नेपाल सरकारका उप्रप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अब जनताले विकासका लागि केन्द्र सरकारको मुख ताक्ने दिनको अन्त्य भएको बताएका छन्।
इलामको माङ्सेबुङ गाउँपालिकामा रहेको किराँत धार्मिकस्थलमा बुधबारआयोजित आत्मानन्द लिङ्देनको ६६औँ जन्मोत्सवमा उपप्रधानमन्त्री पोखरेलले देश पूर्णरूपमा संघीयतामा आगाडि बढेको बताए।
स्थानीय र केन्द्र सरकारले पनि उत्तिकै काम गर्न सक्ने दावी गर्दै मन्त्री पोखरेलले स्थानीय सरकारले नसके प्रदेश सरकारसमक्ष माग गर्ने र प्रदेशले पनि नसके केन्द्र सरकारसमक्ष विकासका लागि माग गर्नुपर्ने बताए। ‘तर, तीन तहका सरकारका बीचमा तालमेल हुन अत्यावश्यक छ’, उनले भने।
केन्द्र सरकारले मात्र विकास गर्छ भन्ने कुराको अन्त्य हुन जरुरी रहेको उनको धारणा छ। देशमा समृद्ध नेपाल र सुखी नेपाली भन्ने कुरा नारा मात्र नभएर यही सरकारले कार्यान्वयन गरेर देखाउने भन्दै उनले प्रधानमन्त्री आधुनिकीकरण परियोजना, कृषिमा आधुनिकीकरण र व्यावसायीकरणमा समेत सबै सरकारले पहल गर्नुपर्नेमा जोड दिए।
किराँत धर्मवालम्बीका धर्मगुरु फल्गुनन्दका अवतारका रूपमा परिचित आत्मानन्द लिङ्देनको जन्मोत्सवमा शुभकामना व्यक्त गगर्दै उपप्रधानमन्त्री पोखरेलले सरकारले सबै जाति र धर्मलाई समानरूपमा लिने बताए। महागुरु फल्गुनन्दको ज्योति हिजो, आज र भोलि पनि उत्तिकै महत्वपूर्ण रहेको भन्दै निभ्न दिनु नहुने उनको भनाइ थियो। देशमा १२४ जातजाति र १०० बढी भाषाभाषीहरु रहेको बताउँदै उनले कुनै एक भाषा, धर्म र जातजातिको अस्तित्व मात्र बचाउन नलाग्ने जिकिर गरे।
त्यस्तै कार्यक्रममा तत्कालिन संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले पनि महागुरु आत्मानन्द लिङ्देनको जन्मोत्सवमा शुभकामना व्यक्त गरेका थिए। उनले पवित्र स्थान भएर आवतजावत हुने दमक–रवि सडक पनि अबको तीन वर्षभित्रमा कालोपत्र भइसक्ने बताए। यस सडकभित्र पर्ने सबै खोलाहरुमा पक्की पुल पनि आगामी माघ महिनाभित्रमा शिलान्यास भइसक्ने बताउँदै उनले अब यहाँ विकासको सुरु भइसकेको बताए।
जन्मोत्सवको अवसरमा गुरु आत्मानन्द लिङ्देनले प्रवचनसमेत दिएका थियो। सो अवसरमा जिल्ला समन्वय समिति इलामका सभापति गणेश बराल, माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिंगो, प्रमुख जिल्ला अधिकारी सीताराम कार्की, सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रमुखलगायतको उपस्थिति थियो। रासस
Shares

प्रतिक्रिया