ad ad

राजनीति


संसदीय समितिबारे एमालेको शर्त : पहिले अर्थमन्त्रीले राजीनामा गरुन्

संसदीय समितिबारे एमालेको शर्त : पहिले अर्थमन्त्रीले राजीनामा गरुन्

फाइल तस्बिर


नेपालखबर
असार २२, २०७९ बुधबार १४:४५, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेले विवादमा परेका अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि संसदीय समिति बनाउँदा शर्त लागेको छ।

सभामुख अग्नि सापकोटाको आयोजनामा संघीय संसद भवनमा भएको दलका प्रमुख सचेतक र सचेतहरुसँगको बैठकमा एमालेले यस्तो अडान लिएको हो। 

बजेट निर्माणका क्रममा अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिहरु प्रवेश गराएको आरोप झेलिरहेका अर्थमन्त्री शर्मामाथि छानबिनका लागि सत्ता पक्ष संसदीय समिति बनाउन तयार भएकव अवस्थामा एमालेले पहिले उनको राजीनामा आउनुपर्ने अडान लिएको हो। 

'अर्थमन्त्री शर्माले गरेको गम्भीर आर्थिक अपराध क्षम्य हुनै सक्दैन। तर उनी अझैसम्म पनि पदमा छन्', एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने, 'हामीले यो प्रकरणमा संसदीय समिति बन्नुपर्ने माग गरेका छौँ। तर समिति बन्दै गर्दा पहिले शर्माले पद त्यागेर छानबिनलाई सघाउनुपर्छ।'

शर्मामाथि छानबिनका लागि संघीय संसदले संसदीय समिति बनाउन दलहरूसँग छलफल अघि बढाएको छ। 

त्यसका लागि अहिले सभामुख सापकोटाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग छलफल गरेका छन्। 

त्यसैगरि उनले प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल र माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङसँग पनि छलफल गरेका छन्। 

अर्थमन्त्री तीव्र विवादमा परेपछि सभामुख अग्नि सापकोटाले बुधबार ११ बजे बोलाइएको संसद बैठक नै रोकेर दलका सचेतकसँग छलफल गरेका थिए। 

उक्त छलफलमा सभामुख व्यस्त भएपछि बुधबार बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि सरेको थियो। तर २ बजे पनि संसद बैठक बस्न सकेको छैन। 

अर्थमन्त्री जनार्दन शर्माले बुधबारको संसद बैठकमा सम्बोधन गर्ने भएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध गर्ने बताइसकेको छ।

संसद बैठकमा अर्थमन्त्री शर्माले आफूमाथि लागेका आरोपबारे स्पष्टीकरण दिन लागेका थिए।

बजेट निर्माणका क्रममा जेठ १४ गते राति अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति छिराएको भन्दै शर्मा आलोचनाको घेराबन्दीमा परेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .