राजनीति


चीनविरोधी गतिविधि हुन नदिने कांग्रेसकाे प्रतिवद्धता

चीनविरोधी गतिविधि हुन नदिने कांग्रेसकाे प्रतिवद्धता

नेपालखबर
असार २७, २०७९ सोमबार ११:२८, काठमाडौँ

सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले उत्तरी छिमेकी राष्ट्र चीनविरुद्ध नेपाली भूमिलाई कहिल्यै प्रयोग हुन नदिने प्रतिवद्धता दोहोर्‍याएको छ। 

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओसँग कांग्रेसले चीनविरुद्ध नेपाली भूमि कहिल्यै प्रयोग हुन नदिने प्रतिवद्धता दोहोर्‍याएको हो। 

महामन्त्री गगन थापाले गएराति आयोजित रात्रिभोजमा चिनियाँ नेता लिउसँग कांग्रेसले मित्रराष्ट्र चीनविरुद्ध स्वदेशी भूभाग कहिल्यै पनि प्रयोग हुन नदिने कुरा राखेको जानकारी दिए।   

‘कांग्रेस सरकारमा हुँदा एउटा कुरा सडकमा हुँदा एउटा कुरा गर्दैनौँ। हामी सरकारमा हौँ, सडकमा हौँ, प्रतिपक्ष बनौँ, कमजोर बनौँ, बलियो बनौँ तर हाम्रो एउटै आवाज हुन्छ मित्रराष्ट्र चीनका विरुद्धमा हाम्रो भूभाग कहिल्यै पनि प्रयोग हुन दिदैनौँ,’ रात्रिभोजमा कांग्रेस नेताहरुले लिउसँगको कुराकानीमा राखेको कुराबारे जानकारी दिँदै उनले भने, ‘हामी एक चीन नीतिप्रति प्रतिवद्ध छौँ। कसैले बहकाएर नेपाल बहकिन्न। बहकिन दिन्न कांग्रेस।’ 

आफूहरुले चिनियाँ नेता लिउलाई पार्टीको स्थापनाकालदेखि नै चीनका प्रति मान्दै आएको मान्यताबाट आफूहरु एकरत्ति पनि विचलित नहुने कुरा पनि राखिएको जानकारी दिए। 

‘बीपी कोइरालाले नेपाल–चीनको सम्बन्धका सन्दर्भमा जुन ऐतिहासिक योगदान पु¥याएर आउनुभएको छ र नेपालका निम्ति चीनको जुन विशिष्ट सम्बन्ध छ भन्ने कुरालाई हाम्रो पार्टीले स्थापनाकालदेखि मान्दै आएको छ। हामी त्यो मान्यताबाट एकरत्ति पनि विचलित भएका छैनौँ र कहिल्यै हुँदैनौँ,’ थापाले रात्रिभोजमा भएको कुराकानीबारे जानकारी दिँदै भने।  

उनले लिउसँग चीनजस्तै नेपालले भारत, अमेरिकालगायतका मुलुकसँग विकास सहायता लिन चाहेको कुरा पनि राखेको बताए। ‘नेपालमा विकासको ठूलो आवश्यकता छ। हाम्रो स्रोत साधनले मात्र पर्याप्त पुग्दैन,’ ललितपुरमा आयोजित एक कार्यक्रममा थापाले भने, ‘हामीलाई खर्बौं रुपैयाँ परिचालन गर्नुपर्ने छ। त्यसैले हामी चीन जस्तै भारत, अमेरिकासँग अरु देशसँगको सम्बन्धलाई प्रयोग गरेर विकासको सहायता परिचालन गर्न चाहन्छौँ।’

उनले लिउसँग आफूहरुले अमेरिकी सहायता परियोजना एमसीसी र बीआरआई दुबै लिने विषयमा पनि कुराकानी भएको जानकारी दिए। ‘अगाडि राखेर स्पष्टसँग भन्यौँ हामी एमसीसी पनि लिन्छौँ, हामी बीआरआई पनि लिन्छौँ। हामी संयुक्त राज्य अमेरिकासँग पनि सहयोग लिन्छौँ, हामी भारतसँग पनि काम गर्छौँ। हामी चीनसँग पनि काम गर्छौँ। जापानसँग पनि काम गर्छौँ। हामी सबै देशहरुसँग मिलेर काम गर्न चाहन्छौँ,’ उनले भने।  

महामन्त्री थापा अनुसार रात्रिभोजमा कांग्रेस नेताहरुले चिनियाँ नेता लिउसँग नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने पनि प्रष्ट पारेका छन्। ‘हामी कुनै पनि खालको सैन्य गठबन्धनमा नेपाल बस्दैन’, लिउसँग राखिएको कुराकानी स्मरण गर्दै उनले भने, ‘हामी विश्व शान्ति चाहन्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .