सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकमा १० पृष्ठ लामो संक्षिप्त राजनीतिक प्रतिवेदन पेश गरेका छन्।
आइतवार प्रज्ञा भवन कमलादीमा सुरु बैठकमा अध्यक्ष प्रचण्डले तीन कम्युनिष्टहरू नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको मूल्याङ्कन गरेका छन्।
जसमा उनले प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस सहरको तुलनामा गाउँमा कमजोर देखिएको निष्कर्ष निकालेका छन्।
उनले यो स्थानीय तह निर्वाचनमा २०७४ को पहिलो दल नेकपा एमाले नराम्ररी पराजित भएको जिकिर गरेका छन्।
'यस पटकको स्थानीय तहको चुनावमा नेकपा ( एमाले) ले नराम्रोसँग हार बेहोर्नु परेको छ', उनले भनेका छन्, 'पहिलेको तुलनामा उसले ८८ सिट गुमाएको छ।'
प्रचण्डले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले छोटो समयमै उल्लेख्य सफलता हासिल गरेको दाबी प्रतिवेदनमा गरेका छन्।
तर समाजवादीले पाँच दलीय गठबन्धनमा ठूलो भाग खोज्दा धेरै ठाउँमा क्षति व्यहोर्नुपरेको पनि दाहालले उल्लेख गरेका छन्।
'गठबन्धन दल नेकपा एकीकृत समाजवादीले आफ्नो वास्तविक स्थितिभन्दा बढी दाबी गर्दा सिट बाँडफाँटमा ठाउँठाउँमा केही समस्या देखियो', उनले भनेका छन्, 'जसको परिणाम केही स्थानमा गठबन्धन नै पराजित बन्न पुग्यो।'
प्रतिवेदनमा प्रचण्डले यो स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको मत घटे पनि आत्तिइहाल्नुपर्ने अवस्था नरहेको उल्लेख गरेका छन्।
'यो पटक तेस्रो स्थानमा रहेको हाम्रो पार्टीको कूल मतमा कमी आएको देखिन्छ। हाम्रो पार्टीले २०७९ को चुनावमा गठबन्धनको लागि करिब २ सय ८९ तहमा उम्मेदवारी दिएको थिएन', उनले भनेका छन्, 'ती तहहरूको मत शून्य गणना गरिएको छ। जसका कारण प्रत्यक्ष प्रभाव कूल मतमा देखिएको छ।'
दाहालले गठबन्धनका लागि छोडिएका स्थानीय तहहरु २ सय ८९ को औसतमा मत राख्दा पहिलेको भन्दा बढी जनमत हुने उनको तर्क छ।
'त्यसकारण कसैले माओवादीको जनमत घटेको प्रचार गर्दैमा आत्तिनुपर्ने अवस्था छैन', उनले भनेका छन्, 'कूल मतमा पहिलो चुनावको तुलनामा दोस्रो चुनावको तथ्याङ्कमा कमी देखिए पनि पहिलेको भन्दा बढी (२३ स्थानीय तह) मा पार्टीले जितेको छ।'
प्रतिक्रिया