प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तादेखि सत्तासम्मको गोलचक्करबाट समाजवाद निर्माण हुन नसक्ने दाबी गरेका छन्।
नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सोमबार ललितपुरको जावलाखेलमा गरेको ‘नेपालमा समाजवाद चुनौती र सम्भावना’ विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन्।
‘देश बनाउने हो भने समस्याभित्र पस्नुपर्छ। को सत्तामा पुग्ने भन्ने प्रश्नले देश बन्दैन भन्ने बुझ्न जरुरी छ,’ पोखरेलले भने, ‘सत्तादेखि सत्तासम्मको गोलचक्करबाट समाजवादको निर्माण हुन सक्दैन।’
उनले शोधनान्तर स्थिति घाटामा जानुको कारण पनि खोजी गरे।
‘नेकपा एमाले सरकारमा रहँदासम्म शोधनान्तर स्थिति बचतमा थियो। आज शोधनान्तर स्थिति ३ खर्ब घाटामा गएको छ,’ उनले भने, ‘९ महिनाको अवधिमा के भयो, यसको उत्तर तपाईंहरुले खोज्नुपर्छ। एमाले सरकारमा भएका बखत यो मुलुकमा विदेशी मुद्राको सञ्चिति ११ महिनाको वस्तु र सेवा आयात गर्नसक्ने सामर्थ्य थियो।’
९ महिनाको गठबन्धनको सरकार चलाएपछि त्यो सामर्थ्य घटेर ६ महिना वस्तु र सेवा आयात गर्न सक्ने अवस्थामा घटेको भन्दै उनले चिन्ता ब्यक्त गरे।
‘९ महिनाको गठबन्धनको सरकार चलाएपछि त्यो सामर्थ्य घटेर ६ महिना वस्तु र सेवा आयात गर्न सक्ने अवस्थामा घटेको छ। बाटो सही छ कि छैन तपाईंहरु छुट्याउनुहोस्,’ उनले एउटै मञ्चमा रहेका गठबन्धनका दलहरूलाई प्रश्न गर्दै भनेका छन्।
कोरोना महामारीको बेलामा भन्दा अहिले पुँजीगत खर्च कम भएको भन्दै त्यसको कारण खोजी गर्न उनले आग्रह गरे।
‘कोभिड १९ को समयमा भन्दा कम पुँजीगत खर्च भएको छ अहिले। पुँजीगत खर्च नभई देश बन्दैन भन्ने समान्य मार्क्सवादी ज्ञान हामी सबैमा छ। लकडाउनका समयको जति पनि पुँजीको खर्च किन भएन? गठबन्धनका दलले उत्तर दिनुपर्छ,’ उनले भने।
Shares

प्रतिक्रिया