राजनीति


प्रचण्डसँग दुई घण्टा लामो वार्तामा चिनियाँ नेता लिउले भने : नेपालमा हामी पनि हस्तक्षेप गर्दैनौँ, अरुले पनि नगरुन्

प्रचण्डसँग दुई घण्टा लामो वार्तामा चिनियाँ नेता लिउले भने : नेपालमा हामी पनि हस्तक्षेप गर्दैनौँ, अरुले पनि नगरुन्

खुमलटारमा चिनियाँ नेता लिउ र प्रचण्डबीचको वार्ता। तस्बिर : प्रचण्डको सचिवालय


नेपालखबर
असार २७, २०७९ सोमबार १८:५०, काठमाडौँ

चीनले नेपालको आन्तरिक मामिलामा आफू पनि हस्तक्षेप नगर्ने र अरु देशले पनि नगरुन् भन्ने सन्देश दिएको छ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा भेट गर्दै यस्तो सन्देश दिएका हुन्। 

चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन, अरु शक्तिले पनि हस्तक्षेप नगरुन् भन्ने चाहेको कुरा लिउले राखेको भेटमा सहभागी नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनले जानकारी दिए।   

लिउसहितको ७ सदस्यीय प्रतिनिधिमण्डलले प्रचण्डलाई खुमलटार निवासमै पुगेर सोमबार अपरान्ह ४ बजेदेखि ६ बजेसम्म २ घण्टा लामो  भेट गरेको थियो। 

‘चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन,’ लिउले प्रचण्डसँगको भनाइ उद्धृत गर्दै पुनले भने, ‘अरु शक्तिले पनि हस्तक्षेप नगरुन् भन्ने चाहन्छौँ।’ 

जवाफमा प्रचण्डले नेपाल चीनसँग व्यापार घाटामा रहेको बताउँदै त्यसलाई घटाउन र ट्रान्स हिमालय कनेक्टिभिटी नेटवर्क विकास गर्नुपर्नेमा जोड दिएको पुनले बताएका छन्। 

पुनका अनुसार लिउले प्रचण्डसँग मुख्य चार कुरा गरेका छन्। 

पहिलो, छिमेकीलाई प्राथमिकता दिएर पहिलो भ्रमण नेपाल गरेको, 

दोस्रो, माओवादी, एमाले, काँग्रेससँग पार्टी टु पार्टी सम्बन्ध राम्रो बनाउने र दुई देशको सम्बन्ध राम्रो बनाउन यो भ्रमण गरेको 

तेस्रो, नेपालमा लगानी विस्तार गर्न चीन तयार छ। त्यसका लागि बीआरआई अगाडि बढाउन चाहन्छौँ। 

र, चौथो चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन, अरु शक्तिले पनि हस्तक्षेप नगरुन् भन्ने चाहन्छौँ। 

जवाफमा प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीको आगामी महाधिवेशन सफलताको शुभकामना दिएका छन्। 

यस्तै, नेपाल एक चीन नीतिको पक्षमा रहेको, नेपाल र चीनबीच सम्बन्ध थप सुदृढ गर्न चाहेको प्रचण्डले भेटमा बताएका थिए।

चीनले नेपाललाई भूकम्प र कोभिड महामारी नियन्त्रणमा गरेको सहयोगका लागि प्रचण्डले धन्यवाद दिएका थिए।

‘नेपाल चीनसँग व्यापार घाटामा छ, त्यो घटाउनुपर्छ। ट्रान्स हिमालय कनेक्टिभिटी नेटवर्क विकास गर्नुपर्छ,’ लिउसँग प्रचण्डले भने।   

भेटमा अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, देव गुरुङ र पम्फा भुसाल सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .