ad ad

राजनीति


देउवाविरुद्ध खुल्यो शेखरको मोर्चा, कृष्ण सिटौला, प्रकाशमान र विमलेन्द्र के गर्लान्?

देउवाविरुद्ध खुल्यो शेखरको मोर्चा, कृष्ण सिटौला, प्रकाशमान  र  विमलेन्द्र के गर्लान्?

केशव सावद
असार १८, २०७९ शनिबार १२:५२, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको ६ महिना पूरा भइसकेको छ। विधानले निर्धारण गरेको समयावधिभित्रै गठन गर्नुपर्ने पार्टीका आन्तरिक संरचना (विभाग र समिति)हरु गठन हुन सकेनन्।

कांग्रेसको विधानमा पार्टीको सबै तहमा गठन गर्ने भनिएका विभाग तथा समितिहरू महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गरिसक्नु पर्ने व्यवस्था छ।

विधानको धारा ६० मा भनिएको छ, ‘पार्टीको सबै तहमा गठन गर्ने भनिएका विभाग/समिति/विभिन्न निकायहरू महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गरिसक्नु पर्नेछ।’

प्रधानमन्त्री देउवाले केन्द्रीय कार्यसमितिमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुसँगै गत पुस १० गते पार्टी कार्यालय सानेपामा आयोजित समारोहमा केन्द्रीय निर्वाचन समितिबाट विजयी भएको प्रमाणपत्र बुझेका थिए।

देउवाले १३ औँ महाधिवेशनबाट पहिलो पटक सभापतिमा निर्वाचित हुँदा पनि कार्यकाल समाप्त हुँदा विभागहरु गठन गरेका थिए। २०७२ फागुनमा सम्पन्न १३ औँ महाधिवेशनको नियमित चार वर्षीय कार्यकाल सकिनु २ दिनअघि अर्थात २०७६ फागुन १७ गते विभागहरु गठन गर्न सुरु गरेका थिए।

१४ औँ महाधिवेशनमा संशोधन गरिएको विधानअनुसार विभागको संख्या ४३ बाट घटाएर २८ र गठन गर्नुपर्ने समयावधि २ महिनाबाट बढाएर ६ महिना बनाइएको छ। तर, पनि विधानले तोकेको समयावधिभित्र सभापति देउवाले विभाग गठनमा चासो नदेखाएको पाइएको छ।

शेखर कोइरालाको ‘मुभ’
विधानमा तोकिएको समयावधिभित्र विभाग र समितिहरु गठन नभएपछि पार्टीको आन्तरिक जीवनमा प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएका केन्द्रीय सदस्य डा. शेखर कोइराला ‘एक्सन’ मा गएका छन्। उनले सभापति देउवालाई विधिसम्मत् ढंगबाट चल्नुपर्ने दबाव दिन शुक्रबारबाट ‘मुभमेन्ट’ सुरु गरेका छन्।

महाधिवेशनबाट निर्वाचित भएकाहरुले विजयी भएको प्रमाणपत्र बुझेको ६ महिना पुगेको एक साता नबित्दै डा. कोइरालाले देउवामाथि दबाव सिर्जना गर्न आफूनिकट नेताहरुको भेला डाकेका हुन्।

बत्तिसपुतलीको अनुपम फुडल्यान्डमा आयोजित भेलामा संस्थापन इतर समूहबाट केन्द्रीय कार्यसमितिमा निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्य, महाधिवेशनमा प्रतिस्पर्धा गरेका नेताहरु, जिल्ला सभापति, विद्यार्थी नेताहरु सहभागी थिए।

कोइराला पक्ष सभापति देउवा पार्टीको विधानअनुसार अघि नबढे जिल्ला तहदेखि नै दबाव दिने योजनामा छ। बैठकमा सहभागी एक नेताले पार्टी र सरकारका गतिविधिका बारेमा सुसुचित गर्दै कार्यकर्तालाई परिचालन गर्ने विषयमा छलफल भएको बताए।

बिहीबारको भेलापछि नेता डा. चन्द्र भण्डारीले ‘कन्स्ट्रक्टिभ (सिर्जनात्मक) विद्रोह’ को कुरा भएको प्रतिक्रिया दिएका थिए। ‘बिहीबारको निष्कर्षमा कन्स्ट्रक्टिभ विद्रोहको कुरा भएको छ। यति शब्द सम्झनुस्। दोस्रो, पोलिटिकल सोचाइमा पनि परिवर्तन भएको छ,’ उनले भेलाबाट बाहिरिने क्रममा भनेका थिए, ‘त्यसका आधारमा हाम्रो विचारधारालाई कसरी अघि लाने भन्नेबारे सबैभन्दा मुख्य कुरा भएको छ।’

के भन्छन्, देउवालाई सघाउने नेता ?
१४ औँ महाधिवेशना इतर समूहको नेतृत्व गरिरहेका कोइराला प्रधानमन्त्री देउवासँग ८७८ मतअन्तरले पराजित भएका थिए। कूल खसेको ४ हजार ६२३ मतमध्ये देउवाले २ हजार ७३३ मत र कोइरालाले १ हजार ८५५ मत ल्याएका थिए। ३५ मत बदर भएको थियो।

कांग्रेस सभापतिका लागि दोस्रो चरणमा कोइरालासँग प्रतिस्पर्धा हुँदा पहिलो चरणमा सभापतिका लागि प्रतिष्पर्धामा उत्रिएका विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङले प्रधानमन्त्री देउवालाई सघाएका थिए। यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल, निवर्तमान महामन्त्री डा. शशांक कोइरालाले पनि अप्रत्यक्ष रुपमा देउवालाई नै सघाएका थिए।

दोस्रो चरणको मतदानमा पनि प्रतिष्पर्धामा उत्रिएका कोइराला पार्टीलाई विसिम्मत् ढंगबाट अगाडि बढाउनु पर्ने भन्दै देउवामाथि दबाब सिर्जना गरिरहँदा महाधिवेशनमा सघाएका नेताहरु के गर्लान् भन्ने प्रश्न उब्जिएको छ।

१४ औँ महाधिवेशनमा दोस्रो चरणमा समर्थन गरेका नेता सिंह सभापति देउवाको कार्यशैलीबाट सन्तुष्ट छैनन्। सभापति देउवाले पार्टीलाई पुरानै शैलीमा अगाडि बढाएको उनको बुझाइ छ। नेता सिंहले आफू निकटस्थहरुसँग पार्टी विधिअनुसार नचलेको र यो विषयलाई पार्टीको आन्तरिक बैठकमा उठाउने बताउँदै आएका छन्। 

‘पार्टीलाई विधि र प्रक्रियाबाट सञ्चालन गर्छु भनेर सभापतिले भनेकाले  दोस्रो चरणमा उहाँलाई सघाएँ। ६ महिना बितिसक्दा पनि विभाग र भ्रातृ संस्थाहरु बनेका छैनन्,’ सिंहको भनाइ उद्धृत गर्दै निकटस्थ स्रोतले भन्यो, ‘पार्टी विधिअनुसार चलेको छैन। अब म यो विषय केन्द्रीय कार्यसमितिको बैठकमा उठाउँछु।’

कांग्रेसले असार २७ गते दिउँसो १ बजे ललितपुरको सानेपामा केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। स्थानीय तह निर्वाचनको समीक्षा मुख्य एजेन्डा तय भएको बैठकमा नेता सिंहले पार्टीलाई विधि–विधानअनुसार चलाउनुपर्ने विषय उठाउने तयारी गरेको स्रोतको भनाइ छ।

१४ औँ महाधिवेशनमा ‘मौन’ बसेर प्रधानमन्त्रीलाई दोस्रो कार्यकाल सभापतिमा निर्वाचित हुन सघाएका वरिष्ठ नेता पौडेल पनि सन्तुष्ट देखिदैनन्। बिहीबार ६४ औँ संसद् दिवसमा उनले देउवा पार्टीको विधानअनुसार चलेको भन्दै सार्वजनिक रुपमै असन्तुष्टि व्यक्त गरेका थिए।

‘हाम्रो प्रधानमन्त्रीजीलाई समयको निरन्तरता कति छ भन्ने त काम कारबाहीबाट थाहा हुन्छ नि। समय पुगेन भन्ने, फेरि गर्नुपर्ने कामहरु पेन्डिङमा राखिछोड्ने?,’ पौडेलले भने, ‘समय पुगेन भनिराख्या छ, दुगुरी राख्या छ छिटोछिटो। अनि ६ महिनामा गर्नुपर्ने काम जम्मै अलपत्र।’

वरिष्ठ नेता पौडेललेसुनौलो भविष्यका लागि समयवद्ध काम गरौँ’ भन्ने नारा दिएर १४ औँ महाधिवेशनमा सभापतिका लागि तयारीमा लागे पनि आफूलाई पाखा लगाइएको दुःखेसोसमेत पोखे।

‘मैले सुनौलो भविश्यका लागि समयवद्ध काम गरौँ भनेर नारा दिएको, मलाई नै पाखा पारिदिए,’ पौडेलले तत्कालीन इतर समूहले आफूमाथि गरेको व्यवहार स्मरण गर्दै भने।

महाधिवेशनमा सघाएका अर्का नेता विमलेन्द्र निधिले पनि यसबीचमा ३ पटक सभापति देउवासँग भेटघाट गरेका छन्। उनको सचिवालयले निधि र देउवाबीच ३ पटक भेटघाट भएको पुष्टि गरे पनि छलफलका विषयमा भने अनभिज्ञता जनाएको छ।

‘महाधिवेशनपछि उहाँहरुबीच ३ पटक भेटघाट र छलफल भएको छ,’ सचिवालय स्रोतले भने, ‘छलफल बारेमा हामीसँग डिटेलमा शेयर गर्नुभएको छैन।’ यसबारेमा नेता निधिसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन।

निधिका सहयोगीले नेपालखबरसँग भने, ‘धपेडीका कारण अहिले विमलेन्द्र दाइ बिरामी पर्नुभएको छ, अहिले उहाँ आराम गरिरहनुभएको छ ।’

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले १४ औं महाधिवेशनमा शुरुदेखि नै शेरबहादुर देउवालाई साथ दिएका थिए । अहिले पनि देउवालाई नै उनले बलियो साथ दिने सम्भावना छ । तर, विभाग र भातृ संगठनका साथै आगामी चुनावमा टिकट वितरण हुँदा सिटौला समूहले संस्थापन पक्षसँग उपयुक्त ‘भाग’ खोज्ने सम्भावना भने बाँकी नै रहेको नेताहरु बताउँछन् ।

पूर्वमहामन्त्री सिटौला समूहबाट १४ औँ महाधिवेशनमा देउवाको महामन्त्रीमा प्रतिष्पर्धा गरेका युवा नेता प्रदीप पौडेलले स्थानीय तह निर्वाचनमा व्यस्त भएका कारण पार्टीका विभाग र समितिहरु गठनमा ढिलाइ भएको भन्दै संस्थापन पक्षको बचाऊ गरे ।

पौडेलले अब छिट्टै विभाग र समिति गठनको कामले पूर्णता पाउने जिकिर गरे। ‘स्थानीय तह निर्वाचनको तयारीमा जुट्नु परेका कारण समयमै विभागहरु गठनमा ढिलो भयो,’ नेता पौडेलले नेपालखबरसँग भने, ‘अब सबै कामहरु हुन्छन्।’

त्यसैगरी १४ औँ महाधिवेशनमा सभापतिका लागि प्रतिष्पर्धा गरेका युवा नेता कल्याण गुरुङले पनि विभाग, समितिलगायत गठनका लागि छलफल चलिरहेको प्रतिक्रिया दिए। ‘छलफल चलिरहेको छ, २७ गते केन्द्रीय कार्यसमिति बैठक बस्दैछ,’ उनले नेपालखबरसँग भने, ‘अब छिट्टै समितिहरु गठन हुन्छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .