वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले गुणात्मक परिवर्तनको जनअपेक्षा पूरा गर्ने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिएका छन्।
मन्त्रालयको दोश्रो चौमासिक समीक्षा बैठकमा बुधबार मन्त्री बस्नेतले परम्परागत तरिकाले काम गर्ने प्रवृत्ति अन्त्य नभएसम्म ‘सुखी नेपाली, समृद्ध नेपाल’ राष्ट्रिय अभिभारा पूरा गर्न असम्भव रहेको बताए।
निरन्तरताको कार्यक्रम र कार्यशैलीले परिणाम पनि निरन्तरतामै आउने भन्दै उनले तीव्रतामा काम गर्न मातहतका सबै निकायलाई निर्देशन दिए। ‘काम गराइको पूरानो शैलीबाट गुणात्मक परिवर्तनको जनअपेक्षा पूरा हुन सक्दैन’, मन्त्री बस्नेतले भने, ‘ निरन्तरताको कार्यक्रम र कार्यशैलीले परिणाम पनि पूरानै आउँछ।’
मन्त्री बस्नेतले मन्त्रालयको वार्षिक पुँजिगत र वित्तीय खर्चको लक्ष्यअनुसार काम गर्न निर्देशन दिँदै काममा अप्ठेरो आइपरे मन्त्रीका हैसियतमा सहजीकरणका लागि तयार रहेको स्पष्ट पारे। वर्तमान सरकारले मुलुक निर्माणका लागि नयाँ पहलकदमी लिएको चर्चा गर्दै उनले त्यस क्रममा नयाँ चुनौती आउनसक्ने बताए।
‘नयाँ पहलकदमी उठाउँदा नयाँ चुनौती आउँछ, त्यसलाई कार्यशैली परिवर्तन गरेर समाधान गर्न सकिन्छ’, उनले भने। मन्त्री बस्नेतले समग्र कर्मचारीतन्त्रबाट अपेक्षित काम हुन नसक्नुमा मानसिकता, विधि प्रक्रिया वा वस्तुगत परिस्थिति र योजनाबीच तालमेल नहुने के हो भन्नेबारे सोच्नेबेला आएको पनि बताए।
यस्तै मन्त्री बस्नेतले बढ्दो वातावरण प्रदूषण रोक्न उद्योग, भौतिक, सहरी विकास र गृह मन्त्रालयका साथै महानगर र नगरपालिकाहरुसँगको समन्वयमा प्रभावकारी कदम चाल्न वातावरण विभागलाई निर्देशन दिए।
‘मन्त्रालयबाट कार्यान्यवन हुनै नसक्ने योजना बनेको रहेछ भने भन्नुस्’, मन्त्री बस्नेतले भने, ‘अन्यथा यसरी हुँदैन, कामको गति बढाउनूस्।’ समीक्षा गोष्ठीमा मन्त्रालयका सचिव, सह–सचिव, विभागीय प्रमुख, प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव र मन्त्रालय मातहतका विभिन्न विभागका महानिर्देशकहरुको सहभागिता थियो।

प्रतिक्रिया