अर्थमन्त्री जनार्दन शर्माले देश र जनताको पक्षमा आगामी आर्थिक वर्षको बजेट ल्याएकै कारण विपक्षलाई अनैतिक लाग्दैमा आफूले राजीनामा नदिने बताएका छन्।
सोमबार राष्ट्रियसभामा विनियोजित बजेटका विकासमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट देश र जनताको पक्षमा ल्याएको कारण विपक्ष दललाई अनैतिक लाग्दैमा आफूले राजीनामा नदिने स्पष्ट पारेका हुन्।
‘यो बजेट देश र जनताको पक्षमा ल्याएको कारणले कसैलाई अनैतिक लागेर राजीनामा दिनुपर्ने माग उठ्दैमा त्यही गर्नुपर्छ भन्ने होइन । यो इतिहासले पुष्टि गर्नेछ’, राष्ट्रिय सभामा उनले भने, ‘त्यसप्रति म जवाफदेही छु । मैले गरेका निर्णयहरुमा पूर्वरुपमा जवाफदेही छु । मैले त्यो जिम्मा लिएको छु। लिन तयार पनि छु । अहिलेको सरकार तयार छ।’
उनले करका दर परिर्वतन भएको विषयमा आफू र सरकार जवाफदेही र जिम्मेवारसमेत रहेको बताए। मन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्रीको व्यक्तिगत नभएर प्रतिष्ठित व्यवसायी, अर्थविद्, नागरिक र सबै सांसदहरु सुझावको आधारमा ल्याएको दाबी गरे।
उनले बजेट कार्यान्वयन गर्दा आयात प्रतिस्थापन, गरिबी हटाउने र मानव विकास सूचाङ्क वृद्धि गर्ने अंक नै बजेटमा समावेश गरिएको बताए। मन्त्री शर्माले बजेट कार्यान्वयन हुँदा औद्योगीकरण, उत्पादन र आयात प्रतिस्थापनमा आउने परिवर्तनले सबै कुरालाई पुष्टि गर्ने दाबी गरे।
Shares

प्रतिक्रिया