनको दृढ विश्वास छ। कुनै पनि राजनैतिक स्वार्थहरु जोडिएर आउनु हुँदैन र कुनैपनि खालको जबरजस्ती कूटनीति र निहित स्वार्थका लागि अन्य देशको सार्वभौमसत्ता र हितमा आँच पुग्ने काम गरिनुहुँदैन भन्नेमा चीन विश्वास राख्छ’ दूतावासले भनेको छ। 

नेपालको मित्र निकट छिमेकी र विकास साझेदार हुनुका नाताले चीनले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र राष्ट्रिय हितको रक्षा गर्न सहयोग जारी राख्ने दूतावासले बताएको छ। 

‘नेपाली जनतालाई स्वतन्त्रतापूर्वक विकासको मार्ग पहिचान सहयोग गर्दै नेपालको सामाजिक आर्थिक विकासमा आफ्नै क्षमताले सकेसम्म सहयोग र सहायता प्रदान गर्न चीन तयार छ’, विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad