नेपाल प्रहरीका प्रमुख (आईजीपी)मा धिरजप्रताप सिंहलाई गरेको नियुक्तिविरुद्ध एआईजी विश्व पोखरेलले दायर गरेको रिटमा आइतबार पनि बहस भएको छ।
आईजीपी सिंहको पक्षका वकिलहरुले सर्वोच्च अदालतमा आइतबार बहस गरेका हुन्।
वरिष्ठ अधिवक्ताहरु भीमार्जुन आचार्य, सुशील पन्त, टीकाराम भट्टराईसहित रामनारायण बिँडारी, तुलसी भट्ट, दिपेन्द्र झाले आईजीपी सिंहलाई गरिएको बढुवाको पक्षमा बहस गरेका हुन्। आज बहस गर्ने अन्य अधिवक्तामा केदार प्रसाद दाहाल, बालकृष्ण ढकाल, ओमप्रकाश अर्याल, विपिन सुवेदी, चिरञ्जीवी उपाध्याय, श्यामकृष्ण खरेल, गोपालकृष्ण घिमिरे, असान्तन मल्ल, सुवास आचार्य, बलराम सुवेदी, निश्चल खरेल, मनोहरलाल श्रेष्ठ र गोकुल भण्डारी पनि थिए।
उनीहरुले आईजीपीमा सिंहलाई बढुवा गर्ने निर्णयको बचाउ गर्दै पोखरेल आईजीपी हुनलायक नै नरहेको बताएका थिए।
वरिष्ठ अधिवक्ता पन्त भन्छन्– विश्व पोखरेल व्यक्तिकेन्द्रित छन्, आईजीपी हुनलायक छैनन्
योसँगै आईजीपीका १९ वकिलको बहस सकिएको छ। अब २३ गतेभित्र बहस नोट बुझाउनुपर्ने इजलासले भनेको छ। त्यसपछि २६ गते जवाफी बहस हुनेछ भने त्यही दिन फैसला आउनेछ।
आईजीपीको मुद्दामा वैशाख २२ गते प्रारम्भिक सुनुवाइ भएको थियो। न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले पोखरेलको मागअनुसार अन्तरिम आदेश त दिएन, तर छिटो सुनुवाइ गर्ने आदेश भने जारी गरेको थियो।
पोखरेलले इजलासमा पटक–पटक अवकाश पहिले नै फैसला माग गरेका छन्। सर्वोच्चले पनि छिटो फैसला गर्नुपर्ने आशय आदेशमा दिएको थियो। जेठ १७ गते दोस्रोपटक पेशी तोकिएको थियो। त्यो दिन सुनुवाइ हुन नसकेपछि जेठ ३० गतेलाई अर्को पेशी तोकियो। अहिले भइरहेको यो अन्तिम सुनुवाइ हो।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा बहस भएको हो।
प्रतिक्रिया