ad ad

राजनीति


उपनिर्वाचनको परिणामलाई हेर्ने विषयमा नेकपामा दुई धार

उपनिर्वाचनको परिणामलाई हेर्ने विषयमा नेकपामा दुई धार

नेपालखबर
मंसिर १८, २०७६ बुधबार ७:२४,

उपनिर्वाचनको परिणामको विश्लेषणमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र दुई धार देखिएको छ।

सरकारमा रहेका नेताहरुले समग्र निर्वाचन परिणाममा नेकपाले प्राप्त गरेको सफलतालाई जोड दिएका छन् भने सत्ताबाहिर रहेकाहरुले लामो समयदेखिको वामपन्थी किल्ला भत्केको भन्दै चिन्ता व्यक्त गरेका छन्।

खासगरी धरान उपमहानगरपालिका र भक्तपुर क्षेत्र १ क मा पार्टी पराजित भएको विषयलाई नेताहरुले उठाएका छन्।

पूर्वप्रधानमन्त्री तथा सचिवालय सदस्य झलनाथ खनालले चुनावी परिणाम राम्रो नभएको भन्दै त्यस विषयमा तुरुन्त समीक्षा हुनुपर्ने बताए। ‘अहिलेको चुनावी परिणामलाई राम्रो मान्न सकिँदैन,’ उनले नेपालखबरसँग भने, ‘यस विषयमा सचिवालयले तुरुन्त समीक्षा गर्नुपर्छ।’

बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको सचिवालयमा उपनिर्वाचनको परिणामबारे सामान्य समीक्षा भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकले निर्वाचन भएका सबै क्षेत्रको समीक्षा केन्द्रमा पठाउने निर्देशन पनि दिएको छ।

तर, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले २०७४ को निर्वाचन र उपनिर्वाचनको परिणाममा खासै भिन्नता नरहेको दाबी गरे।

‘यो निर्वाचनमा नेकपाको पक्षमा जति मत खसेको छ, त्यसले हामी दुई वर्षअघिकै अवस्थामा छौँ भन्ने देखाएको छ,’ रिमालले भने, ‘स्थानीय तहको चुनावमा स्थानीय राजनीतिको प्रभाव हुन्छ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनावले चाहिँ राष्ट्रिय राजनीतिलाई प्रतिबिम्बित गर्छ। केही स्थान नेकपाले कांग्रेसबाट खोसेको छ भने केही स्थान गुमाएको छ।’

विपक्षीहरुले दावी गरेको जस्तो नेकपाको मत नघटेको रिमालको दाबी छ। ‘धरानमा जित्न नसकेको भए विपक्षीको बोली नै बन्द हुने अवस्था थियो,’ उनले भने।

प्रतिनिधिसभा अन्तर्गत कास्की २, प्रदेशसभामा भक्तपुर १ क, बाग्लुङ २ ख र दाङ ३ ख निर्वाचन क्षेत्रमा उपचुनाव भएको थियो। त्यसैगरी धरान उपमहानगरपालिका मेयरसहित चार स्थानीय तहका प्रमुख र एक स्थानीय तहका उप प्रमुख र एक गाउँपालिका उपप्रमुखका लागि चुनाव भएको थियो। बाँकी स्थानमा वडाध्यक्षको निर्वाचन भएको थियो। तीनै तहको ५२ स्थानमध्ये नेकपाले ३१ स्थानमा जित हासिल गरेको थियो।

पाँचथरको फाल्गुनान्द गाउँपालिकाको अध्यक्ष, हुम्लाका खुर्पानाथ गाउँपालिका उपाध्यक्ष पद नेपाली कांग्रेसबाट खोस्न सफल भएको सत्तासीन नेताहरुको तर्क छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्विट गर्दै पहिलो अहिले नेकपाले जितेको ३१ मध्ये २८ स्थान मात्रै यसअघि एमाले र माओवादीले जितेको उदाहरण दिएका छन्।

तर, केन्द्रीय सदस्य विष्णु रिजालले कास्की र दाङमा नेकपामा परेको मत भावनात्मक भएको तर्क गर्दै धरान र भक्तपुरमा भएको पराजयबाट भएको क्षति अन्य स्थानबाट पूर्ति हुन नसक्ने बताए। कास्की २ का सांसद तथा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटना र दाङ ३ ख मा प्रदेशसभा सांसद उत्तरकुमार वलीको सडक दुर्घटनामा निधन भएपछि ती निर्वाचन क्षेत्रमा तिनका पत्नीलाई नेकपाले उम्मेदवार बनाएको थियो। दुवै स्थानमा नेकपाले फराकिलो मतान्तरले चुनाव जितेको छ।

धरानमा पार्टीको आन्तरिक कमजोरी र भक्तपुरमा कमजोर उम्मेदवार चयनका कारण नेकपाले ती स्थानमा निर्वाचन हारेको रिमालको तर्क छ। ‘भक्तपुरमा उम्मेदवार बनिसकेको व्यक्तिलाई पार्टीले परिवर्तन गर्ने अवस्था थिएन, त्यसले गर्दा परिणाम पार्टीको पक्षमा आएन’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .